कुवेतमा बेचिएर एक सातासम्म अलपत्र परेकी झापाकी २४ वर्षिय रेणुका दर्जीलाई एनआरएनए युएईले मंगलबार उद्दार गरि स्वदेश फर्काएको छ ।
आकर्षक रोजगारीको प्रलोभनमा पारी उनलाई निरू विष्ट नाम गरेकी दलालले गत अक्टोबर ३० तारिख दुबईहुँदै कुवेत पुर्याएकी थिईन्।
बिर्तामोड गोलधापकी रेणुकालाई गाउँकै निरु विष्टले कुवेतमा काम लगाईने भन्दै भारतको बाटो हुँदै दुबईबाट कुवेत पुर्याएकी हुन्।
कुवेत पुगेको ६ दिनसम्म मालिक लिन नआएपछि उनी एयरपोर्ट मै अलपत्र परेर बसेकी थिईन्। सातौं दिनमा आफूलाई एक भारतीयले लिएर गएको र एउटा कोठामा राखेर क्रुर यातना दिएको उनले बताईन्। उक्त कोठामा आफू जस्तै थुप्रै नेपाली चेलिहरुलाई क्रुर यातना दिएर राख्ने र त्यहीँबाट स्थानीयको घरमा बिक्री गर्ने गरिएको उनले बताईन्।
आफू त्यहाँ बस्न नसक्ने बताएपछि भारतीयले आईतबार उनको भिसा क्यान्सिल गरि दुबई पठाएको थियो। गत आईतबार दुबई आएकी रेणुकालाई एयरपोर्टमा कार्यरत नेपाली रचना तामाङले भेटेपछि उनले एनआरएनए युएईलाई खबर गरेकी थिईन्।
कुवेतमा बेचिएर फर्किएकी नेपाली महिला दुबई एयरपोर्टमा अलपत्र परेको खबर पाउनसाथ एनआरएनए महिला संयोजक मोति राई र उपाध्यक्ष कल्पना राईले एयरपोर्ट पुगेर रेणुकाको उद्दार गरेर आफूसँगै ल्याएका थिए।
उनलाई मंगलबार दिउँसो फ्लाई दुबई मार्फत घर फर्काईएको एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले बताए। अवैधानिक रूपमा भिजिट भिसामा नेपाली महिलाहरु खाडीमा ल्याएर बिक्री गर्ने गिरोह सक्रिय रहेकाले सचेत रहन श्रेष्ठले आग्रह गरेका छन्।