भदौ २३ र २४ को जेनजी आन्दोलनपछि अधिकांश राजनीतिक दलहरू चुनावको तयारीमा छन्। नेकपा एमाले बाहेकका दलले फागुन २१ का लागि घोषित निर्वाचनमा भाग लिने सन्देश दिइसकेका छन्।
यसबीच जेनजी प्रतिनिधिहरू राजनीतिमा होमिन्छन् कि होमिँदैनन्, नयाँ दल खोल्छन् कि पुरानैमा समाहित हुन्छन् भन्ने धेरैको चासोको विषय बनेको छ।
जेनजी आन्दोलनपछि भदौ २४ गते मध्यरात प्रधानसेनापतिसँग वार्ता गर्न जानेदेखि विभिन्न तहमा राजनीतिक छलफल गर्नेमध्ये एक हुन्, रक्षा बम।
नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षासँग हामीले आउँदो निर्वाचनलाई लिएर उनको तयारीबारे कुराकानी गरेका छौं —
तपाईं संयोजक रहेको नेपाल जेनजी फ्रन्ट के हो र यसका उद्देश्य के हुन्?
जेनजी आन्दोलन बेला सडकमा आएका युवाहरूलाई एकै ठाउँ ल्याएर आन्दोलनलाई वैधानिकता दिन 'नेपाल जेनजी फ्रन्ट' बनेको हो। राज्य पक्षसँग सम्झौता गर्न र विभिन्न समूहका माग एकीकृत गर्न हामीले जेनजी फ्रन्ट स्थापना गरेका हौं।
विचार मिल्नेहरूलाई एकै ठाउँ ल्याएर सकारात्मक 'सिन्डिकेट' बनाउन सकियो भने परिणाम राम्रै होला भन्ने हाम्रो आशा छ। एउटा लोकतान्त्रिक शक्ति बनायौं भने भोलिका दिनमा यो आन्दोलन संस्थागत गर्न पनि राम्रो होला भनेर एकीकृत भएका हौं।
अहिले हामी जिल्ला र प्रदेश स्तरमा परिचालन भइरहेका छौं। विभिन्न जेनजी समूहका फरक फरक विचार होलान्, तर एकै प्रकारका विचार बोकेका साथीहरू मिल्न सकिन्छ भनेर कोसिस गरिरहेका छौं। यसका लागि प्रदेश र जिल्ला तहमा टिम बनाउँदैछौं। यी टिमले नागरिक समाजका रूपमा निरन्तर प्रश्न सोध्ने, निरन्तर झकझक्याउने र निरन्तर जबाफदेहिता माग गर्ने उद्देश्यका साथ अघि बढेका छौं।
जेनजी आन्दोलनलाई अपराधीकरण नगरियोस् भनेर राजनीतिक आन्दोलनका रूपमा संस्थागत गर्न सरकारसँग सम्झौता गर्ने तयारी पनि गरिरहेका छौं।
आउँदो फागुन २१ गते जेनजी फ्रन्टले दल खोलेर चुनावमा भाग लिन्छ कि लिँदैन? तपाईं आफै चुनाव लड्नुहुन्छ कि हुन्न?
अहिलेसम्म चुनाव लड्ने कि नलड्ने भनेर सोचिसकेकी छैन। मलाई जेनजी साथीहरू चुनावमा आउनुपर्छ भन्ने लाग्छ।
चुनाव भनेको भावनात्मक मात्र होइन, प्राविधिक विषय पनि हो। सबै मिल्यो भने सम्भावना देख्छु। त्यसैले असम्भव छ भनेर भन्दिनँ। तर अहिलेसम्म चुनावमा जाने कि नजाने भनेर सोच बनाइसकेको वा निर्णय गरिसकेको छैन।
सक्रिय राजनीतिमा आउँदै गर्दा मैले एउटा कुरा के बुझ्नुपर्छ भने, अहिलेको उमेरमा मैले व्यक्तिगत रूपमा केही कमाइसकेको छैन। सामाजिक पुँजी होला, तर घरपरिवारका लागि आर्थिक रूपमा केही गरिसकेकी छैन। त्यसलाई ध्यानमा राखेर के म सबथोक त्याग गरी राजनीतिमा आउन तयार छु त? म अहिले यो प्रश्न आफैलाई गरिरहेकी छु।
हामी सुशासनका लागि लडेर आएका हौं। हामीलाई भ्रष्टाचार गर्ने छुट छँदै छैन। हामीले नयाँ राजनीतिक दल खोलेर पार्टीगत रूपमा अघि आउने निर्णय गर्दा व्यक्तिगत र संस्थागत आर्थिक पक्षमा पनि ध्यान दिन जरूरी छ भन्ने मलाई लाग्छ।
राजनीतिक दल चलाउन आर्थिक स्रोत जुटाउने लगायतका विविध विषय महत्त्वपूर्ण हुने रहेछन्। म यस्ता कुरामा गम्भीर छलफल गरिरहेका छौं।
फुलटाइम राजनीति गर्ने कि पार्टटाइम गर्ने भन्नेमा दुबिधा हो?
