राष्ट्रपति विद्यादेवि भण्डारी हालै मात्रै संयुक्त अरब ईमिरेट्स (युएई) को ४ दिने औपचारिक भ्रमण पूरा गरि स्वदेश फर्किएकी छिन। युएईको अबुधाबी राज्यका राजकुमार तथा युएई सैनिकका सर्वोच्च नायब कमान्डर शेख बिन जायद अल नेह्यमको मैत्रीपुर्ण आमन्त्रणमा उनी युएई भ्रमणमा आएकी हुन।
कात्तिक २१ गते राष्ट्रपती निवास शितलनिवास पुगेर नेपालका लागि युएईका राजदुत शैईद हमदान अल नक्बीले युएईका तर्फबाट पठाईएको भ्रमणको निम्तो बुझाएका थिए। त्यसको एक साता पनि नबित्दै राष्ट्रपति भण्डारी छोरी निशाकुसुम सहित २६ जनाको जम्बो टोलि बोकेर युएई उडिन।
कार्यकालको अन्तिम घढीमा गरिएको यो भ्रमणको पुर्वसन्ध्यामै विभिन्न टिकाटिप्पणी भएका थिए। कतारले एक वर्ष अघि दिएको भ्रमणको निम्तोलाई नजरअन्दाज गर्दै युएईका तर्फबाट आएको निम्तोमा एक हप्ता भित्रै भ्रमणमा निस्किएको भन्दै बौद्धिक वर्गमा चर्चा चलेको थियो। अहिले पनि परराष्ट्र मामिलामा दख्खल राख्नेहरुले उनको भ्रमण बेमौसमको बाजा भएको टिप्पणी गरिरहेका छन। परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको असहमतिको बाबुजुद उनी भ्रमणमा हिंडेको बताँईदै आईएको छ। यद्यपि मन्त्रालयले भने उनको भ्रमणको संपुर्ण व्यवस्थापन मिलाएको जानकारी सहित भ्रमण कार्यक्रमबारे कात्तिक २५ गते विज्ञप्ति जारी गरेको थियो।
राष्ट्रपति विद्यादेवि भण्डारी कात्तिक २७ गते सोमबार छोरी निशाकुसुम भण्डारी, आपूर्ति मन्त्री जयन्त चन्द, परराष्ट्र मामिला विज्ञ डा. मदनकुमार भट्टराई, परराष्ट्र सचीव भुपेन्द्र प्रसाद पौडेल, राष्ट्रपति कार्यालयका सचिव शंकरदास वैरागी, उच्च पदस्थ अधिकारीहरु र संचारकर्मीको टोलि सहित युएई उत्रिएको थियो। सोमबार साँझ अबुधाबि उत्रिएको टोलि युएईका उच्च पदस्थ अधिकारीहरुसंग भेटघाट गर्दै विभिन्न स्थानको भ्रमण गरेर बिहिवार अपरान्ह स्वदेश फर्कीसकेको छ।
कुटनैतिक रुपमा जस्तोसुकै चर्चा परिचर्चा चलेपनि यो भ्रमणबाट यहाँ कार्यरत नेपालीहरुमा भने आशाको बिजारोपण भएको छ। परदेशमा आफ्नो राज्यको प्रमुख व्यक्ति सवारी हुँदा हर्षित हुनु स्वभाविक मान्न सकिन्छ।
सन् १९७७ को जनवरी २२ मा दौत्य संबन्ध स्थापना भएको नेपाल र युएई बिचको मैत्रीपुर्ण संबन्ध आउँदो जनवरीमा ४० वर्ष पूरा हुँदैछ। यसैको अवसरमा यो भ्रमण तय गरिएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा जनाएको छ। यहाँ निर्माण, सुरक्षा, सेवा, घरेलु कामदार आदि क्षेत्रमा गरि करिब ४ लाख नेपालीहरु कार्यरत छन्। स्वदेशमा रोजगारीको अवसर नभएर विदेशीएका यी नेपालीहरुको सुखदुःख, भोगाई र आवाजहरु सुन्नु राष्ट्रपतिको प्रमुख प्राथमिकता हुनुपर्ने थियो। जुन मजदुर क्याम्प र कार्यस्थलहरुमा पुगेर मात्रै अनुभव गर्न सकिन्थ्यो। तर यो भ्रमण युएई सरकारको आमन्त्रण भएको औपचारिक भ्रमण भएको हुनाले संपुर्ण कार्यक्रम युएई सरकारद्वारा निर्दिष्ट थियो। तथापी राष्ट्रपतिले चाहना राख्नु भएको भए र नेपाली दूतावासले आग्रह गरेको भए पक्कै यो अवसर जुट्ने थियो। तर त्यसो भएन।
दुई देश बिचको कुटनैतिक संबन्ध सुदृढीकरणको सवालमा भएको उपलब्धि बाहेक उच्च पदस्थ अधिकारीहरुसंगको भेटघाट, पर्यटकीय स्थलहरुको भ्रमण र दूतावासले सुकिलामुकिला डाकेर ५ तारे होटल भित्र आयोजना गरेको रात्रीभोजमै सिमित भयो भ्रमण।
दूतावासले सूचना लुकायोदूतावासका कमिकमजोरी औँलाईदिनाले उत्पन्न भएको संचारकर्मी र दूतावास बिचको तिक्तता यसपटक पनि सतहमा देखियो। राष्ट्रपतिको भ्रमण कार्यक्रमका विषयमा दूतावासले कसैलाई सूचना दिएन।
कात्तिक २७ गते शुरु हुने राष्ट्रपतिको भ्रमण कार्यक्रम बारे दूतावासले न पत्रकार सम्मेलन गरेर जानकारी गरायो, न कुनै विज्ञप्ति निकाल्यो बरु यसबारे जानकारी लिन पटकपटक संपर्क गर्दा समेत दूतावासको फोन उठाईएन। संबंधित सूचना अधिकारी र कर्मचारीहरुको मोबाईल समेत उठेन।
