भिजिट भिजामा युएई ल्याईएका नेपालीको राहदानी धरौटी राखेर दलाल फरार भएपछि सारजाहमा ३ नेपालीको विचल्ली भएको छ।
दैलेखका केशव बहादुर शाही, काभ्रेका देव बहादुर मगर र मकवानपुरका रविन कार्की मार्फत गत अक्टोबर ८ तारिख भिजिट भिजामा युएई आएका मोरङका सुमित कुमार राई र मकवानपुरका मन्जिल बलामीको राहदानी धरौटी राखेर युएईका दलाल रविन कार्की फरार भएपछि उनीहरुको विचल्ली भएको हो।
उनीहरुले नेपालमा प्रतिव्यक्ति २ लाख २० हजारका दरले देव बहादुर मगरलाई रकम बुझाएर युएई आएको बताए। युएई आएर दुवैजनाले रविन कार्कीलाई जनही ३५ सय दिराम बुझाएको सुमित कुमार राईले बताए। कार वासको काममा लगाईदिने र खान, बस्न सहित ओभर टाईम बाहेक १७ सय ५० दिराम सेलरी हुने आश्वासन देखाएर आफुहरुलाई युएई ल्याईएको उनिहरुको भनाई छ।
युएई आएपछि आफुहरुलाई सारजाहको एउटा कोठामा राखेर पैसा र राहदानी कार्कीले लिएको सुमित कुमार राईले बताए। केही दिनमा राईको राहदानी फिर्ता दिएपनी बलामीको भने उनिहरुलाई राखिएको घरधनीकोमा धरौटी राखेर कार्की फरार भएका हुन।
कार्की फरार भएपछि कार्कीका सहकर्मी अशोक विश्वकर्मासंग राहदानीको विषयमा कुरा गर्दा उनले बलामीको राहदानी घरधनीकोमा धरौटी राखिएको र घरको भाडा नतिरेसम्म नदिने बताएको मन्जिल बलामीले बताए। आफुसंग राहदानी नभएकोले आफै खोजेको काममा समेत लाग्न नसकेको पीडितहरुले बताएका छन्। धेरै पैसा खर्चेर आएको हुनाले तत्काल फर्किन समेत नसक्ने र काममा लाग्न राहदानी नभएकोले ठूलो समस्या भएको उनीहरुले दुखेसो पोखे। कार्कीले लामो समयदेखि कोठाको भाडा नतिरेकाले घरधनीले यहि बुधबार सम्ममा कोठा छोड्न अल्टिमेटम दिएको उनिहरुले बताए। बुधबार पछि बस्ने, खाने निश्चित नभएकोले सडकको वास हुने उनिहरुले दुखेसो पोखेका छन्।
यता सोही समुहबाट ठगिएर ३ महिना अघि युएई आएका काठमाडौका राकेशविक्रम थापाको “ओभर स्टे“ भएको १२ दिन भईसकेको छ। ओभरटाईम बाहेक २५ सय दिराम सेलरी हुने भन्दै लाईफ गार्डका लागि केशव बहादुर शाहिलाई ३ लाख ५० हजार तिरेर युएई आएको थापाले बताए। रविन कार्कीले काममा लगाईदिने भनेर पठाएको तर कार्की आफै संपर्क विहिन भएपछि आफु विचल्ली भएको उनले बताए। यस विषयमा कार्कीको मोबाईलमा पटकपटक संपर्क गर्न खोज्दा संपर्क हुन सकेन। उता नेपालमा रहेका केशव बहादुर शाहिसंग संपर्क गर्दा रविन आफ्नो संपर्कमा नरहेको र युएईमा काम लगाईदिने संपुर्ण जिम्मेवारी रविन र अशोकको भएको बताए।
यस विषयमा नेपाली दूतावास अबुधाबीमा संपर्क गर्दा नेपालीहरु भिजिट भिजामा आउँदा भोग्नुपर्ने समस्याहरु बारे जानकार हुँदाहुँदै आउने र यहाँ दुस्ख पाउने गरेको श्रम सहचारी हिरा यादवले बताईन। सिमित श्रोत र साधनको बाबुजुद पनि दूतावासले उनीहरुलाई निरन्तर सहयोग र उद्दार गर्दै आएको उनले बताईन। यद्यपि भिजिट भिजामा आएर समस्या परे त्यसको मुख्य जिम्मेवार आफै हुनुपर्ने उनले बताईन। पीडितहरुले बुधबार देखि आफुहरुको खाने , बस्ने निस्चित नभएकोले दूतावास, एनआरएनए, पत्रकार महासंघ लगायत स्थानीय सामाजिक संघसंस्थाहरुलाई सहयोग गरिदिन अपिल गरेका छन्।