लगातार घटिरहेको बजार सोमबार एकैदिन एक सय २७ अंकले बढ्यो।
मंगलबार पनि वृद्धिले निरन्तरता त पायो। तर, वृद्धि अंक झिनो देखियो।
मंगलबार नेप्सेको मैनबत्ती चित्र आकृति हेर्दा 'स्पिनिङ टप' आकृति बनेको छ। स्पिनिङ टपको अर्थ लगानीकर्ताहरू अनिर्णीत भए भन्ने हुन्छ।
यो मैनबत्तीको शरीरको आकारको तुलनामा तल्लो र माथिल्लो दुवै धागो लामो हुन्छ। अझ धागो लगभग उस्तै आकारको हुन्छ।
बढ्दो बजारमा यस्तो आकृति देखिँदा बजार घट्न सक्ने संकेत गर्छ। त्यसको विपरीत घट्दो बजारमा यस्तो आकृति देखिए बजार घट्न रोकिने र बढ्न सक्ने संकेत गर्छ। यो बलियो संकेत भने होइन। त्यसैले यही हुन्छ भन्न सकिँदैन।
अझ यो आकृति एक्लैकै आधारमा बजार घट्छ वा बढ्छ भन्न मिल्दैन।
अन्तिम दिन बन्ने यस्तो आकृतिभन्दा अघिका मैनबत्ती चित्रलाई समेत हेरेर यसको विश्लेषण गर्नुपर्ने हुन्छ।
सामान्यतः लगातार बढ्दो बजारमा लगालग अघिल्लो दुई दिन लामा हरियो (सेतो) मैनबत्ती आकृति बढेपछि यस्तो आकृति देखिएमा यो 'डेलिब्रेसन बियरिस' भनेर मानिन्छ।
यसले सम्भवतः बजारले बुलिस शक्ति गुमाउँदै गएको र प्रवृत्ति परिवर्तन हुन लागेको होकि भन्ने संकेत गर्छ। तर, यसको संकेत पनि मध्यम नै हुन्छ।
नेप्सेमा भने मंगलबार स्पिनिङ टप बन्नु अघि उक्त दिन मात्रै बजार बढेर हरियो आकृति बनेको थियो। यहाँ 'डेलिब्रेसन बियरिस' प्रवृत्ति बन्न सकेको देखिदैन। यसले पनि यो बलियो संकेत हुने सम्भावना कम नै छ।
आज यो आकृति बन्नुमा केही कारण छ। बजारमा नेप्सेलाई तत्काल २८६० मा प्रतिरोध भइरहेको विश्लेषण पनि केही विश्लेषकहरूले सार्वजनिक गरिरहेका थिए। अहिले धेरै लगानीकर्ताहरूले यस्तै प्राविधिक विश्लेषकहरूलाई पछ्याइरहेका छन्। मंगलबारको बजार पनि २८६० नजिक पुगेर फर्कियो।
त्यसबाहेक केही दिन उच्च अंकले बजार घट्दा आत्तिएका लगानीकर्तामध्ये केहीले बजार बढ्ने बित्तिकै पहिले भइरहेको नाफा बुक गरिरहेकोले पनि बजारमा दबाब देखिएको हो।
मैनबत्ती चित्र लामो अवधिको नभई छोटो-छोटो अवधिको प्रवृत्ति विश्लेषणको लागि प्रयोग हुन्छ।
कारोबार रकममा भइरहेको वृद्धिले भने बुलिस प्रवृत्तिलाई नै साथ दिएको देखिन्छ।
नेप्सेको रेखा चित्रमा मुभिङ एभरेजबाट हेर्दा बजार बुलिस नै रहेको देखिन्छ। पाँच दिने मुभिङ एभरेज रेखाले २० दिने रेखालाई काटेर माथि लागेमा बजार बुलिस प्रवृत्तिमा जाने वा अहिले सोही प्रवृत्तिमा रहेको मानिन्छ। बियरिस बजारमा यसको ठिक उल्टो हुन्छ।
नेप्सेको रेखा चित्रमा दुई दिन अघि मात्रै पाँच दिने मुभिङ एभरेज रेखा र २० दिने मुभिङ एभरेज रेखा नजिकिएका थिए। तर, अहिले पनि पाँच दिने मुभिङ एभरेज रेखा माथि नै रहेकोले बजार बुलिस प्रवृत्तिमै रहेको मान्न सकिन्छ।
यसको पुष्टिको लागि बुधबार र बिहीबारको कारोबार पनि हेर्नुपर्ने हुन्छ।
बढ्दो बजारमा जोखिम पनि त्यतिकै हुन्छ। नेप्सेको घढबढ मात्र हेरेर नभई लगानीकर्ता आफैँले किनबेच गरिरहेको सेयरको घटबढ, त्यसमा देखिएका प्राविधिक पक्ष र ती कम्पनीहरूको आधारभूत पक्ष समेत विश्लेषण गरेर लगानी रणनीति बनाउनु सही हुन्छ।