नेपालको लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले कोशी प्रदेशस्थित इटहरीमा विशेष औपचारिक कार्यक्रमकाबीच टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरू सार्वजनिक गरेको छ।
दसैं–तिहार विशेष छुट अफरसहित सुलभ मूल्यमा ग्राहकहरूको खुसियालीको सारथीको रूपमा नयाँ मोडेल ल्याइएको जनाइएको छ।
टाटाद्वारा सार्वजनिक नयाँ मोडेलका उक्त गाडीहरूको मूल्य फरक–फरक रहेको छ।
ग्राहकहरूले एस इभी फ्ल्याटबेड २१ लाख ९९ हजार रूपैयाँमा पाउन सक्नेछन् भने टाटाकै सिएलभी विद्युतीय गाडीका लागि २२ लाख ७९ हजार रूपैयाँमा उपलब्ध गराउन सकिने टाटाको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले जनाएको छ।
कम्पनीले पहिलो एक हप्ताभित्र बुकिङ गर्ने ग्राहकलाई यस योजना अन्तर्गत टाटाका माथि उल्लेखित गाडीहरूमा ५० हजार रूपैयाँसम्मको विशेष नगद छुटको व्यवस्था समेत गरेको छ।
यसका अतिरिक्त ग्राहकहरूले उक्त गाडीहरूको खरिदमा एक वर्षका लागि निःशुल्क बीमाको सुविधा, तीन पटकसम्म गाडी निःशुल्क सर्भिसिङ, एक वर्षका लागि सवारी कर, आकर्षक एक्सचेञ्ज बोनस दिइनुका साथै गाडी नामसारी गर्दा लाग्ने खर्चसमेत कम्पनी आफैँलेनै व्यहोर्ने लगायतका विभिन्न सेवा/सुविधा प्रदान गरिएको कम्पनीले कार्यक्रममा जानकारी दिएको छ।
उक्त कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका कोशी प्रदेशका सचिव लाल बहादुर कार्की, उद्योग वाणिज्य संघ, इटहरीका महासचिव पिताम्वर पोख्रेल, नेपाल वितरक महासंघ कोशी प्रदेश महासचिव राजेश खनाल, सिप्रदीका च्यानल पार्टनरहरू लगायत यातायात क्षेत्रसँग आबद्ध रहेका विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए।
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङका सहायक महाप्रबन्धक दिवश बाबु सुबेदीले विद्युतीय गाडीहरुको फाइदा र सञ्चालनका हिसावले अत्यन्तै किफायती, सहज र सुविधायुक्त हुनुका साथै सुरक्षाका दृष्टिकोणले समेत टाटाका गाडीहरु सुरक्षित देखिएको उल्लेख गरे।