नेपालीहरू रूसमा पढ्न तथा रोजगारीका सिलसिलामा आइरहेका छन्।
रूसी सरकारले हरेक वर्ष छात्रवृत्ति दिने भएकाले पनि धेरै नेपाली विद्यार्थीहरू यहाँ पढ्न आउँछन्। धेरैजसो मेडिसिन पढ्न आउँछन्।
नेपालमा मेडिकल पढाइ खर्चिलो भएकाले पनि धेरैको रोजाइ रूस भइरहेको छ। यसका साथै इन्जिनियरिङ, हस्पिटालिटी लगायत विषय पढ्न पनि केही विद्यार्थी आउँछन्।
यसरी नेपालबाट वर्षमा ४० देखि ५० जना विद्यार्थी रूस आउँछन्। रूस सरकारले शतप्रतिशत छात्रवृत्ति दिने भएकाले विद्यार्थीहरू यहाँ आकर्षित हुन्छन्।
पछिल्लो डेढ वर्षदेखि रूस सरकारले विद्यार्थीलाई काम गर्न पनि सहज बनाइदिएको छ। विद्यार्थीहरू धेरैजसो वेयर–हाउसमा काम गर्छन्। कतिपय भाषा अनुवादकको रूपमा पनि काम गर्छन्। हिन्दी–रसियन, अंग्रेजी–रसियन भाषामा अनुवाद गर्ने जस्ता काम पनि यहाँ प्रशस्त पाइन्छ।
यहाँ कामदार भिसामा आउनेका लागि पनि राम्रो अवसर छ। तर नेपालले रूससँग यस सम्बन्धी सम्झौता गरेको छैन। तैपनि कामदार भिसामा नेपालीहरू आइरहेका छन्।
रूस–युक्रेन युद्धपछि अहिले नयाँ श्रम स्वीकृति लिएर भने आउन पाएका छैनन्। पहिल्यै यहाँ काम गरेर बिदामा फर्केकाहरूलाई पुनः श्रम स्वीकृति भने दिइरहेको छ।
रूसमा धेरैजसो नेपालीहरूले सिलाइबुनाइ, निर्माण क्षेत्र, होटल एवं सेवा क्षेत्रमा काम गर्ने अवसर पाउँछन्। जाडो याममा हिउँ सफा गर्ने काममा पनि राम्रो अवसर हुन्छ।
यहाँ कामदार अभाव छ। भारतबाट त वार्षिक १० लाख श्रमिक ल्याउने सम्झौता भएको छ।
पहिले रूसले यहीँ वरपर छिमेकी मुलुकका कामदारलाई प्राथमिकतामा राखेको थियो। अहिले एसियाली मुलुकका कामदार प्राथमिकतामा राखिरहेको छ। यसले गर्दा नेपालीलाई पनि राम्रो अवसर छ।
नेपाल सरकारले भने श्रमिक पठाउन चासो दिएको छैन। सरकारले अहिले नयाँ जान रोके पनि नेपालीहरू विभिन्न मुलुक हुँदै भिजिट भिसामार्फत पनि आइरहेका छन्।
खासगरी एजेन्टलाई चर्को रकम बुझाएर दुबई हुँदै अवैध तरिकाले रूसी सेनामा भर्ती भएका घटना पनि बाहिरिएका छन्। यस क्रममा कतिपयले ज्यान गुमाएका र बेपत्ता भएका छन्। यस विषयमा युवाहरू पनि सचेत हुनुपर्ने देखिन्छ।
श्रम स्वीकृति लिएर यहाँका अन्य क्षेत्रमा काम गर्न आउँदा राम्रो आम्दानी गर्न सकिन्छ।
सरकारले समन्वय गरेर पठाउने हो भने सामान्य मजदुरी गर्नेले पनि महिनामा नेपाली ८० हजारदेखि एक लाख रूपैयाँसम्म बचत गर्न सक्छ।
श्रमिकको हक र अधिकारको कुरामा पनि रूसमा निकै राम्रो छ। त्यसैले रूस मलेसिया तथा खाडीको विकल्प हुन सक्छ।
सरकारले सम्झौता नगरी व्यक्तिगत रूपमा आउँदा भने अलि समस्या छ। जुन कम्पनीले ल्याएको हो, त्यही कम्पनीमा काम गरिरहनुपर्ने अवस्था छ। सुरूमा गएको भन्दा अर्को कम्पनीमा काम गरेको कुरा यहाँको प्रहरी प्रशासनले थाहा पायो भने समस्या पर्छ।
यहाँ व्यापार, व्यवसाय गर्ने नेपालीहरू पनि धेरै छन्।
हाल विभिन्न सिलसिलामा रूसमा रहेका दुई हजार नेपाली एनआरएनए, रूससँगको सम्पर्कमा छन्। हामीसँग सम्पर्कमा नआउनेहरू समेत गरेर त अझ ठूलो संख्यामा नेपालीहरू छौं।
नेपालको चिया, गलैंचा, हस्तकलाका सामग्री तथा पस्मिना लगायत अन्य सामग्रीको यहाँ राम्रो माग छ। तर नेपालले यस्ता सामग्री पठाउन सहज वातावरण बनाउन सकेको छैन। यसले गर्दा भारतको बाटो हुँदै थोरै परिणाममा मात्र आउँछ। अर्कोतिर भुक्तानीको पनि समस्या छ।
यति बेला यहाँ कमाएको पैसा पठाउन वैधानिक माध्यम पनि छैन। यहाँबाट पैसा पठाउँदा र नेपालबाट ल्याउन पर्दा पनि अवैध माध्यम प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था छ।
हामीले यस विषयमा कुरा पनि गरिरहेका छौं तर सरकारले चासो नदिँदा समस्या सुल्झिएको छैन।
(एनआरएनए एनसिसी रूसका अध्यक्ष मिलन कटेलसँग सेतोपाटीकर्मी निर्मला घिमिरेले गरेको कुराकानीमा आधारित।)