नेप्से परिसूचक दुई दिनमा १९१.८४ अंकले घटेको छ। आइतबार र मंगलबार दुई दिनको कारोबारमा नेप्सेले यो अंक गुमाएको हो।
मंगलबार नेप्से परिसूचक एकैदिन १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा आइपुगेको हो।
अन्तिम विन्दुको आधारमा नेप्सेले उच्च विन्दु ३००१ बाट बुलिस हुँदा जोडेको अंकमा २३ प्रतिशत गुमाएको छ। पछिल्लो अन्तरदिनको उच्च विन्दु भने ३०४८ हो।
फिबोनाची रिट्रेशमेन्टको आधारमा २३ प्रतिशतमा हुने विन्दु, ३८ प्रतिशतमा हुने विन्दु, ५० प्रतिशतमा हुने विन्दु र ६१ प्रतिशतमा हुने विन्दुलाई हेरेर बजारले कहाँ, कहाँ टेवा पाएरबाट बढ्न सक्छ भनेर हेरिन्छ।
नेप्सेले अहिले २३ प्रतिशत रिट्रेस गरेकोले बजार यहाँबाट फर्किन सक्ने सम्भावना समेत छ।
यसअघिका बुलमा समेत बजारले नयाँ उचाइ कायम गर्नुअघि केही ठूला करेक्सन लिएर बढेको पाइन्छ। मंगलबार अन्तरदिनको कारोबारमा समेत नेप्से २७७१.६२ विन्दुबाट बढ्ने प्रयासमा देखिएर बजार बन्द भयो।
यसदिन ३३० वटा धितोपत्रको चार करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर किनबेच भएको हो।
मंगलबार २० कम्पनीको सेयर मूल्य बढेको छ भने २२३ वटाको घटेको छ। यस्तै, एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
तारागाउँ रिजेन्सी, आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
यस्तै, नेपाल फाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता एक हजार ८२७ रूपैयाँमा झरेको छ।
रिडी पावरको मूल्य ८.५८ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको मूल्य २४५ रूपैयाँ कायम भएको छ।
मंगलबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ८८१ रूपैयाँमा ६५ करोड ४२ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.४५ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा अपी पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३४९ रूपैयाँमा ५१ करोड ७५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक ०.४३ प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक ४.९२ प्रतिशतले घटेको छ।