उनले लगाउने निलो रङको टी–सर्ट । टी–सर्टमा लेखिएको छ ‘जे गर्छु नेपालमै गर्छु ।’
सुर्खेतको भेरीगंगा नगरपालिका १३ रामपुरका २५ वर्षीय कमल विसी आजभोलि आफ्नै बाख्रा फर्ममा परिश्रम गर्छन्। ५० भन्दा धेरै बोयर जातको बाख्रा रहेको खोरमा बिहानदेखि बेलुकासम्म समय बिताउने कमलको वार्षिक आम्दानी १० लाखभन्दा धेरै हुन्छ ।
तीन वर्षअघि रोजगारीका लागि कोरिया जाने प्रक्रियामा लागेका विसीले भाषा परीक्षा पास गरेका थिए। भाषा परीक्षा पास गरेको १ वर्षसम्म पनि कोरियाको लागि भिसा नआएपछि उनले आफ्नो नाममा ‘आधुनिक बोयर बाख्रा फर्म’ दर्ता गरे ।
फर्म खोलेको ८ महिनापछि भने काम गर्न कोरिया जानका लागि उनको भिसा आएको थियो। तर उनले कोरिया जाने मन भने त्यसअघि नै मारिसकेका थिए। उनले सोचे ‘अब जे गर्छु नेपालमै गर्छु।’
कमलले बैंकबाट ऋण लिएर बाख्रा फर्म खोलेको तीन वर्ष भयो। सुरूमा १३ लाख लगानी गरेको फर्मको लगानी अहिले २३ लाख पुगिसकेको छ। सुरूमा दुइटा मात्र बोयर जातका बाख्रा ल्याएर सुरू गरेको फर्ममा अहिले ५० बाख्रा छन्। उनको फर्ममा उत्पादन हुने बाख्रा सुर्खेतसहित, कैलाली, बर्दिया, धनगढी, बाँके, ईलाम, झापा, पाल्पालगायतका जिल्लामा विक्री हुन्छन् ।
उनले भारतीय आर्मीका लागि समेत प्रयास गरेका थिए। ‘उमेर पुग्नेवित्तिकै भारतीय आर्मीका लागि प्रयास गरेँ भएन, त्यसपछि कोरिया जाने योजना बनाएँ’, कमलले भने, ‘अहिले थाहा भयो आजकालजस्तो मैले समयमै नेपालमा नै केही गर्छु भन्ने कुरा सोचेकै रहेनछु। अब त लाग्छ जे गर्छु नेपालमै गर्छु।’
उनको फर्मबाट वर्षमा ४० भन्दा धेरै बोयर जातका बाख्रा उत्पादन हुन्छन्। ५० प्रतिशत, ७५ प्रतिशत र १०० प्रतिशत गुणस्तर भएका बाख्राहरू विभिन्न जिल्लामा विक्री गर्ने गरेको उनले बताए ।
उनका अनुसार १०० प्रतिशत गुणस्तर भएको बाख्रा कम्तीमा १ हजार रुपैयाँ प्रतिकिलो विक्री हुने गरेका छन्।
अहिले पुर्याउनै गाह्रो पर्नेगरी आफूसँग बाख्रा माग हुने गरेको उनले बताए । फर्ममा उत्पादन हुने बाख्रा ४ देखि ६ महिनाभित्र नै कम्तीमा २५ किलोका बन्ने गर्छन्।
‘१३ लाखबाट सुरू गरेको लगानी अहिले २४ लाख पुग्यो, अबको वार्षिक १० लाख रुपैयाँ त चोखो आम्दानी हो,’ कमलले भने, ‘बाख्रा पुर्याउनै धौधौ हुन्छ, निराश हुने अवस्था आएन यसैमा खुसी छु । मिहिनेतलाई भने निरन्तरता दिन्छु।’
उनले बाख्रापालन व्यवसायमा त्यत्तिकै लागेका भने होइनन्। कमलले एक वर्ष पूरा यससम्बन्धी विभिन्न क्षेत्रमा पुगेर अध्ययन र परामर्श लिएका छन्। कुनै पनि व्यवसाय सुरू गर्नुअघि अध्ययन अनिवार्य हुने उनी बताउँछन् ।
उनी रोजगारीका लागि विदेश जानुभन्दा क्षमता अनुसारको लगानी स्वदेशमै गर्न युवाहरूलाई आग्रह गर्छन् ।
‘मैले कोरिया जान भारत गएर आर्मी बन्नका लागि लाखौं रुपैयाँ खर्च गरिसकेको छु,’ उनले भने, ‘मैले त्यसअघि नै यसरी फर्म खोलेको भए बैंकबाट ऋण लिनु पर्ने थिएन । परिवारबाट टाढा रहेर अर्काको देशमा काम गर्न जानुभन्दा आफ्नै ठाउँमा परिवारसित मिलेर काम गरौं भन्ने मेरो आग्रह पनि छ ।’
कमलको बाख्रा फर्ममा उनीसहित परिवारका चारजना सदस्यले नियमित काम गर्छन् । तीन विघाभन्दा धेरै जमिनमा बाख्राका लागि आवश्यक पर्ने घाँस लगाएको उनले बताए । छिमेकीको बारीमा समेत पैसा तिरेर घाँस उत्पादन गरिएको उनले बताए ।
आफ्नो पढाइलाई समेत निरन्तरता दिइरहेका कमल अहिले शिखर क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत छन् ।