न्युजिल्यान्डको अकल्यान्डमा पहिलोपटक नेपाल महोत्सवको आयोजना गरिएको छ।
उक्त महोत्सवको न्युजिल्यान्ड समेत हेर्ने अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले उद्घाटन गरेकी हुन्।
राजदूत शेर्पाले नेपाल र न्युजिल्यान्डबीचको आपसी सम्बन्ध ऐतिहासिक रहेको र यस्ता महोत्सवहरूले आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने बताइन्।
नेपाली कला संस्कृति झल्कने झाँकी, लाखे नाच, म:म: र सेलरोटीको परिकारलगायतले महोत्सवमा नेपालीपन झल्किएको थियो।
स्थानीय कलाकारहरूले आफ्नो मौलिक कला संस्कृति पस्केको कार्यक्रममा नेपालको सांगीतिक समूह कुटुम्बको विशेष प्रस्तुती रहेको थियो। कुटुम्बको नेपाली धूनलाई न्युजिल्यान्डवासीले निकै चाख दिएर सुनेका थिए।
आयोजक संस्था न्युजिल्यान्ड नेपाल सोसाइटीका अनुसार उक्त फेस्टिबलमा करिब दस हजारले नेपाल चिनाउने नेपाल हाउस र स्टलहरूको अवलोकन गरेका थिए ।
केही पहिलेदेखिनै दुई देशबीच व्यापार र पर्यटन प्रवर्द्धन गर्न मेला महोत्सवहरू आयोजना गर्न प्रयास गरिँदै आएको थियो।
तर, यस पटक भने न्युजिल्यान्डको अकल्यान्डमा नेपाल महोत्सवको आयोजना गरिएको हो।