सहकर्मि हत्याको अभियोगमा युएई अदालतबाट ब्लड मनि भुक्तानको सजाय सुनाईएका चितवन खैरिनिका टोपबहादुर विश्वकर्माको उद्दारका निम्ति युएईका नेपाली संघसंस्थाले संयुक्त अभियान थालेका छन।
चारवर्ष अघि कार्यस्थलमा भएको दुर्घटनामा दुई थाई नागरिकको मृत्यु भएपछि अदालतले उनी सहित घटनामा संलग्न एक पाकिस्तानि नागरिकलाई दोषि ठहर गर्दै ब्लड मनि भुक्तानको सजाय सुनाएको थियो।
न्यायलयको फैसला पछि ब्लड मनि जुटाउन दूतावास र नेपाली समुदाय गुहार्दै ४ वर्ष बिताएका विश्वकर्माको उद्दारका लागि एनआरएनए युएईको सक्रियतामा सहयोग अभियान थालिएको हो।
विश्वकर्माको उद्दारका निम्ति हातेमालो गर्न एनआरएनए युएईको सक्रियतामा शुक्रबार नेपाली दूतावास युएईमा सर्वपक्षीय भेला आयोजना गरिएको छ। भेलामा नेपाली दूतावास, नेपाली संघसंस्था र सरोकारवालाको उपस्थिति रहेको थियो। भेलामा विश्वकर्माको उद्दारका लागि आवश्यक ब्लड मनि नेपाली करिब ३० लाख संकलन गर्न एनआरएनएको संयोजकत्वमा सहयोग संकलन समिति गठन गरिएको छ।
समितिमा नेपाली समाज युएई, नेपाली जनसंपर्क समिति, प्रवाशी नेपाली मंच, नेपाली जनप्रगतिशिल मंच, आदिवासी जनजाती महासंघ, चितवन समाज, विश्वकर्मा समाजलाई उपसंयोजकको जिम्मेवारी दिईएको छ भने युएईमा कृयाशिल संपुर्ण नेपाली संघसंस्थालाई पदेन सदस्य तोकिएको एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए। समितिले आगामी साता दूतावासमा संघसंस्थाका प्रमुखहरुको भेला गरेर उपसमिति निर्माण गरि समय सिमा तोकेर पैसा संकलन थाल्ने श्रेष्ठले बताए।
सहयोगको अपिल गर्दै पटकपटक नेपाली दूतावास धाएका विश्वकर्माको उद्दारका लागि आवश्यक ब्लड मनि सहयोग गर्न नेपाली दूतावासले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई दुईपटक पत्रचार गरेको थियो। बोर्डले गत मंगलबार ब्लड मनि बापतको रकम सहयोग गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सहयोग गर्न नसकिने व्यहोरा सहितको पत्र पठाएको छ।
बोर्डबाट सहयोग प्राप्त हुने आशा मरेपछि एनआरएनएको पहलमा सहयोग अभियान थालिएको एनआरएनए युएईका प्रवक्ता मनु क्षेत्रीले बताए। विश्वकर्माको उद्दारका लागि एनआरएनए आईसिसीले ब्लड मनि बापतको रकमको १० प्रतिशत रकम सहयोग गर्ने घोषणा गरिसकेको छ भने विश्वकर्मा समाज युएईले समेत सहयोग संकलन अभियान संचालन गरिरहेको छ।
सन २०१४ मा अलएनको लिमा कन्ट्र्या्िक्टङ कम्पनीमा रिगरको रूपमा कार्यरत रहँदा उक्त दुर्घटना भएको थियो। दुर्घटना हुँदा विश्वकर्मा क्रेन अपरेटरको हेल्परको रूपमा काम गरिरहेका थिए भने क्रेन एक पाकिस्तानी नागरिकले चलाएका थिए। उक्त क्रेन साका गल्फ नामक कम्पनीको थियो। दुर्घटनामा क्रेनको बकेट खसेर थाइल्यान्डका दुई नागरिकको मृत्यु भएको थियो।
प्रहरीले तत्कालै क्रेन अपरेटर र उनलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो। दुई दिनपछि अलएन अदालतले ती दुवैलाई जेल चलान गरेको थियो।
तीन महिना पछि सेप्टेम्बर १ मा अदालतले उक्त घटनाको सुनुवाई गर्दै २ महिना जेल र ब्लड मनि तिर्नुपर्ने फैसला गरेको थियो। सोही दिन विश्वकर्माले उक्त घटनाको पुनः छानबिनका लागि उच्च अदालतमा अपिल गरेका थिए। उच्च अदालतले अक्टोबर २१ तारिख पासपोर्ट फिर्ता दिएर जेल मुक्त गर्न आदेश दिएको थियो। उनी ४ महिना २२ दिन जेल बसेर अक्टोबर २२ मा जेल मुक्त भएका थिए।
यो पनि पढ्नुहोस