खाडी मुलुकमा कार्यरत नेपालीहरु प्रती लक्षित सिस्नोपानी नेपालको दुई थोपा हाँसो अभियानको तेस्रो शृङ्खला युएईबाट शुरु भएको छ ।
करिब दुई दशक देखि व्यंग्यात्मक शैलीमा सामाजिक विकृति , विसंगति तथा अनियमितताहरुलाई कटाक्ष हान्दै आएको सिस्नोपानीको खाडी केन्द्रित दुई थोपा हाँसो अभियानको तेस्रो संस्करण बिहीवार युएईको अबुधाबीबाट शुरु भएको हो।
सिस्नोपानी नेपालले खाडीमा कार्यरत नेपालीहरुलाई मनोरञ्जनात्मक शैलीबाट स्वस्थ र सुरक्षित जीवन बाँच्न सन्देश प्रवाह गर्ने उद्देश्यले दुई थोपा हाँसो अभियान संचालन गर्दै आएको छ ।
युएईको राजधानी अबुधाबीमा बिहिवार संपन्न पहिलो कार्यक्रममा करिब २ सय मजदुर सहभागी भए । अबुधाबीबाट करिब ५० किलोमीटरको दुरिमा रहेको मुसाफामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
श्रम मन्त्रालय तथा नेपाली दूतावास युएईको समन्वय र एनआरएनए युएईको स्थानीय व्यवस्थापनमा संचालन भईरहेको अभियान युएईका ५ स्थानमा संचालन हुने एनआरएनए युएईका प्रवक्ता मनु क्षेत्रीले बताए ।
हांस्यकलाकार मनोज गजुरेल , व्यंग्य कवि अर्जुन पराजुली , व्यंग्यकार टंक आचार्य , वरिष्ठ चिकित्सक डा. रविन्द्र पाण्डे , हाँस्यकवि लक्ष्मण गाम्नागे लगायतले करिब ४ घण्टा मजदुरसंग साक्षात्कार गरेका थिए । त्यसक्रममा प्रवाशमा रोजगारीका क्रममा अपनाउनु पर्ने सावधानी , स्वस्थ रहन अपनाउनु पर्ने खानपान शैलि , सुरक्षित जिवनका लागि ध्यान दिनुपर्ने कुराहरुका बारेमा मजदुरलाई जानकारी गराईएको एनआरएनए युएईका उपाध्यक्ष निर्मल पोख्रेलले बताए ।
रोजगारीका क्रममा युएईमा करिब ४ लाख नेपाली कार्यरत छन । स्वास्थ र सुरक्षित जिवनका बारे ध्यान नदिंदा यहाँ वर्षे्नि दर्जनौं नेपालीहरु दुर्घटनामा पर्ने गरेका छन । कैयनको मृत्यु समेत हुने गरेको छ । यो अभियानले त्यस्ता दुर्घटनाहरु निर्मुल पार्न सहयोग र्पुयाउने एनआरएनएका अध्यक्ष रमेश श्रेष्ठले बताए ।
युएईमा सिस्नोपानीको तेस्रो कार्यक्रम हो । गत वर्ष पनि मनोज गजुरेल सहितको टोलिले दुईपटक युएईका विभिन्न मजदुर क्याम्पमा दुई थोपा हाँंसो कार्यक्रम संचालन गरेको थियो । बिहिवार शुरु भएको यसपटकको कार्यक्रम युएई पछि बहराईन र ओमानमा संचालन गरिने सिस्नोपानीले जनाएको छ ।