गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षका लागि वर्तमान उपाध्यक्ष हेमराज शर्माले आफ्नो उमेद्वारी घोषणा गरेका छन्।
उपाध्यक्ष शर्माले विज्ञप्ति जारी गर्दै अक्टोबरमा हुने १२ औं अधिवेशनका लागि आफ्नो उमेद्वारी घोषणा गरेका हुन्।
उनला एनआरएनए रिःब्राण्डिङका लागि अध्यक्षको उम्मेदवारी दिने उल्लेख गरेका छन्।
‘विगतमा भन्दा फरक पृष्ठभूमिको नेतृत्वलाई हेरौं। विभिन्न मुलुकमा छरिएका नेपालीलाई एकताबद्ध गर्दै, उनीहरूले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजी मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) सन् २००३ मा स्थापना भएको थियो,’ शर्माले भनेका छन्, '२२ वर्षको यात्रामा एनआरएनए नेपालभित्र र बाहिर बस्ने नेपालीहरूका लागि आशा र भरोसाको केन्द्र बन्दै गएकोछ, र साथै यस अवधिमा ९० देशमा आफ्नो औपचारिक सञ्जाल विस्तार गर्दै विश्वभर छरिएका नेपाली समुदायलाई सामूहिक चिनारी र उद्देश्यमा एकीकृत गर्न उल्लेखनीय सफलता हासिल गरेको छ।’
प्रविधिको तीव्र छलाङ, बदलिँदो राजनीतिक परिदृश्य, विश्व अर्थतन्त्रको रूपान्तरण, र दोस्रो पुस्ताका एनआरएनहरूको बढ्दो संख्याले नयाँ परिस्थितिमा ल्याइ पुर्याएको भन्दै उनले यस्तो निर्णायक मोडमा, एनआरएनए अझ सान्दर्भिक, प्रभावकारी र सबैलाई समेट्ने बनाउन समयअनुकूल रूपान्तरण हुन आवश्यक रहेको उल्लेख गरेका छन्।
‘हाम्रा विविध विचार र महत्वाकांक्षाका कारण केन्द्रीय नेतृत्वबीच अनावश्यक विभाजन हुँदा सम्पूर्ण नेपाली डायस्पोरा पनि विभाजनको अवस्थामा पुगेको छ,’ उनले भनेका छन्, 'यसका कारण नागरिकतासहितका एनआरएनएका महत्वपूर्ण मुद्दाहरू ओझेलमा परेका मात्र छैनन्, संघकै अस्तित्व नै संकटमा पर्ने हो कि भन्ने आशंका बढ्दै गएको छ।’
अहिलेकै मतभेदबीच पनि, संसारभर ८० हजारभन्दा बढी सदस्य भएका एनआरएनएले ५८ वटा राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसकेको उनको भनाइ छ ।
अक्टोबरमा काठमाडौंमा हुने १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि ४,७०० भन्दा बढी प्रतिनिधिले आवेदन दिएका र यी प्रतिनिधिहरू संस्थालाई उज्वल भविष्यतर्फ डोर्याउन सक्षम नेतृत्वको खोजीमा रहेको समेत उनले बताएका छन्।
‘अहिलेकै चुनौतीहरूलाई नम्रतापूर्वक स्वीकार्दै, मैले २०२५–२०२७ कार्यकालका लागि एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ उनी भन्छन्, 'एनआरएनएको रिब्रान्डिङ गर्दै यस संस्थालाई सबैले अपनत्व महसुस गर्ने र पुस्तौँसम्म रहने धरोहर संस्थामा रूपान्तरण गर्नु मेरो मुख्य योजना हुनेछ।’
आफू एकीकृत, समावेशी, प्रविधिमैत्री, नतिजामुखी, दिगो, सबल, जवाफदेही, पारदर्शी र बहुआयामिक एनआरएनए निर्माणमा केन्द्रित हुने समेत उनले उल्लेख गरेका छन्।
मातृभूमि नेपालका लागि डायस्पोराका नेपालीहरूको सीप, ज्ञान, नवप्रवर्तन र आर्थिक लगानी भित्र्याउने वातावरण तयार पार्ने, सुरक्षित वैदेशिक रोजगार सुनिश्चित गर्न सहयोग गर्ने तथा नेपाल सरकार र अन्तर्राष्ट्रिय संस्थासँगको साझेदारी सुदृढ गर्ने विषयमा पनि विशेष ध्यान दिने उनको प्रतिबद्धता छ।
‘संघलाई आर्थिक, राजनीतिक र अन्य बाह्य नकारात्मक प्रभावबाट संघलाई जोगाउन अन्तर्राष्ट्रिय समन्वय परिषद्को नेतृत्व चयन सम्पूर्ण पञ्जीकृत सदस्यहरूको प्रत्यक्ष मतदानबाट गर्ने व्यवस्था सहित अन्य संस्थागत संरचनामा आमूल परिवर्तन गर्न अग्रसर हुनेछु,’ विज्ञप्तिमा उनले भनेका छन्, 'म केवल सुधारको एजेन्डा लिएर मात्र आएको छैन, संसारभर छरिएका नेपाली डायस्पोराका चाहनाअनुसार एनआरएनालाई साँच्चिकै विश्वव्यापी, समावेशी, निष्ठामा आधारित र गतिशील संस्था बनाउन स्पष्ट रोडम्यापसहित आएको छुँ।’
आफ्नो फरक पृष्ठभूमी भएकोले विगतमा भन्दा फरक दृष्टिकोणसहित एनआरएनलाई नयाँ दिशातर्फ लैजान तयार रहेको उनको भनाइ छ।