मंसिर अन्तिमको जाडोमा सर्लाहीका ६० वर्षीय रामेश्वर यादवलाई काठमाडौंको चिसो सिरेटोमा बस्न कहाँ सजिलो छ र?
छातीमा पम्प्लेट टाँसेर माइतीघर बस्नु उनको रहर पनि होइन। उनलाई त गाउँमै जमिन खोर्सेर, पसिना चुहाएर परिवार पाल्न पाए पुग्छ।
रामेश्वरले राजतन्त्रदेखि गणतन्त्रसम्म देखे। गाउँ–गाउँमा सिंहदरबार पुग्छ भन्ने पनि सुने तर उनको गाउँमा सिंहदरबार कहिल्यै पुगेन।
बरु सिंहदरबारबाट शासन गर्ने शासकहरूले आफ्नो उखुको पैसा उठाइदिन्छन् कि भन्ने आशामा उनी सिंहदरबार नजिकैको माइतीघरमा आइपुगेका छन्।
‘अन्नपुर्ण सुगर मिलबाट १ लाख ७२ हजार लिन बाँकी छ। त्यो पैसा पाए ऋणको ब्याज थपिन्थेन। त्यही भएर काठमाडौं आएको,’ उनले भने।
रामेश्वर पोहोर पनि नआएका होइनन्। उद्योग मन्त्री लेखराज भट्टको पहलमा भएको वार्तामा पोहोरको माघ ७ गतेभित्र उखु किसानको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीले भुक्तानी गर्ने सहमति भएपछि उनी ढुक्क भएर घर फर्किए। तर ३५ हजार भन्दा पाउन सकेनन्।
पैसा नपाएपछि थप ५ हजार ऋण खोजेर उनी यो वर्ष फेरि राजधानी फिरे।
एकमात्र आयस्रोत उखु खेतीबाट पैसा नआउँदा ५ जना परिवारको दैनिक खर्च ऋणमै चलेको थियो। त्यसमाथि छोरीको विवाह गर्दा ऋण थपिएर ५ लाख पुग्यो।
‘छोरीको विवाहमा ऋण थपिएर ५ लाख पुग्यो। ३६ प्रतिशत ब्याज खपेर कति बस्नु। चिनीको पैसा उठ्यो भने थोरै जग्गा बेचेर भए पनि ऋण तिर्छु,’ उनले भने।
रामेश्वरले खेतीपाती गरेरै ४ छोरीको विवाह गरे, अब २ छोरी र १ छोराको भविष्यको चिन्ता छ।
उनीसँग पैसा पनि छैन। गौशालाको धर्मशालामा बसेका छन्। खाना होटलमा खान्छन्।
‘गाउँबाट आउँदा च्यादर बोकेर आएको थिएँ। त्यही ओढेर सुत्छु,’ उनले भने। आफ्नो क्षेत्रबाट निवार्चित जनप्रतिनिधिले नै आफूहरुलाई वास्ता नगर्दा नराम्रो लागेको रामेश्वर बताउँछन्।
‘बरु चुनाव हारेको नेताले हाम्रो आन्दोलनमा साथ दिनुभएको छ। जितेकाहरुको त नाक–मुख देख्न पाएको छैन,’ उनले भने।
अहिले संसारभर चलिरहेको कोरोना भाइरस संक्रमणको डर उनलाई पनि छ तर पेट भर्नुपर्ने चिन्ताले आन्दोलनमा होमिएको उनी बताउँछन्।
उखुको पुरा पैसा लिई घर नफर्कने मनस्थितिमा रामेश्वर छन्।
‘पोहोर सरकारको आश्वासन मान्दा धोका र ऋणको ब्याज मात्र थपियो। यो वर्ष हामी पैसा नबोकी गाउँ जाँदैनौँ,’ उनले भने।