नेपाली म्युजिक भिडियोको विस्तार र प्रोत्साहनका निम्ति गत वर्षबाट शुरु गरिएको ’नेपाली म्युजिक भिडियो अवार्ड’ को दोस्रो संस्करण आगामी डिसेम्बर १ तारिख युएईको अबुधाबीमा हुने भएको छ ।
नेपाल भित्र र बाहिर आयोजना हुने दर्जनौं अवार्ड कार्यक्रमहरुले नेपाली म्युजिक भिडियोका कलाकार र प्राविधिकहरुलाई समेट्न नसकेको भन्दै संगिक्षा फिल्मस र युएईको प्रतिष्ठित ट्राभल एजेन्सी नमस्ते ट्राभल्स एण्ड टुरिजमले गत वर्ष देखि नेपाली म्युजिक भिडियो अवार्ड वितरण शुरु गरेका हुन्।
नेपाली म्युजिक भिडियो अवार्डको पहिलो संस्करण गत वर्ष अबुधाबीमै आयोजना गरिएको थियो । उक्त अवार्ड कार्यक्रममा नेपालबाट ५० बढी ख्यातिप्राप्त कलाकारहरु सहभागी भएका थिए । उक्त कार्यक्रमको सफलताबाट उत्साहित बनेको आयोजकले दोस्रो संस्करण पनि अबुधाबीमै आयोजना गर्न लागेको हो ।
यस विषर्यमा जानकारी दिन शनिबार दुबईमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार संम्मेलनमा बोल्दै आयोजक नमस्ते ट्राभल्सका प्रबन्ध निर्देशक एकेन्द्र थापाले गत वर्षको अनुभव र शिकाईलाई अनुसरण गर्दै यसपटकको कार्यक्रम अझ भव्य र फरक बनाउने योजना रहेको जानकारी दिएका छन् ।
यसपटक युएईमा क्रियाशिल कलाकारहरुलाई समेत अवार्ड कार्यक्रममा समेटिएको थापाले बताए । युएईमा दर्जनौं कलाकारहरु क्रियाशिल छन् । ति मध्येबाट उत्कृष्ट पुरुष अभिनेता , उत्कृष्ट महिला अभिनेत्री , उत्कृष्ट गायक , उत्कृष्ट गायिका , उत्कृष्ट म्युजिक भिडियो लिरिक्स , उत्कृष्ट म्युजिक भिडियो निर्देशक र उत्कृष्ट अप कमिङ स्टार गरि ७ विधामा युएईका कलाकार समेटिने उनले जानकारी दिए ।
आगामी डिसेम्बर १ तारिख अबुधाबीको फल्क्लोर थिएटरमा आयोजना हुने अवार्ड वितरण समारोहमा नायिका निरुता सिंह , नम्रता सापकोटा , बेनिसा हमाल , सिपोरा गुरुङ , शंकर बिसि , प्राश्ना शाक्य , जितु नेपाल , संचारकर्मी नरेश भट्टराई लगायत ५० बढी ख्यातिप्राप्त कलाकार र प्राविधिकहरु सहभागी हुने बताईएको छ ।
यस वर्षको अगष्ट ३१ तारिख सम्ममा रिलिज भएका म्युजिक भिडियोहरुलाई जुरि मेम्बरहरुले मुल्यांकन गरेर अवार्ड प्रदान गर्ने आयोजकले जनाएको छ । जसमा संगित , भिडियो र विशेष गरि ३ पाटोमा उत्कृष्ट गायक , गायिका , अभिनेता , अभिनेत्री , संगित , निर्देशक , एरेन्जर , शब्द रचना , रेकर्डिस्ट , लोक दोहोरी लगायतका १७ बिधा समावेश छन् ।
पछिल्लो समय विस्तार भएको म्युजिक भिडियोको ट्रेण्डलाई अझ व्यवसायिक बनाई अन्तरास्ट्रिय स्तरमा विस्तार गर्न तथा संबंधित कलाकार र प्राविधिकहरुको कार्य मुल्यांकनका आधारमा पुरस्कृत गर्न म्युजिक भिडियो अवार्डको थालनी गरिएको आयोजक नमस्ते ट्राभल्सका नानुकाजी अर्यालले बताए ।