केही वर्षअघि मात्रै नेपालमा सय वटा गाडी आयात हुँदा भारतीय बजारबाट ९० वटा गाडी आउँथे। अनि चीनबाट दुइटा र अरू देशबाट आठ वटा।
अहिले यो परिदृश्य निकै बदलिएको छ। नेपालको बजारमा केही वर्ष अघिसम्म नगन्य आयात हुने चिनियाँ कम्पनीका गाडीले अहिले वर्चस्व जमाउन थालेका छन्। योसँगै भारतीय गाडीको उपस्थिति द्रुत रूपमा घट्न थालेको छ।
गत वर्ष चीनबाट कुल तीन खर्ब रूपैयाँ बराबरको सामान आयात भएको थियो। त्यसमध्ये ३२ अर्ब ४६ करोड रूपैयाँ बराबरको सवारी साधन र यसका पाटपुर्जा थिए। अहिले चीनबाट नेपालमा आयात भइरहेको सबभन्दा ठूलो मूल्यको सामान सवारी साधन नै हो।
भारत र चीनबाट आयात हुने सवारी साधनको तुलना गर्न हामीले निजी सवारी साधन (चारपांग्रे जिप, कार र भ्यान) को आयात संख्या केलाएका छौं। नेपालको समग्र सवारी र यसका पाटपुर्जाको आयातमा यस्ता गाडीले ३० प्रतिशतभन्दा धेरै हिस्सा ओगटेका छन्।
गएको आर्थिक वर्षमा कुल ३४ अर्ब ९१ करोड रूपैयाँका जिप, कार, भ्यान आयात भएका थिए। त्यसमध्ये चीनबाट मात्रै २२ अर्ब ५५ करोड रूपैयाँको आयात भएको छ। भारतबाट भने १० अर्ब ९७ करोड रूपैयाँको आएको छ। बाँकी तेस्रो मुलुकबाट आयात भएको थियो।
चार वर्षअघिको तथ्यांक हेर्ने हो भने यस्ता गाडीको आयातमा चीनको हिस्सा दुई प्रतिशत मात्रै देखिन्छ। तर पछिल्ला वर्षमा, आयात-मूल्यका आधारमा चीनको हिस्सा अत्यधिक बढ्दै गएको देखिन्छ। भारतबाट भने घट्दैछ।
यो आर्थिक वर्षको पहिलो चार महिनामा पनि दस अर्ब ९८ करोड रूपैयाँ बराबरका कार, जिप, भ्यान आयात भएको छ। यसमध्ये ६ अर्ब ५४ करोड रूपैयाँको चीनबाट आयात भएको छ। ३ अर्ब ८८ करोड रूपैयाँको भारतबाट र बाँकी तेस्रो मुलुकबाट आयात भएको छ।
संख्याको आधारमा पनि चीनबाट आयात हुने यस्ता सवारी साधनको संख्यामा उल्लेख रूपमा वृद्धि भएको देखिन्छ। (हेर्नुहोस् ग्राफ)
यसरी साना सवारी साधनको आयातमा चीनको दबदबा पछिल्ला पाँच वर्षमा बढिरहेको छ।
पाँच वर्षअघि, वर्ष २०७६/७७ सम्म यस्ता सवारी साधनको आयातमा चीनको हिस्सा जम्मा १ प्रतिशत थियो। गत वर्ष भने ५१ प्रतिशत पुग्यो।
२०७६/७७ मा यस्ता सवारी साधनको आयातमा भारतको हिस्सा ९१ प्रतिशत रहेकामा गत वर्ष ४५ प्रतिशतमा झरेको छ।
किन यसरी बढ्दो छ साना सवारी साधनको आयातमा चीनको हिस्सा?
