हाम्रो घरबाट दैनिक फोहर निस्कछ। कति काम नलाग्ने फोहर हुन्छन् त कति प्राङगारिक मल बनाउने खालका। घरबाट निस्कने धेरै फोहर भनेको खाना बढी भएर फालिएको, तरकारी, गेडागुडी र फलफुलका बोक्रा हो।
अझ बगैचा छ भने रुखबाट झरेको पातपतिङगर हो। तर घरबाट निस्किएका सबै फोहर हामी बर्गीकरण गर्दैनौ। सबै फोहर जम्मा गछौं अनि नगरपालिकाबाट फोहर उठाउन आएको दिन पोको पारेर फालिदिन्छौं ।
उपत्यकाबाट दैनिक निस्कने ११ सय टन सिसडोलमा लगेर फाल्ने गरिएको छ। तर घरबाट निस्किएका जैविक फोहर बेच्न सकिन्छ भनेर धेरैलाई थाहा नहुन सक्छ।
काठमाडौं महाराजगंजका दीपक लोहनीले अर्गानिक लाइभ नामक संस्था खोलेर फोहर किन्न सुरु गरेका छन्। उनले घरबाट निस्कने जैविक फोहर प्रति किलो ५ रुपैयाँका दरले किन्छन् ।
फोहर किनेर उनले त्यसलाई जैविक मल बनाएर बेच्ने गरेका छन् । मल बनाउन उनले महाराजगंजमा मा मल कारखानासमेत खोलेका छन्।
जैविक मलमा नाइट्रोजन फस्फोरस र पोटास हालेर प्रतिकिलो ३५ रुपैयाँमा उनी बेच्छन्। अहिले उपत्यकामा तरकारी खेती गरिरहेकाहरुले उनको कारखानाबाट मल किनेर लैजाने गरेका छन्।
उनले अहिले काठमाडौं र ललितपुरका सयौं घरहरुबाट फोहर किनेर मल बनाइरहेका छन् । फोहर नबेच्ने तर घरकै गमला, करेसाबारीमा मल बनाएर हाल्नेलाई कसरी मल बनाउन सकिन्छ उनले सित्तैमा तालिम दिइरहेका छन् ।
लोहनीका अनुसार उपत्यकाबाट निस्कने ७० प्रतिशत फोहरलाई मल बनाउन सकिन्छ। जैविक फोहरलाई सस्तो, सजिलो र छिटो तरिकाबाट मल बनाउन सकिन्छ।
५ जनाको परिवार रहेको एउटा घरबाट दैनिक २ देखि साढे २ किलो फोहर निस्कने लोहनी बताउँछन् ।
'नगरपालिकाले पैसा लिएर फोहर संकलन गरिरहेको छ,' लोहनीले भने, 'हामी पैसा दिएर किनिरहेका छौं । '
तरकारीको क्रेटमा फोहर जम्मा गरेर त्यसमा शक्तिशाली ब्याक्टेरिया साःगा हालेर ५ दिनभित्रै मल बनाउन सकिने उनले बताए। नेवारी भाषामा सा भनेको मल र गा भनेको गाड हो ।
लोहनीले काठमाडौं उपत्यकामात्र होइन अहिले सोलु, धादिङ, बेनी लगायतका स्थानमा पुगेर फोहर किन्ने काम सुरु गरेका छन्। टोल टोलमा पुगेर उनले फोहर बेच्न नचाहनेलाई कसरी मल बनाउन सकिन्छ सिकाउँछन् ।
थाइल्याण्डको सहरबाट निस्किएको फोहरबाट मनाइएको मल काठमाडौं आउन थालेपछि काठमाडौंबाटै निस्किएको फोहरलाई मल बनाउने अभियानमा आफू जुटेको उनले बताए।
अहिले काठमाडौंमा थाइल्याण्डको फोहरबाट बनेको प्राङगारिक मल किन्न सकिन्छ। काठमाडौंमा एक किलोको १ सय १० र उपत्यकाबाट १ सय ३० रुपैयाँ पर्छ।