अमेरिकाको चेतावनीका बाबजुद इसराइलले गजामा आक्रमण गरेको छ।
गजामा युद्धविरामका लागि मंगलबारदेखिको प्रयास बिफल भएपछि बिहीबार राति इसराइलले राफामा आक्रमण गरेको हो।
अमेरिका र कतारको पहलमा इसराइल र हमासबीच युद्धिबिरामका लागि मंगलबारदेखि इजिप्टमा छलफल जारी थियो।
छलफलले निचोड ननिकाले हमास लडाकुहरुलाई लक्षित गर्दै राफामा आक्रमण गर्न इसराइलले यसअघि नै घोषणा गरिसकेको थियो। त्यहाँ हमास लडाकुहरू लुकेर बसेको दाबी गर्दै उसले राफामा आक्रमण गर्ने भनेका थियो।
गजामा हजारौं संख्यामा प्यालेस्टिनी नागरिकहरू त्यसमा पनि बालबालिका र महिलाहरूको बढी मृत्यु भएपछि इसराइलमाथि युद्धविरामका लागि कतार, इजिप्ट र कतारले प्रयास गरेका थिए।
अमेरिकाले ठूलो संख्यामा मृत्यु भएको भन्दै राफामा आक्रमण नगर्न इसराइललाई आग्रह गरेको थियो। त्यसका बाबजुद इसराइलले आक्रमण गर्ने भनेपछि बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिँदै राफामा आक्रमण गरे इसराइललाई हतियार उपलब्ध नगराउने भनेको थियो।
'इसराइललाई सुरक्षित तुल्याउन अमेरिका प्रतिबद्ध छ तर उसले राफामा आक्रमण गरे हामी हतियारको सप्लाई बन्द गर्छौं,' राष्ट्रपति बाइडेनले भनेका छन्।
त्यसका बाबजुद पनि इसराइलले राफामा आक्रमण गरेको हो।
जवाफमा इसराइली प्रधानमन्त्री बेन्यामिन नेतेन्याहुले इसराइल गजाबाट हमास नष्ट पार्ने प्रतिबद्धताबाट पछि नहट्ने जवाफ दिएका छन्।
‘जरूरत परेको अवस्थामा हमासविरूद्ध हामी एक्लै खडा हुन्छौं। इसराइल आफ्नै बलबुतामा अन्तिम साससम्म एक्लै लड्छ। आफ्नो लक्ष्य हासिल गर्न हामी बलियो छौं,’ उनले भने।
रोयटर्सका अनुसार आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा अल मुजाहिद्धिनका कमाण्डर र उनका परिवार र हमास लडाकु ग्रुपको अर्का कमाण्डर र उनका परिवार मारिएको रोयटर्सले उल्लेख गरेको छ।
अक्टोबर ७ मा इसराइलमाथि हमासले आक्रमण गर्दा १० जना नेपालीसहित १२ सय जनाको मृत्यु भएको थियो। त्यतिबेला विपिन जोशीसहित २४९ जनालाई हमासले बन्दी बनाएर गजा पुर्याएको थियो।
त्यसयता इसराइलले लगातार गजामा आक्रमण गर्दै आएको छ।
बीचमा केही दिन युद्धबिराम भएपनि हमासले सबै बन्दी नछाडेपछि इसराइलले पुन आक्रमण बढाएको थियो। गजामा अझै १३० जना भन्दा बढी हमासको बन्धकमा रहेको बताइएको छ।
गजामा इसराइलको आक्रमणबाट अहिलेसम्म ३५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ८० हजारभन्दा बढी घाइते भएका छन्।
पछिल्लो समय इजिप्टमार्फत युद्धविरामको प्रयास भएपनि तत्कालका लागि बिफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।