केही दिनदेखि नेप्सेमा उच्च उतारचढाव देखिएको छ।
गत भदौ २२ गतेयता नेप्सेका एकाध दिन सामान्य घटबढ हुने र बाँकी दिन कहिले उच्च अंकले बढ्ने त कहिले उच्च अंकले घट्ने भइरहेको छ।
अहिले बजारमा यस्तो प्रवृत्ति किन देखिइरहेको छ भन्नेमा बजार सरोकारवालाहरूको आ-आफ्नो विश्लेषण छ।
अम्बिका प्रसाद पौडेल, सेयर लगानीकर्ता
अहिले धेरै लगानीकर्ता अल्पकालीन कारोबारी (ट्रेडर्स) भएका छन्। लामो अवधिको सोचलेभन्दा अल्पकालीन सोचले कारोबार गरिरहेका छन्। यसले पनि बजारमा छिटो–छिटो परिर्वतन देखिएको छ।
यस्तो अल्पकालीन लगानीकर्ताले प्राविधिक विश्लेषणलाई बढी पछ्याइरहेका हुन्छन्। प्राविधिक विश्लेषकहरूले भनेका कुराहरू नै यस्ता लगानीकर्ताहरूले पछ्याइरहेकाले पनि बजारले त्यही अनुसार प्रवृत्ति बनाइरहेको छ।
तर, म छोटो समयको प्रवृत्तिको आधारमा कारोबार गर्दिन। बजार बढ्ने प्रवृत्तिमै जाने हो। त्यसैले मैले त्यसै अनुसार रणनीति बनाएर बस्ने गरेको छु।
विष्णु प्रसाद बस्याल, प्राविधिक विश्लेषक
बजार बुल हुन्छ (बढ्छ) र बियर हुन्छ (घट्छ) भन्ने बीचको संघर्षले पनि बजारमा उच्च उतारचढाव देखिएको हो।
बजार न्यून हुँदा किनेकाहरूलाई अहिले पनि राम्रै प्रतिफल छ। त्यसैले पनि बजार बढ्दा बिक्री बढिहाल्ने गरेको छ। यसले पनि बजारमा करेक्सन देखिन्छ।
बजारले जहिले पनि नयाँ उचाइ बनाउँदा ठूलो करेक्सन हुने गरेको देखिएको छ। बजार बुलिस प्रवृत्तिमै रहने हो। तर, अहिले बजारमा करेक्सनले निरन्तरता पाएको हो।
अहिले लगानीकर्ताहरूले उधारोमा सेयर किन्न पाइरहेका हुन्छन्। बजार बढ्दा किनबेच चलिरहन्छ र लगानीकर्ताले कारोबारको क्रमिक रूपमा राफसाफ गर्दै लैजान पाउँछन्। बजार घट्न थालेपछि ब्रोकरले सेयर किन्न दिएको लिमिटलाई घटाइदिन्छन्। यसले पनि लगानीकर्ताहरूको क्षमता घट्छ।
प्रियराज रेग्मी, सेयर ब्रोकर
बजार बुलिस प्रवृत्तिमा जानु अघि सेयर किनेकाहरूलाई अहिले पनि उच्च नाफा छ। उनीहरू नाफा सुरक्षित गर्न लागेका छन्। यसले पनि बजार केही बढ्ने बित्तिकै घट्ने गरेको छ।
अहिले धेरै लगानीकर्ता अल्पकालीन कारोबारी भएका छन् र बजारमा प्राविधिक विश्लेषण हाबी भएको छ।
ब्रोकरबाट उधारोमा सेयर किन्ने प्रक्रिया स्वभाविक हो। नियमले नै २० प्रतिशत रकम राखेर लगानीकर्ताले बाँकी रकम बराबरको सेयर उधारोमा किन्न पाउँछ।
बजार बढेर नाफा हुँदै जाँदा लगानीकर्ताले बेच्दै कारोबार मिलाउँदै गएको हुन्छ। बजार घट्दा उसले बेच्न नपाउन सक्छ वा बेच्न नचहान सक्छ। यस्तोमा लिमिट नघटाउँदा लगानीकर्ताले थप सेयर किनिरहनसक्छ र ब्रोकरलाई तिर्नुपर्ने दायित्व बढिरहन सक्छ।
यसले ब्रोकरको समेत जोखिम बढ्ने भएकोले लिमिट घटाइदिने हुन्छ नै। कारोबार राफसाफ भएसँगै लिमिट पनि बढ्दै जान्छ। यो नियमित प्रक्रिया हो।