भ्रमणको सूचनाका विषयमा सामाजिक संजालहरुमा टिकाटिप्पणी भएपछि राष्ट्रपतिको आगमन भएको करिब २७ घण्टा पछि मंगलबार राती साढे दस बजे फेसबुक पेज मार्फत पहिलो प्रेस रिलिज सार्वजनिक गरिएको थियो। यस अघि शनिबार राती सोही पेजमार्फत भ्रमण बारे छोटो सूचना जारी गरिएको थियो।
संक्षेपमा राष्ट्रपतिको भ्रमणसोमबार बेलुका ४ बजे युएईको राष्ट्रिय ध्वजाबाहक विमान ईतिहात एयरवेजको उडानबाट अबुधाबि आएको राष्ट्रपति भण्डारीको टोलिलाई अबुधाबी विमानस्थलमा युएईका मानव संसाधन तथा अमारातिकरण मन्त्री नासिर थानी अल हमेली, नेपालका लागि युएईका राजदुत शैईद हमदान अल नक्बी, नेपाली राजदुतावास युएईका कार्यवाहक राजदुत नेत्र बहादुर टण्डन, द्वितीय सचीव कृष्ण अर्याल, श्रम सहचारी हिरा यादव लगायतले स्वागत गरेका थिए।
भ्रमणको दोस्रो दिन मंगलबार राष्ट्रपति भण्डारी संग युएईका युवराज तथा सैन्य बलका सर्वोच्च कमाण्डर शेख बिन जायेद अल नैह्यमको भेटवार्ता भयो। भेटवार्तामा युवराज बिन जायदले नेपाली कामदारहरुले ईमानदारितापुर्वक काम गर्ने भन्दै प्रसंसा गरेका थिए। साथै दुई देशबिचको सुमधुर संबन्धलाई अझ प्रगाढ बनाउने विषयमा समेत छलफल भएको थियो। भेटमा युवराजले दुई देशबिचको संबन्ध आगामी दिनमा अझै प्रगाढ हुने भन्दै युएईको विकास अनुभवबाट नेपालको विकासमा सहयोग पुग्ने बताए। सोही दिन राष्ट्रपति भण्डारीले संघिय राष्ट्रिय परिषदका सभामुख डा. अम्मल अल क्विविसि संग भेटवार्ता गरिन।
भण्डारीले मंगलबार नै अबुधाबिमा गत साता मात्रै उद्घाटन गरिएको लुभ्रु संग्राहलय अवलोकन गरिन। उनलाई संग्रहालयमा त्यहाँका निर्देशक म्यानुएल रावातले स्वागत गरेका थिए। मंगलबार साँझ सहिद स्मारक पुगेर उनले शहिदहरुप्रती श्रद्धाञ्जली व्यक्त गरिन। सोही साँझ उनले मस्दार सिटि र ग्राण्ड मस्जिद भ्रमण गरिन।
राष्ट्रपति भण्डारीले बुधबार दुबई राज्यको भ्रमण गरिन। त्यसक्रममा राष्ट्रपति भण्डारीसंग युएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री तथा दुबई राज्यका प्रशाशक शेख महम्मद बिन रासिद अल मोक्तमसंग औपचारिक भेटवार्ता भयो। त्यसक्रममा दुई पक्षबिच नेपालमा लगानी भित्र्याउने विषयमा छलफल भयो।
उनले अल मोक्तनसंग नेपालमा पुर्वाधार निर्माण, जलविद्दुतको विस्तारीकरण र कृषिको व्यवसायिकरणका लागि लगानी गर्न आव्हान समेत गरिन। उपराष्ट्रपति तथा प्रधानमन्त्री मोक्तनले यस विषयमा संभाव्यता अध्यनका लागि विज्ञहरु नेपाल पठाउने बताएका थिए। भेटवार्तामा नेपाली श्रमिक कामदारहरुको विषयमा समेत छलफल भएको थियो।
राष्ट्रपती भण्डारीले सोही दिन दुबईको मानव निर्मित वाटर क्यानल (नहर) अवलोकन गरिन। उनले बुधवारै अन्तर्रा्ष्ट्रिय स्वास्थ सम्मेलनको उद्घाटन समेत गरेकी थिईन। सोहि दिन नेपाली दूतावासले अबुधाबीमा आयोजना गरेको एक कार्यक्रममा राष्ट्रपतिले युएईमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिहरुसंग भेटघाट गरिन। सो अवसरमा उनले १४ वर्ष देखि मृत्युदण्डको सजाय पाएर जेलमा मृत्युको दिन कुरि रहेका दार्चुलाका अमर बहादुर बमको सजाय माफिको लागि पहल गरेको जानकारी दिईन। राष्ट्रपति भण्डारीको टोलि बिहिवार अपरान्ह स्वदेश फर्किएको थियो।
मध्य पुर्वको एउटा विकसित राष्ट्र युएई पछिल्लो समय नेपालीहरुको निम्ति रोजगारको उत्कृष्ट गन्तव्य बन्दैछ। यहाँको भौतिक विकास, रोजगारीको अधिकतम अवसर र संभावना, संतोषजनक पारिश्रमिक, कामदारको सुरक्षा आदि कारणले यहाँ नेपालीहरुको आकर्षण क्रमशः बढ्दै गएको छ। राष्ट्रपतिसंगको भेटवार्तामा यहाँका उच्च सरकारी अधिकारीहरुले व्यक्त गरेको धारणा सुन्दा आम नेपालीहरुलाई समेत सन्तुष्टि मिलेको छ।