सहिद परिवार
'म गएँ है बुबा!'
त्यस दिन बिहान कलेज जाने बेला श्रीयम चौलागाईंले भनेको यो वाक्य उनका बुबा गणेश चौलागाईंको कानमा गुञ्जिरहन्छ।
यो भदौ २३ गतेको घटना हो।
नयाँबानेश्वरको ग्लोबल कलेजमा १२ कक्षा पढिरहेका श्रीयम हरेक दिन बिहान ५ बजे घरबाट निस्कन्थे। कलेज बसमै आउजाउ गर्थे। सधैं घरबाट निस्कने बेला उनको मुखबाट त्यही वाक्य निस्कन्थ्यो — म गएँ है बुबा!
बिहान त अहिले पनि हुन्छ। पाँच अहिले पनि बज्छ। ग्लोबल कलेजको बस अहिले पनि घर अगाडिबाट गुज्रन्छ। तर श्रीयमको स्वर गणेशको कानमा पर्दैन।
त्यस दिन बस चढेर कलेज गएका श्रीयम फर्केर आएनन्।
फर्किने बेला श्रीयम र उनका केही साथी नयाँबानेश्वरमै झरेका रहेछन्। र, जेनजी आन्दोलनमा मिसिएका रहेछन्।
आन्दोलन क्रममा साढे दुई बजेतिर उनलाई गोली लाग्यो र ट्रमा सेन्टर पुर्याइयो।
गणेश त्यति बेला कोटेश्वरको आफ्नै कार्यालयमा बसिरहेका थिए।
कलेज गएको छोरालाई गोली लागेर अस्पताल पुर्याइयो भन्ने खबरले उनी थरथरी कामे। खुट्टाधरि टेक्न सकेनन्। कार्यालयबाट अस्पताल कसरी पुगे भन्ने उनलाई नै थाहा छैन।
'कलेज बसले जहाँ पायो त्यहाँ झर्न दिनु हुँदैनथ्यो,' गणेशले भने, 'त्यत्रो आन्दोलनको दिन बसबाट झर्छु भन्दा ढोका खोलिदिनु नै गल्ती भयो। त्यही गल्तीले मेरो छोराको ज्यान गयो।'
स्कुल युनिफर्ममै प्रहरी गोलीको सिकार भएका १८ वर्षीय श्रीयम परिवारका दोस्रो सन्तान हुन्। उनकी दिदीको विवाह भइसकेको छ। श्रीयम आमाबुबासँग काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा डेरा गरेर बस्थे।
गणेश पेसाले यातायात व्यवसायी हुन्। मोरङको उर्लाबारी नगरपालिका-११ मा पुर्ख्यौली घर भएका उनीहरू दुई वर्षअघि मात्र काठमाडौं आएका हुन्।
श्रीयमले सुनसरीको इटहरीस्थित मकालु सेकेन्डरी बोर्डिङ स्कुलबाट दुई वर्षअघि एसइई दिएका थिए। छोराको पढाइकै सिलसिलमा काठमाडौं आएको गणेश बताउँछन्।
व्यवस्थापन विषय पढिरहेका श्रीयम जेहेन्दार विद्यार्थीका रूपमा चिनिन्थे। कुनै पनि राजनीतिक गतिविधिमा आबद्ध थिएनन्। त्यस्ता कुनै कार्यक्रममा सहभागी गएको पनि गणेशलाई थाहा छैन।
'नियमित कलेज जाने-आउने र दिनभरि घरमै बसेर पढ्ने श्रीयमको दैनिकी थियो,' उनले भने, 'त्यो दिन पनि आन्दोलनमा जाने कुरा गरेको थिएन। सधैंझैं बिहान उठेर तयार भइवरी 'म गएँ है बुबा' भनेर घरबाट निस्केको थियो।'
'अहिले पनि म आएँ है बुबा भनेर टुप्लुक्क घरमा आइपुग्छ कि जस्तो लागिरहन्छ,' उनले भने।
पछिल्लो दुई महिनामा उनी धेरैचोटि छोराको झझल्को आएर उनको कोठामा छिरेका छन्। कहिलेकाहीँ त बिहान छोराको स्वर नसुनेर 'आज किन उठ्न ढिला गरेछ' भन्दै उनको कोठामा जान्छन्।
'छोराको ओछ्यान खाली देखेपछि म झस्किन्छु, अनि बल्ल मलाई होस आउँछ,' गणेशले भने, 'यत्रो व्यथा बोकेर कसरी बाँच्ने हो?'
