पत्रकार निर्भिक नारायण भुर्तेलले दलालबाट ठगिएर युएई दूतावासको शरण परेका एक नेपालीलाई स्वदेश फर्काएर आफ्नो २४ औं जन्मदिन मनाएका छन्।
तामझाम गरेर जन्मदिन मनाउने परम्परालाई चुनौती दिदै भुर्तेलले २ महिना देखि युएईमा अलपत्र परेका काभ्रेका नरेश तामाङलाई आफ्नै खर्चमा टिकट उपलब्ध गराएर नेपाल एयरलाइन्स मार्फत स्वदेश फर्काएका हुन।
तामाङलाई दुईमहिना पहिले काठमाडौको धुम्बाराही स्थित पान्डोरा ईनकर्पोरेसन रिकृट्मेन्टका एजेन्ट केशव थापाले २ लाख ७० हजार नेपाली रुपैयाँ असुलेर युएई ल्याएका थिए। राम्रो काम र दाम मिलाईदिने प्रलोभनमा युएई ल्याएर अलपत्र पारेपछि उनी सहित २२ नेपालीको विचल्ली भएको थियो।
सेतोपाटीमा समाचार प्रकाशित भएपछि स्थानीय सामाजिक संघसंस्थाहरुको सहयोगमा पीडितहरु नेपाली दूतावास अबुधाबीको शरणमा पुगेका थिए।
तामाङको भिसाको समयावधि सकिन एक दिन मात्रै बाँकि रहेको र उक्त समयसिमा नाघे “ओभर स्टे“ बापत ठूलो जरिवाना तिर्नुपर्ने अवस्था थियो। घरायसी आर्थिक अवस्था एकदमै कमजोर रहेको, स्वदेश फर्किने टिकट आफै खरिद गर्नुपर्ने, ओभर स्टे बापतको जरिवाना तिर्नुपर्ने आदि समस्याले आहत बनेको बेला नेपाल पत्रकार महासंघ युएईका सचिव तथा नेपाल प्रेस युनियन युएई शाखाका अध्यक्ष समेत रहेका पत्रकार नारायण भुर्तेलले टिकट खरिद गरेर उद्दार गरेका हुन। उनी नागरिक न्युजका युएई संवाददाता समेत हुन।
तामाङ आज (शनिबार) बिहान ४ र १५ बजेको उडान मार्फत नेपाल फर्किएका हुन। उडान पुर्व भुर्तेलले उनलाई मिठाई तथा अन्य सामाग्रीहरु समेत किनिदिएका थिए।
होटल, रेष्टुरेन्टहरुमा फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा त्यो खर्चले कोहि एक पीडितको उद्दार गर्न सके मानवीय कर्तव्य पूरा हुने र अरुलाई समेत प्रेरणा मिल्ने हुनाले आफुले साथिभाईलाई दिने “पार्टी“ को खर्च पीडितको उद्दारमा लगाएको भुर्तेलले बताए।
अहिले नेपाली दूतावास अबुधाबीको शरणमा २१ नेपाली छन्। २ महिना अघि पान्डोरा ईन्कर्पोरेसन रुकृट्मेन्टका एजेन्टहरु केशव थापा, रमेश कुँवर र दिनेश लामाले उनीहरुबाट २ लाख देखि ५ लाखसम्म नेपाली रुपैया असुलेर भिजिट भिसामा युएई ल्याएर अलपत्र पारेका हुन। दूतावासले बस्ने व्यवस्था र एनआरएनएले खाने व्यवस्था मिलाए पनि घर फर्किने टिकटको व्यवस्था हुन नसकेकाले उनीहरु अहिले दूतावासकै शरणमा छन्। पीडित युवाहरुले आफुहरुलाई चाँडोभन्दा चाँडो स्वदेश फर्किन सहयोगको निम्ति आग्रह गरेका छन्।