२०६३ सालमा चन्द्र खड्कालाई जुम्लामा पिकअप भ्यान ल्याउन हेलिकप्टर चाटर्ड गर्नु परेको थियो। यसका लागि उनले ९८ हजार रूपैयाँ तिरेका थिए।
त्यो बेला जुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएकै थिएन। पिकअप भ्यानलाई आवश्यक डिजेल पनि दैलेखबाट हेलिकप्टर वा खच्चडमा ल्याउनुपर्थ्यो। जब २०६४ सालमा जुम्ला सडक सञ्जालमा जोडियो, स्थानीयको दिनचर्या नै फेरियो।
तीन हजार पाँच सय पर्ने सिमेन्ट अहिले एक हजार एक सय रूपैयाँ प्रतिबोरामा पाइन्छ। जडिबुटी, स्याउ, आलु, सिमी, मार्सी लगायत उत्पादन कम लागतमा सहरसम्म पुर्याउन सकिएको छ। यो क्षेत्रमा हाल दैनिक ५०/६० वटा गाडी बाहिरी जिल्लाबाट आउने अंकित जनरल स्टोर एन्ड सप्लायर्स सञ्चालन गरिरहेका खड्काले बताए।
'पहिले यो क्षेत्रका मानिसले भात खाएको दिन संक्रान्ति भन्थे। राजनीति नै नुन र चामलमा हुन्थ्यो। खाद्य संस्थानले सहुलियतमा दिने, जसले बाँड्न सक्यो त्यही नेता। अहिले भात खानु नौलो रहेन,' उनले भने।
सहरसँग सडक जोडिए पनि गाउँगाउँमा हिँड्नुको विकल्प थिएन।
विकास निर्माणका लागि उनले हेभी इक्युपमेन्ट (डोजर, क्रेन, एक्सकाभेटर लगायत) को सम्भावना देखे अनि किनेर जुम्लासम्म ल्याए।
उनले सोचेझैं काम भयो। हेभी इक्युपमेन्ट संख्या चार वटा पुर्याए। अहिले जुम्लाभरमा हेभी इक्युपमेन्ट मात्रै ६० वटा भन्दा धेरै भएको उनले जानकारी दिए।
तर जब हेभी इक्युपमेन्ट बिग्रिन्थ्यो, तब समस्या हुन थाल्यो।
'हेभी इक्युपमेन्ट बिग्रिएका बेलामा साह्रै दुःख पायौं,' उनले भने, 'बिग्रियो भने सुर्खेत, नेपालगञ्जबाट प्राविधिक बोलाउन पर्ने। कहिलेकाहीँ त दस-पन्ध्र दिन मान्छे नआएर कामै रोक्नुपर्थ्यो।'
यी समस्याबाट आजित भएका खड्काले बारम्बार काठमाडौं जेसिबी कम्पनीमा गुनासो गरे। कम्पनीले उनलाई सेल्स, सर्भिस र स्पेयरसहितको जेसिबी आउटलेट खोले सबैलाई सहज हुन्छ भनेछ।
'अब सबैलाई सहज हुन्छ भनेपछि मैले आँटे,' खड्काले भने। उनले पहिल्यैदेखि एमएडब्लुमार्फत् यामाहा मोटरसाइकल र स्कुटरको डिलर सञ्चालन गरिरहेका थिए। त्यसैले जेसिबी आउटलेट खोल्न त्यति मुश्किल भएन।
खड्काले यामाहाकै साेरूममा काम गर्ने दुई जना प्राविधिकलाई हेभी इक्युपमेन्ट मर्मत-सम्भार तालिम लिन नेपालगञ्ज पठाए। अनि सुरू गरे आउटलेट। दुई साता नबित्दै उनले एउटा एक्सकाभेटर र दुइटा ब्याकहो लोडर बेचे। सर्भिसिङका निम्ति पनि उनलाई खबर आउन थालिहाल्यो।
'यो जिल्लामा हेभी इक्युपमेन्ट थपिने क्रम जारी छ। यो आउटलेटबाट दैलेखको केही भेग, कालीकोट, मुगु, डोल्पाको तल्लो भेगसम्म सेवा दिन सकिन्छ,' उनले उत्साहित हुँदै भने।
काम बढ्दै गयो भने अरू प्राविधिक थप्ने योजनामा छन् उनी, 'सबैतिर विकास गरिसक्यो। अब पालो कर्णाली कै होला नि।'
कर्णालीमा विकास निर्माण तीव्र भइरहेको र उपकरणमा आएका सानातिना समस्याले काम रोकिएकाले कम्पनीले कर्णालीमै पहिलो आउटलेट खोलेको एमएडब्लु अर्थ मुभर्सका मार्केटिङ म्यानेजर यम गुरुङले बताए।
'ग्राहकले दुःख नपाऊन् भन्ने हाम्रो उद्देश्य हो। अब इक्युपमेन्ट बिग्रियो भने यो भेगका चार जिल्लामा एक दिनभित्र प्राविधिक पठाउन सकिन्छ,' उनले जानकारी दिए।
जुम्लामा जेसिबीको आउटलेट खुल्नाले हेभी इक्युपमेन्ट व्यवसायी र निर्माण कम्पनी दुवैलाई फाइदा पुगेको श्री मस्टा निर्माण सेवाका प्रोप्राइटर हेमन्त थापा बताउँछन्।
'असार हाम्रो पिक टाइम हो। त्यो बेला एक दिन ढिला भए पनि धेरै घाटा हुन्छ। यस्तोबेला कहिलेकाहीँ त दुई-तीन सातासम्म हेभी इक्युपमेन्ट थन्किन्थ्यो। अब त्यो समस्या हट्छ भन्ने आशा छ। ढुक्क भएको छ,' उनले भने।
जुम्लाका विकट ठाउँमा सडक पुग्ने काम जारी भएकाले यो आउटलेटले धेरै मद्दत पुग्ने हेभी इक्युपमेन्ट व्यवसायी रामदेवी खड्काले बताइन्।
'पहिले मेसिन बिग्रिँदा सुर्खेत वा नेपालगञ्जबाट मेकानिक नआएसम्म पर्खिनुपर्थ्यो। अब जुम्ला मात्र नभई आसपास जिल्लाका व्यवसायीले पनि यो समस्या भोग्नुपर्दैन,' उनले भनिन्।