पढाइमा राम्रो भएकाले मोरङबाट काठमाडौं आएर राम्रो कलेजमा भर्ना गराएका छोरालाई लिएर गणेशले ठूलो सपना साँचेका थिए। तर ती सपनाहरू पलभरमै बालुवाको घरझैं भताभुंग भए। भदौ २३ गते नयाँबानेश्वरको गोलीकाण्डले आफ्नो जिन्दगीको आशा नै धुजा धुजा पारिदिएको उनी बताउँछन्।
कलेजले अभिभावकको अनुमतिबिना विद्यार्थीलाई अन्यत्र छाड्नु नै गल्ती भएको बताउने गणेश भन्छन्, 'कलेजले आफ्नो गल्ती स्वीकार गरिसकेको छ। उनीहरूले कलेज परिसरमा श्रीयमको सालिक बनाउने, एक जनालाई रोजगारी दिने र श्रीयमको नामबाट प्रत्येक वर्ष एक जना विद्यार्थीलाई नि:शुल्क पठाउने प्रतिबद्धता व्यक्त गरेको छ।'
जीवनको सर्वस्व नै गुमिसकेपछि बढी वादविवादमा अल्झिरहनुभन्दा कलेजको प्रस्ताव स्वीकार गरेको उनको भनाइ छ।
'हामीले आफ्नो छोरा गुमाइसक्यौं। अब चाहेर पनि उसलाई फर्काउन सक्दैनौं,' उनले भने, 'छोराको सट्टा अरू कसैले त्यहाँ पढेर भविष्य उज्ज्वल बनाउने अवसर पाओस् भन्ने मेरो चाहना हो।'
उनका अनुसार कलेजले परिवारका एक जना सदस्यलाई पुस्तकालयमा रोजगारी दिने प्रतिबद्धता व्यक्त गरेको छ।
'श्रीयमकी आमा छोरा सम्झेर साह्रै विक्षिप्त भएकी छन्। काम गरिन् भने आफूलाई भुलाउने बाटो हुन्छ भनेर उसैलाई त्यहाँ जागिर खाऊ भनेर सम्झाइरहेको छु,' उनले भने।
आफ्नो छोराको मृत्युलाई सार्थक बनाउन जेन-जी सहिद परिवार सघर्ष समितिमा पनि उनी आबद्ध छन्। मृतकको परिवारलाई न्याय महसुस गराउन समिति लागिपरेको उनी बताउँछन्। भदौ २३ को घटनाका दोषीहरूलाई कारबाही, मृतक परिवारलाई नि:शुल्क शिक्षा, स्वास्थ्य र पेन्सन माग गरिएको छ।
सबभन्दा ठूलो कुरा त, जुन उद्देश्यका लागि श्रीयम र अरू थुप्रै नवजवानले ज्यान दिए, त्यो उद्देश्यअनुरूप देश बनाउन सरकार र राजनीतिक दलहरू एकजुट भए हुन्थ्यो भन्ने उनको कामना छ।
'सरकारले दिएको राहतले हाम्रो मन शान्त हुने होइन, मन बुझाउने बाटो चाहिँ बन्न सक्छ। तर अहिलेको अवस्था हेर्दा आन्दोलनमा ज्यान गुमाएकाहरूको योगदान खेर जाला कि भन्ने पनि डर लाग्दैछ,' उनले भने।
***