म आफूलाई बारम्बार एउटा प्रश्न सोधिरहेकी छु — राजनीतिक ट्र्याकका लागि म तयार छु कि छैन?
अहिलेसम्म यो प्रश्नको जबाफमा म स्पष्ट भइसकेकी छैन। म अझै विचार गर्दैछु। यो ट्र्याकमा हिँड्न म तयार भइसकेको छैन भन्ने लाग्यो भने समय लिन्छु। तर यसको अर्थ मेरो राजनीतिक आकांक्षा हुँदैन वा छैन भन्ने होइन। खाली फुलटाइम लाग्न समय लिन्छु भन्न खोजेको हो। त्यो अवस्थामा सडकमै बसेर नागरिक समाजका रूपमा निरन्तर प्रश्न सोध्ने ठाउँमा म आफूलाई देख्छु।
म राजनीतिक रूपमा सचेत छु र मेरो राजनीतिक आकांक्षा पनि छ। तर फुलटाइम राजनीतिमा लाग्न जुन त्यागको खाँचो पर्छ, त्यसका लागि म स्वयं र अरू युवा साथीहरू तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने अहिलेको मूल प्रश्न हो। अरू युवा साथीहरूले पनि आफैलाई यो प्रश्न सोध्न जरूरी छ भन्ने मलाई लाग्छ।
सरकार गठन भएको लगभग दुई महिना भयो। सरकारको काम-कारबाही कस्तो लागिरहेको छ?
अन्तरिम सरकारबाट योभन्दा बढी आशा के नै गर्ने र? यो सरकार सीमित समयका लागि गठन भएको हो। यसको प्रमुख म्यान्डेट भनेकै चुनाव हो। यसले गर्नुपर्ने भनेको चुनाव नै हो।
जहाँसम्म हामीले उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनका मुद्दा छन्, त्यो एक-दुई दिनमा वा ६ महिनामा निर्मूल हुने कुरा होइन। त्यो सम्भव छैन। हामी यति मात्र भन्न सक्छौं — २०८२ सालबाट नेपालमा सुशासनको यात्रा सुरू भयो!
यति हुँदाहुँदै अहिलेको सरकारले सुशासन कायम होस् भनेर हरसम्भव काम गरिरहेको छ। सामाजिक सञ्जालमा उठेका आवाजलाई सम्बोधन गर्न पनि यो सरकारले काम गरिरहेकै छ। मन्त्री बनाउँदा कतिपयको नाम आए, विवादित पृष्ठभूमिको देखिएपछि पुनर्विचार गर्नेसम्मका काम भएका छन्। त्यसलाई सकारात्मक मान्नुपर्छ।
पछिल्लो समय राजनीतिक दलहरूका गतिविधि पनि बढेका छन्। यसलाई कसरी हेर्नुभएको छ?
