गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष हेमराज शर्माले संघभित्र एकता कायम गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।
नेदरल्याण्डको बोसनमा आइतबार साँझ आयोजित एक कार्यक्रममा गैरआवासीय नेपालीहरूलाई सम्बोधन गर्दै शर्माले संघमा एकता स्थापनाका लागि प्रक्रियागत ढंगले अघि बढ्नुपर्नेमा जोड दिए।
‘संघको विधानले जुलाई महिनाभित्र राष्ट्रिय समितिहरूको निर्वाचन गर्न अनिवार्य गरेको छ,’ उनले भने, ‘त्यसका लागि एमआइएस प्रणालीमार्फत सदस्यता लिनुपर्ने कानुनी व्यवस्था छ। त्यसैले कसैले पनि विधान बाहिर गएर अधिवेशन गर्न पाउँदैन।’
जापान, अमेरिका, अस्ट्रेलिया लगायत देशमा उत्साहजनक रूपमा सदस्यता वितरण भइरहेको उल्लेख गर्दै उनले थोरै सदस्य संख्या भएका राष्ट्रिय समितिहरूलाई अलमलमा नपरी एमआइएस प्रणालीबाट सदस्यता लिन आग्रह गरे।
संघभित्रको आन्तरिक विवाद समाधानका लागि अनौपचारिक छलफलहरू भइरहेको जानकारी दिँदै शर्माले भने, ‘हामी एकताकै पक्षमा छौं, तर अस्थायी र टालटुले एकता गरेर फेरि १० औं महाधिवेशनमा तीन अध्यक्ष बनाउनेजस्तो गल्ती हुन नदिन दिगो एकताको खोजीमा छलफल आवश्यक छ।’
कार्यक्रममा गैरआवासीय नेपाली संघका प्रवक्ता फणिन्द्र पन्तले सञ्चालन गरेका थिए।
सहभागीहरूले संघको आन्तरिक एकता र आसन्न राष्ट्रिय महाधिवेशनसम्बन्धी आ–आफ्ना धारणा राखेका थिए।
उक्त कार्यक्रममा एनआरएनए नेदरल्याण्डका संस्थापक अध्यक्ष शशी पौडेल, उपाध्यक्षहरू रामचन्द्र पोखरेल, संघर्ष केसी, महासचिव सावित्री पौडेल, सदस्यहरू अमिर गुरूङ, धनबहादुर बोहोरा, राम पौडेल, मानार्थ परिषद सदस्य टिकाराम सापकोटा तथा प्रवासी मञ्च नेदरल्याण्डका अध्यक्ष केशवराज पाण्डे लगायतको उपस्थिति थियो।