नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले भदौ २३ को जेनजी आन्दोलनपछि राजीनामा दिएका थिए।
स्कुले पोसाकमा रहेका विद्यार्थीमाथि आफ्नै मातृ पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गोली चलाएपछि नैतिकताका आधारमा राजीनामा दिएको उनको भनाइ थियो।
त्यसयता राजनीतिक दलहरू निस्क्रिय रहुञ्जेल चुपचाप बसेका डा. कडरिया राजनीतिक गतिविधि बढ्न थालेसँगै संगठनमा फर्कने प्रयासमा लागेको भन्दै विवाद उत्पन्न भएको छ।
गत कात्तिक २४ गते एमालेले सञ्चालन गरेको 'घर फर्क अभियान' का दिन उनी मोटरसाइकल र्याली र दलबलसहित राष्ट्रिय सभागृह पुगेका थिए।
त्यही कार्यक्रमका दिन भृकुटीमण्डपस्थित अखिल कार्यालय पुगेर अध्यक्षको कार्यकक्षसमेत प्रवेश गरे।
त्यसपछि महासचिव दीपक धामीसहित संगठनका नेताले उनको प्रतिवाद गरेका छन् भने संगठनका उपमहासचिव कमल जोशीले उनको समर्थन गरेका छन्।
महासचिव धामीले कडरिया पदमा फर्कनु संगठनको आचरणभित्र नपर्ने बताए।
उनले सेतोपाटीसँग कुरा गर्दै कडरियालाई संगठनले नचिन्ने टिप्पणी गरे। सँगसँगै, अध्यक्ष हुँ भनेर भ्रम छर्ने काम भइरहेको भन्दै निन्दा र भर्त्सना पनि गरे।
'उहाँले त राजीनामा दिएर हिँड्नुभएको थियो, फेरि म त फर्किएँ भन्दै कार्यालय प्रवेश गर्नुभएछ। राजीनामा दिएर हिँडेको कार्यालयमा कुन नैतिकताले प्रवेश गर्नुभएको हो? नेमप्लेट राख्नुभएको हो? हामी त आश्चर्यमा परेका छौं,' उनले भने, 'उहाँले अब अखिलको कार्यालयतिर फर्किएर पनि हेर्ने होइन।'
'भदौ २४ गते एमालेका नेता–कार्यकर्ताको घर जलिरहँदा र पार्टी नै गम्भीर मोडमा पुगेका बेला उहाँ पिठ्युँ फर्काएर भाग्नुभयो। अहिले सहज अवस्थामा नेतृत्व दाबी गर्न आउनुभएको छ। यस्तो प्रवृत्तिलाई पार्टी र अनेरास्ववियुले स्वीकार गर्दैन,' धामीले भने।
उनले अगाडि भने, 'हिजो उहाँलाई कसैले राजीनामा दे भनेको होइन। संगठनले भनेको पनि होइन। उहाँले आफूखुसी राजीनामा दिनुभएको हो। राजीनामा दिएपछि कहिले स्वेच्छाले दिएँ भन्नुभयो। कहिले कुटपिट भयो भन्नुभयो। कहिले घर जलाइदिन्छु भनेपछि बाध्य भएर राजीनामा दिएँ भन्नुभयो। जतिखेर मन लाग्छ जाने, फेरि आउने के हो? खेलाँची त गर्न मिलेन नि! उहाँले संगठनको विधि, परम्परा, मूल्य नै बुझ्नुभएको रहेनछ!'
कडरियाले राजनीतिक रूपले नैतिकता गुमाइसकेकाले फेरि अध्यक्ष मै हुँ भन्नु तर्कसंगत नहुने उनले बताए। घरपरिवार, निजी सम्पत्ति र जीउधन प्रिय हुने मानिस संगठनतिर लाग्नै नहुने भन्दै कार्यालयतिर नआउन पनि सुझाए।
'ज्ञानेन्द्र शाहले नारायणहिटी देखे भने म राजा हुँ भनेर हुन्छ र! नारायणहिटी त संग्रहालय भइसक्यो नि! सुजन कडरियाले पनि अखिलको अध्यक्षबाट २४ गते राजीनामा दिइसकेकाले अखिलले उहाँलाई चिन्दै चिन्दैन,' उनले भने।
महासचिव धामीले अनेरास्ववियुभित्रको विवाद एक–दुई दिनमै निरूपण हुने बताए। केही दिनमा पदाधिकारी बैठक बसेर विधि तय गरिने उनको भनाइ छ।
'एक-दुई दिनमै बैठकबाट अहिलेको विवाद निरूपण हुन्छ। नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक किसिमले कुरा गरिसक्नुभएको छ। अब तपाईंहरू मिलेर जानुस् भन्ने कुरा भएको छ। उपाध्यक्ष, महासचिव हामी सबै मिलेर नेतृत्व चयनको दिशा तय गर्नुपर्ने भएको छ,' उनले भने।
उनले सुजन कडरियाले केन्द्रीय कमिटी बैठक खोजिरहेको उल्लेख गर्दै यो पनि अनावश्यक तर्क भएको बताए।
'राजीनामा दिएको मान्छेले केन्द्रीय कमिटी किन खोज्नु! केन्द्रीय कमिटीले राजीनामा दिनु भनेको थियो र! अनैतिक हिसाबले लाग्नु हुँदैन,' उनले भने।
चुनौतीपूर्ण समयमा अध्यक्षले राजीनामा दिँदा संगठन धराशायी बनेको, जिल्ला र मातहतका कमिटीमा राजीनामाको लहर चलेको बताउँदै उनले यस्ता प्रवृत्तिलाई संगठनले जहिल्यै निरूत्साहित गर्नुपर्ने उल्लेख गरे।
'चुनौतीपूर्ण समयमा संगठनमा नेतृत्व गर्नुपर्ने बेला उहाँ भाग्नुभयो। आफ्नो सम्पत्ति जोगाउन लाग्नुभयो। व्यक्तिगत जीवनको रक्षा महत्त्वपूर्ण बन्ने मानिस त संगठनमा लाग्नै भएन,' उनले भने।
डा. कडरिया गत जेठमा भएको अनेरास्ववियुको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। उनी पार्टी संस्थापन पक्षको निकट भएकाले त्यति बेला चुनाव जितेका थिए।
उनी पार्टीमा महासचिव शंकर पोखरेल, जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल लगायत नेताका प्रिय मानिन्थे। अहिले पनि उनीहरूकै जोडबलमा कडरिया संगठनमा फर्कने प्रयत्न गरिरहेका हुन्।
उनी म्याग्दीका प्रकाश पौडेललाई जम्मा सात मतान्तरले हराउँदै अध्यक्ष निर्वाचित भएका थिए।
महाधिवेशनअघि कडरिया र प्रकाश पौडेल दुवै सचिव थिए। संगठनको ३२ वर्षे उमेर हदका कारण अधिकांश पदाधिकारी बिदा भएपछि कडरिया र पौडेल प्रतिस्पर्धा गर्ने स्थिति बनेको थियो।