राजनीतिक दलहरूका प्रतिनिधिसँग पनि विभिन्न प्लेटफर्ममा हाम्रो भेट भइरहेको छ। केही नेतासँग हामीले कुराकानी पनि गर्यौं। सबैले चुनावलाई सकारात्मक रूपमा हेर्नुभएको छ। एमाले बाहेक अन्य दलका नेताहरू सकारात्मक नै हुनुहुन्छ। एमालेले भने संसद पुनर्स्थापनाको धारणा राखेको छ।
एमालेले चुनावलाई समर्थन नगर्नु स्वाभाविक पनि हो। दुई-तिहाइको सरकार दुई दिनको आन्दोलनले गुम्यो। त्यही झट्का लागेकाले पनि होला, उहाँहरू चुनाव हुँदैन भनिरहनुभएको छ। उहाँहरूले जे जति गरे पनि हामी चुनावबाट पछि हट्दैनौं। हामीले कांग्रेस, एमाले लगायतका दलमा पुनर्संरचनाको आवश्यकता पनि देखेका छौं।
अर्को दु:ख लागेको कुरा चाहिँ के भने, यति ठूलो राजनीतिक परिवर्तन हुँदा पनि उहाँहरू भदौ २४ को घटनालाई ठूलो उथलपुथल मान्नुहुन्छ तर भदौ २३ को घटनालाई केही होइन जसरी वर्णन गर्नुहुन्छ। भदौ २३ को घटनामा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जलीबाहेक केही दिनुहुन्न। भदौ २४ को घटनालाई भने आतंककारी जस्तो व्यवहार गर्नुहुन्छ।
हाम्रो एउटै भनाइ छ — सुरूमा २३ गते आएको हो र त्यसैको परिणामले २४ गतेको घटना भएको हो। यो तथ्य कसैले नबिर्सौं। यसलाई याद राखेर अगाडि बढ्ने हो भने अहिलेका धेरै उल्झन साम्य हुन्छन् भन्ने मलाई लाग्छ।
अहिले राजनीतिक दलहरू फुट्ने र जुट्ने पनि भइरहेका छन्। यसलाई कसरी हेर्नुभएको छ?
यो आन्दोलनले ठूला दलहरूलाई 'डिसक्रेडिट' गरेको छ। उहाँहरू पहिचानको खोजीमा हुनुहुन्छ। दलहरू टुट्ने र फुट्ने कारण यही होला भन्ने लाग्छ।
राजनीतिक दलका नेताहरू आफूले यस्तो त्याग गर्यौं, उस्तो गर्यौं, सबै जना राष्ट्र निर्माणमा लाग्यौं भन्नुहुन्छ। त्यसो भए अहिलेको अवस्था कसरी आयो त? कसै न कसैले बिगार गरेकै होलान् नि! उहाँहरूले आफ्ना गल्ती-कमजोरीको जिम्मेवारी लिनुपर्छ।
नेपालमा भएको समस्या के हो भन्ने लाग्छ?
सत्तामा पुगेपछि हरेक व्यक्तिले सत्ताकै नजरले अरूलाई हेर्दा रहेछन्। कुर्सीमा चाहे सुशीला कार्की होऊन् वा केपी ओली, शेरबहादुर देउवा वा प्रचण्ड; सत्तामा पुगेपछि उहाँहरूले आफूलाई सर्वोच्च व्यक्तिका रूपमा लिनुहुँदो रहेछ भन्ने मैले बुझेँ।
जबसम्म यस्तो राजनीतिक शैली र संस्कार परिवर्तन हुँदैन, तबसम्म म आफै सत्तामा पुगे पनि उही हुन्छ। त्यो परिवर्तन नभएसम्म ठूलो केपी ओली हटेर सानो केपी ओली आउने मात्र हो। हामीले ठूलो केपी ओलीको ठाउँमा सानो केपी ओली खोजेका होइनौं।
समस्या राजनीतिमा मात्र छैन। कर्मचारीतन्त्र र युवाहरूमा समेत समस्या देखिएका छन्। हामीले पनि यही संस्कार अघिल्लो पुस्ताबाट सिकेका हौं। युवा पुस्तामा पनि एक खालको 'पावर हंगर' देखिएको छ। त्यस्तो देखिनुभएन भन्ने मलाई लाग्छ।
यसलाई सुधार गर्न हरेक युवाले आफैमाथि प्रश्न गर्नुपर्छ। अहिले हामीले जे प्रश्न पुराना नेताहरूलाई सोधिरहेका छौं, भोलि आउने पुस्ताले त्यही प्रश्न सोधे हामीसँग त्यसको जबाफ हुनुपर्छ।
***