गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) दक्षिण कोरियाले दक्षिण कोरियामा रहेका नेपाली श्रमिक र विद्यार्थीहरूको समस्या समाधान र सहजीकरणका लागि श्रमिक–विद्यार्थी हेल्प डेस्क सञ्चालनमा ल्याउने भएको छ।
विपिन कुमार गुरूङको नेतृत्वमा रहेको एनआरएनए दक्षिण कोरियाले आफ्नो प्रतिबद्धता अनुसार हेल्प डेस्क सञ्चालनमा ल्याउन लागेको जनाएको छ।
१७ अगस्ट २०२५ आइतबार सउलको दोङदेमुनमा उद्घाटन गर्ने मिति तोकेको छ।
दक्षिण कोरियामा पछिल्लो समय नेपाली श्रमिक र विद्यार्थीहरूको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ।
उनीहरूले भोग्नु परेका समस्या बढिरहेको र ती समस्याहरू समाधान तथा सहजीकरणका लागि हेल्प डेस्कले सहयोग गर्ने संघका महासचिव अजय सोडारीले बताए।
हेल्प डेस्कमा कोरियन कानूनी व्यवसायी राखिएको र संघको कार्यसमितिबाट केही व्यक्ति खटाइने उल्लेख गरिएको छ।
हेल्प डेस्कमार्फत श्रमिक तथा विद्यार्थीहरूले भोगेका भाषागत समस्या, कानूनी जटिलता, स्वास्थ्यसम्बन्धी विषयहरू, कम्पनी भित्रको विभेद, कम्पनी दुर्घटना, भिसा, अध्ययनसम्बन्धी परामर्शहरू तुरून्तै प्राप्त गर्न सक्नेछन्।