गाडीमा चीनको वर्चस्व बढ्नुका पछाडि नेपाली बजारमा विद्युतीय गाडीको माग र आयातमा वृद्धि हुनु हो। संसारभरि विद्युतीय गाडीको प्रयोग बढेसँगै चीनले नेपालमा मात्रै होइन, अन्य थुप्रै देशमा यसरी नै गाडीको व्यापार बढाउँदै गएको छ।
नेपालमा बिजुली गाडीको आयात बढ्नुका पछाडि सरकारले यस्ता गाडीमा लगाउने कम भन्सार महसुलको पनि ठूलो भूमिका छ।
यसबाहेक बिजुलीका सवारी साधनमा दैनिक सञ्चालन खर्च कम लाग्ने भएकाले पनि मानिसहरू डिजेल र पेट्रोलका गाडी छाडेर विद्युतीयतर्फ आकर्षित भएका छन्।
उदाहरणका लागि, सबभन्दा तल्लो क्षमता, ५० किलोवाट भन्दा कमको विद्युतीय गाडीमा जम्मा ४३ प्रतिशत कर लाग्छ। त्यसै गरी सबभन्दा तल्लो क्षमता, १५ सय सिसीभन्दा कमको पेट्रोलियम गाडीमा २५७ प्रतिशत (भन्सार महसुल, अन्तशुल्क, सडक निर्माण दस्तुर र मूल्य अभिवृद्धि कर) कर लाग्छ।
सबभन्दा माथिल्लो क्षमता (निर्धारण गरिएको), ३०० किलोवाट भन्दा माथिको विद्युतीय गाडीमा २०० प्रतिशत कर लाग्छ। सबभन्दा माथिल्लो क्षमताको पेट्रोलियम गाडी, २५ सय सिसीभन्दा माथिका गाडीमा ३५८ प्रतिशत कर लाग्छ।
नेपालमा उपलब्ध लोकप्रिय चिनियाँ ब्रान्डहरू जस्तै बिवाइडी, ग्रेट वाल मोटर्स (जिडब्लुएम) र एमजीले सस्तो मूल्य र नवीन प्रविधिका कारण उपभोक्ताको आकर्षण बढाइरहेका छन्। उदाहरणका लागि बिवाइडी अटो थ्री जस्ता मोडलहरूले कम मूल्यमा राम्रा सेवासुविधा र विशेषता उपलब्ध गराएपछि यसको माग उल्लेखनीय रूपमा बढेको छ।
सरकारको पनि दीर्घकालीन लक्ष्य विद्युतीय गाडीलाई प्रोत्साहन दिने भन्ने छ। सन् २०२५ सम्म बाटोमा गुड्ने गाडीमध्ये २५ प्रतिशत विद्युतबाट चल्नेको हिस्सा पुर्याउने र त्यसपछि क्रमशः बढाउने लक्ष्य सरकारको हो।
समग्र अन्तर्राष्ट्रिय व्यापारमा कस्तो प्रभाव देखिएला?
विद्युतीय गाडी आयातले भविष्यमा नेपालको अन्तर्राष्ट्रिय व्यापारको परिदृश्यमा नै फेरवदल आउने तर्क व्यापार विज्ञ पुरूषोत्तम ओझा गर्छन्।
'अहिले चीनबाट गाडी आयात बढेको देखिन्छ। तुलनात्मक रूपमा अन्य वस्तुको आयात निकै कम छ। तर भविष्यमा गाडीसँग सम्बन्धित अन्य सामग्री र पाटपुर्जाको आयात बढ्छ। हरित प्रविधिका सामानको आयात उच्च रूपमा बढ्ने सम्भावना छ। पछिल्लो समय कृषि उपज आयातमा पनि चीनको हिस्सा बढ्न थालेको छ,' ओझाले भने।
यसले तुलनात्मक रूपमा भारतको हिस्सा घट्ने र चीनको आयात बढ्ने उनले बताए।
'विद्युतीय गाडी र हरित प्रविधिसँग सम्बन्धित मेसिनरी सामग्री बढी हुन थालेपछि पेट्रोलको खपत निकै कम हुनेछ। यसले गर्दा भारतसँग सबभन्दा बढी व्यापार हुने पेट्रोलियम पदार्थको हिस्सा पनि घट्छ। चीनले नेपालमा लगातार आफ्नो व्यापार हिस्सा बढाउन सक्ने देखिन्छ,' ओझाले भने।