भारतमा डेरी उत्पादन तथा वितरण गरिरहेको अमुल नेपाल आउने चर्चा चलेसँगै नेपालमा दुग्धजन्य व्यवासयमा संलग्न संघसंस्थाहरु विरोधमा उत्रिएका छन्।
यसअघि डेरी एसोसिएसनले विरोध गरेको थियो भने दुग्ध सहरकारीको छाता संगठनले त पत्रकार सम्मेलन गरेर विरोध जनाएको छ।
‘अमुल’ नेपाल आउन लागेको प्रति दुध तथा दुग्द्यजन्य वस्तु उत्पादन गर्ने सहकारीहरुको छाता संगठन केन्द्रिय दुग्द्य सहकारी संघले विरोध गरेको छ।
संघले अमुल डेरी उद्योग नेपाल भित्र्ने हो भने त्यसले स्वदेशी दुग्द्य उद्योग तथा पेशा धराशयी बनाउने भन्दै विदेशी कम्पनीको प्रवेश गर्न दिन नहुने बताएको छ।
‘भारतिय डेरी अमुल नेपाल आए त्यसले उतैबाट कच्चा दुद्य वा पाउडर आयात गर्छ। त्यसले थप निर्भरताको अवस्थामा देशलाई धकेल्नुका साथै स्वदेशी दुग्द्य क्षेत्रलाई धराशायी बनाउँछ’, संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले भने, ‘त्यसैले अमुल उद्योग नेपालमा आउने कुरा हामीलाई स्वीकार्य हुँनेछैन्।’
देवकोटाले अमुल वा अन्य कुनै डेरीको प्रविधि भित्र्याउन सकिने भएपनि उद्योग नै खोल्दा त्यसले समग्र दुग्द्य क्षेत्रलाई धराशायी बनाउने भन्दै विरोध गरिएको दाबी गरे।
‘स्वदेशी डेरी उद्योग उदाउँदो अवस्थामा छन्। तीनलाई प्रविधियुक्त बनाई गुणस्तर बढाउनुको साटो सरकार अस्वस्थ प्रतिस्पर्धा बढाउनमा उद्यत छ’ देवकोटाले भने, ‘यसले नेपाली डेरी क्षेत्र तहसनहस बनाउँछ। त्यसैले अमुलको नेपाल प्रवेश हामीलाई मान्य हुनेछैन्।’
यसअघि डेरी व्यवसायीहरुले समेत अमुलको नेपाल प्रवेशको विरोध गरेका थिए। आत्मनिर्भर हुँदै गरेको डेरी क्षेत्रमा विदेशी कम्पनी आउँदा नेपाली व्यावसायीले हालसम्म गरेको लगानी जोखिममा पर्ने भन्दै उनीहरुले अमुललाई रोक्नुपर्ने बताएका छन्।
नेपालका प्रधानमन्त्री केपी ओली भारत भ्रमण जाँदा भारतले नेपालको कृषि क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। त्यहीअनुसार अमुलको मिनी प्लान्ट नेपालमा स्थापना गर्ने कुरा बताइएको छ।
भारतमा सहकारी मोडलबाट संचालित अमुलले नेपालमा कृषकहरुलाई उत्पादन बढाउन तालिम, सहयोग जस्ता काम पनि गर्ने बताइएको छ।
तर नेपाल दुधमा आत्मनिर्भर हुनै लागेको समयमा अमुल डेरी आउँदा नेपाली उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडिया बताउँछन्।
‘पोल्ट्रीमा क्षेत्रमा विदेशी लगानी रोकिएकै कारण त्यो अहिले आत्मनिर्भरको अवस्थामा पगुेको छ। डेरी क्षेत्रपनि आत्मनिर्भर उन्मुख छ, यस्तोमा विदेशी कम्पनीलाई किन ल्याउनुप¥यो’ उनले भने।
८० प्रतिशत दुध अहिले नेपाली बजारले मात्र धानेकोले आत्मनिर्भर हुने बाटोमा रहेको उनको भनाइ छ।
अमुल आएपछि उसले कच्चा दुध पनि भारतबाटै ल्याउने भएकोले उसँग नेपाली उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाई छ। नेपालमा अहिले पनि मागको ८० प्रतिशतमात्र दुध उत्पादन हुने भएकोले अमुलले भारतबाटै दुध ल्याएर नेपालमा प्रसोधन गर्ने उनको आँकलन छ।
तर अमुल आउने कुरा सरकारी स्तरमा औपचारिकरुपबाट कुनै पनि प्रस्ताव नआएको उद्योग विभागले जानकारी दिएको छ।
भारतमा दैनिक २५ लाख लिटर दुध संकलन गरिरहेको अमुलसँग ६ लाख ९४ हजार दु्ध उत्पादकहरु जोडिएका छन् भने १ हजार ७ सय गाउँ दुध उत्पादक सहकारी पनि संलग्न रहेका छन्।