मंगलबार नेप्से परिसूचक ३ अंकले घटेर १५३३ अंकमा कायम भएको छ। कारोबार सुरु भएको आधा घण्टा हरियो रहेको नेप्से त्यसपछि घट्दै २ बजे १५२८ अंकसम्म झर्यो।
अन्तिम एक घण्टाको अवधिमा बजारले सुधारको गति लिए पनि अन्ततः अघिल्लो दिनको तुलनामा ३ अंकले घट्न पुग्यो।
यस दिन १६० कम्पनीका सेयर किनबेच हुँदा ४१ करोड ८१ लाख रुपैयाँको कारोबार भयो। बैंकिङ ५, होटल १६, विकास बैंक ७ र जलविद्युत समू ५ अंकले घटे। बिमा ४, उत्पादन ३, अन्य ५ अंकले बढ्दा फाइनान्स समूह १ अंकुमनि हरियो रह्यो।
राष्ट्रिय बिमा कम्पनी संस्थापकतर्फको सबैभन्दा धेरै २ करोड ३४ लाखको कारोबार भयो। सोको मूल्य प्रतिकित्ता १६ हजार पुगेको छ। त्यस्तै नेपाल इन्स्योरेन्सको १ करोड ५९ लाखको कारोबार भयो। कम्पनीको मूल्य प्रतिकित्ता १५१० कायम भएको छ।
आजै २९ प्रतिशत बोनस सेयरको घोषणा गरेको शिखर इन्स्ययोरेन्सको १ करोड ५३ लाखको कारोबार भयो। ज्योति विकास बैंक तथा नेपाल टेलिकम पनि कारोबारका आधारमा अगाडि रहे।
मल्टीपर्पोज फाइनान्सको मूल्य भने यस दिन १० प्रतिशतले बढेको छ। गुराँस फाइनान्सका लगानीकर्ताले ४ प्रतिशत कमाए। किसान माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ५.६ प्रतिशतले घटेको छ।
गुराँस लाइफको बोनस तथा गोर्खा फाइनान्सको हकप्रद सेयर बजारमा सूचीकृत भएको छ। त्यस्तै नेपाल ग्रामीण विकास बैंकको एफपिओ पनि सूचीकृत भएको छ।