कम्पनीहरूले आफ्नो आम्दानीको एक सय २० प्रतिशतसम्म चालु पुँजी कर्जा लिने गरेको भेटिएको छ।
ऋण लिएका कम्पनीहरूको गत मार्च र अप्रिलमा क्रेडिट रेटिङ कम्पनीहरूले प्रकाशित गरेको विश्लेषणमा यस्तो देखिएको हो।
भरतकुमार श्रेष्ठ सञ्चालक रहेको क्लासिक इण्डष्ट्रिज प्रालिले गत असार अन्त्यसम्ममा सञ्चालन आम्दानीको एक सय २० प्रतिशतसम्म चालु पुँजी कर्जा लिएको छ। ४० करोड यस्तो आम्दानी रहेको कम्पनीले ४८ करोड यस्तो ऋण लिएको हो।
कि कन्सेप्ट प्रालीले पनि गत असार अन्त्यसम्ममा सञ्चालन आम्दानी ४५ करोड ९० लाख रूपैयाँको ७९ प्रतिशतसम्म चालु पुँजी कर्जा लिएको छ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो छ महिना (पुससम्म) मा ११ करोड ९० लाख रूपैयाँ सञ्चालन आम्दानी भएको कम्पनीले एक सय ८९ प्रतिशतसम्म चालु पुँजी कर्जा लिएको छ।
कम्पनीले दीर्घकालिन चालु पुँजी कर्जा समेत गरेर यो दरमा कर्जा लिएको हो। (अन्यको हेरौं तालिका)
राष्ट्र बैंकले पछिल्लो समय चालु पुँजी कर्जाको दुरुपयोग भएको भन्दै कम्पनीहरूले आम्दानीको २५ प्रतिशतसम्म यस्तो कर्जा लिन सक्ने व्यवस्था गरेको छ।
गत कात्तिकमा जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शन अनुसार वार्षिक १० करोडसम्म कारोबार वा बिक्री आम्दानी गर्ने संस्थालाई त्यसको अधिकतम २० प्रतिशतसम्म (२ करोड रूपैयाँसम्म) मात्रै कर्जा गर्न गर्न पाइने व्यवस्था गरिएको छ।
२ करोडभन्दा बढी रकमको अल्पकालिन कर्जा भएमा कारोबार वा बिक्री आम्दानीको २५ प्रतिशतसम्म र दीर्घकालिन कर्जा भएमा त्यस्तो कर्जालाई स्वतः आवधिक कर्जाको रुपमा मानिने व्यवस्था गरेको छ।
त्यस्तै, विशेष प्रकृतिको आवश्यकता देखेमा भने अनुमानित वार्षिक कारोबार र बिक्रीको अधिकतम ४० प्रतिशतसम्म कुल चालु पुँजी कर्जा सीमा निर्धारण गरिएको छ।
कात्तिकपछि जारी हुने नयाँ ऋणमा यो व्यवस्था तत्काल लागु हुने भएपनि सो अघिको ऋणीलाई सीमामा ल्याउन दुई वर्षको समय दिइएको छ।
राष्ट्र बैंकले कोभिडको समयमा व्यवसाय चलायमान बनाउन भन्दै चालु पुँजी कर्जामा थप २० प्रतिशत लगानी गर्न सक्ने गरी बैंकहरूलाई सुविधा दिएको थयो।
यही कारण आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७८/७९ को तीन वर्षको अवधिमै बैंकहरूले जारी गरेको चालु पुँजी कर्जा रकम ६४ प्रतिशतले बढेर १० खर्ब १४ अर्ब रूपैयाँ पुगेको छ।
आर्थिक वर्ष २०७५/७६ मा ६ खर्ब १५ अर्ब रूपैयाँ यस्तो कर्जा लगानी भएको थियो। यो तीन वर्षको अवधिमा वार्षिक औसत १८ प्रतिशतले यस्तो कर्जामा वृद्धि भएको हो।
यस्तो कर्जाको दुरुपयोग बढेको आशंकामा राष्ट्र बैंकले पछिल्लो समय यसमा कडाइ गरेको हो। रेटिङ कम्पनीहरूले यो दुई महिनाको अवधिमा रेटिङ गरेका अधिकांश कम्पनीहरूलाई चालु पुँजीको दबाब रहेको उल्लेख गरेका छन्।
यसरी जारी हुने कर्जाको कम्पनी अनुसार ५० देखि ७० प्रतिशतसम्मको लिमिट प्रयोग भएको समेत उनीहरूले उल्लेख गरेका छन्।
तर, केही रेटिङ कम्पनीले भने कम्पनीहरूको रेटिङको क्रममा यस्तो कर्जाको दबाब रहेको उल्लेख गरेपनि आम्दानीको तुलनामा यस्तो कर्जाको अनुपातलाई भने उल्लेख गरेका छैनन्।
कम्पनी | आम्दानीको तुलनामा चालु पुँजी कर्जा प्रतिशतमा | अवधि |
कालिका कन्सट्रक्सन प्रालि | ४ | असार २०७९ |
यति पोलिकम प्रालि | ३२ | असार २०७९ |
हुलास स्टिल प्रालि | ३३ | असार २०७९ |
क्लासिक इण्डष्ट्रिज प्रालि | १२० | असार २०७९ |
बालकोट विल्डर्स प्रालि | ९ | असार २०७९ |
कि कनसेप्ट प्रालि | ७९ | असार २०७९ |
श्री रघुपति जुटमिल्स प्रालि | ३२ | पुस २०७८ |
अरिहन्त मल्टि क्यापिटल प्रालि | ३१ | असार २०७८ |
महालक्ष्मी मोवाइल्स प्रालि | २५ | असार २०७८ |
महाबिर इन्टरनेशनल सप्लायर्स | २८ | असार २०७८ |
अग्नी इन्कर्पोरेटेड | २४ | असार २०७८ |
विजय डिष्टिलरी प्राली | १९ | असार २०७९ |
लामा कन्स्ट्रक्सन | ३९ | असार २०७९ |
ग्लोबल एग्रो पडक्ट्स प्रालि | २१ | पुस २०७९ |
पायनियर मोटर कर्प | १९ | असार २०७९ |
श्री कृष्ण स्टिल इण्डष्ट्रिज | २०=३७ | असार २०७९ |