बुधबार नेप्से ३.८० अंकले बढेर २७८६.४० विन्दुमा आएर बजार बन्द भयो।
केही अंक बढेको भए पनि यो बजारलाई स्थिर बजार भन्ने गरिन्छ।
सेयर बजार परिसूचक नेप्से अहिले २३ प्रतिशतको रिट्रेसमेन्ट परीक्षणमै देखिएको छ। फिबोनाची रिट्रेसमेन्टले बजार घट्दा कहाँसम्म पुगेर घट्न रोकिन्छ वा बजार बढ्दा कहाँ पुगेर बढ्न रोकिन सक्छ भनेर देखाउँछ।
फिबोनाची रिट्रेसमेन्टको आधारमा २३ प्रतिशतमा हुने विन्दु, ३८ प्रतिशतमा हुने विन्दु, ५० प्रतिशतमा हुने विन्दु र ६१ प्रतिशतमा हुने विन्दुलाई हेरेर बजारले कहाँ-कहाँ टेवा पाएरबाट बढ्न वा प्रतिरोध पाएर घट्न सक्छ भनेर हेरिन्छ।
सेयर बजार लगातार बढ्न थालेको २०३७ विन्दुबाट हो। अन्तिम विन्दुको आधारमा बजार ३००१ को उच्च विन्दुसम्म पुग्यो।
यो क्रममा नेप्सेले ९६४ अंक जोडेको थियो। यो जोडेको अंकमध्ये अहिले नेप्सेले २३ प्रतिशत गुमाएको छ। अर्थात् ९ सय ६४ अंक जोड्दा नेप्सेले दुई सय १४ अंक गुमाएको हो।
बजार ३००१ विन्दुबाट भने हालसम्म ७.१५ प्रतिशतले ओरालो लागेको छ। सामान्यतः बजार नजिकको उच्च विन्दुबाट २० प्रतिशत घटेपछि मात्रै वियरिस प्रवृत्ति सुरू हुन लागेको संकेत गर्छ।
बुधबारको बजारमा केही संकेतहरू भने देखिएका छन्।
नेप्सेमा बनेको मैनबत्ती चित्रले पनि बजार घट्न रोकिन सक्ने संकेत गरेको छ। आजसहित अन्तिम तीन दिनमा दुई दिन लगातार कालो लामो मैनबत्ति आकृति बनेको छ। अन्तिम दिन भने इनभर्टेड ह्यामर डोजी आकृति बनेको छ।
अन्तिम दिन बनेको यो मैनबत्तीको सुरू र अन्तिम मूल्यबीच केही दूरी छ, जसले गर्दा यो मैनबत्तीको शरीरको आकार सानो छ। तल्लो धागो नभए बराबरकै छ। तर, माथिल्लो भागमा लामो धागो देखिएको छ। यसले बजारमा प्रवृत्ति परिर्वतन हुन सक्ने संकेत गर्छ। यस्तो संकेत मध्यम हुन्छ।
कारोबार रकमले साथ छोडेको छ। १८ दिनपछि सेयर बजारमा सबैभन्दा कम रकमको कारोबार भएको छ।
बुधबार बजारमा १३ अर्ब ७२ करोड रूपैयाँको कारोबार भएको छ। १८ दिनयता बजारमा १५ अर्बदेखि २९ अर्ब रूपैयाँसम्मको कारोबार भएको छ।
यसले बजारमा लगानीकर्ताहरू अन्योलमा देखिन थालेको संकेत गरेको छ।
लगानीकर्ताहरू अन्योलमा हुँदा र आत्तिदा बजारमा मूल्य बढ्ने बित्तिकै सेयर बिक्री गर्नेहरू बढ्न थालेको छ। यही कारण बजार केही माथि जाने बित्तिकै घटिरहेको छ।
बजार बढ्न अहिले २८ सयको विन्दुमा पनि दरिलो प्रतिरोध बनेको छ।
केही साताअघि पनि नेप्से परिसूचकले २८ सयको विन्दुमा निकै प्रतिरोध पाएको थियो। यो प्रतिरोध तोडिएपछि मात्रै बजार थप बढ्न सकेको थियो। अब पनि यो विन्दु तोडिएमा बजार थप माथि जाने सम्भावना रहन्छ।
यसदिन ३२६ वटा धितोपत्रको तीन करोड ५० लाख ०७ हजार ३९ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४३ वटाको घटेको छ। यस्तै, चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
लिवर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
यस्तै, कर्णाली डेभलपमेन्टको मूल्य सर्वाधिक ६.८८ प्रतिशतले घटेर प्रति कित्ता ६९० रूपैयाँमा झरेको छ।
स्वरोजगार लघुवित्तको मूल्य ५.१६ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको मूल्य एक हजार ६६ रूपैयाँ कायम भएको छ।
बुधबार चन्द्रागिरी हिल्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २५ रूपैयाँमा ४३ करोड ७ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.४३ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ८२९ रूपैयाँ ९० पैसामा ४१ करोड ५९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी ७ समूहको परिसूचक बढेको छ।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.६९ प्रतिशतले घटेको छ भने लगानी समूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले बढेको छ।