ग्लोबल नेपाली
सन् २००५ मा बेलायत जाँदै गर्दा प्रसुना कँडेलले भर्खरै प्रमाणपत्र तहको नर्सिङ (पिसिएल) सकेकी थिइन्। केही समय आइसियुमा काम गरेको अनुभव थियो।
एक पटक बाहिरको संसार समेत देख्नुपर्छ भनेर बेलायत पुगेकी प्रसुना अहिले पनि उतै छिन्।
'मलाई एक पटक विदेश जानुपर्छ भन्ने थियो। तर धेरै योजना बनाएर गएको थिइनँ। एक जना सिनियर दिदी पनि बेलायत गएकाले म त्यतै गएँ,' उनले भनिन्, 'बेलायत गएको भोलिपल्टै लिंकनसायर भन्ने ठाउँमा जेष्ठ नागरिकहरूको सेवामा खटिएँ। त्यो बेला मलाई बेलायत त गाउँ पो रहेछ भन्ने लाग्यो।'
लिंकनसायरमा एक वर्ष काम गरेपछि उनी लन्डन आइन्। त्यसबीच काम, नर्सिङ रजिस्ट्रेसन लगायतले धेरै झमेला। त्यही एक वर्षले उनको बेलायत बस्ने आधार पनि तयार भयो।
नेपालको अनुभवले गर्दा उनलाई आइसियुमा काम गर्न मन थियो। सयौं ठाउँमा आवेदन दिइन्। अन्तर्वार्ता कति, कति। बल्लतल्ल काम पाइन्।
काम गर्दै उनले पढाइलाई निरन्तरता दिइन्। अहिले उनी लन्डन नर्थ वेस्ट (एनएएचएस) ट्रस्टमा र्यापिड टिममा रहेर गर्छिन्। स्नातक र स्नातकोत्तरका नर्सिङ विद्यार्थीलाई पढाउँछिन् पनि।
'नर्सिङ पढेकालाई बेलायतमा राम्रो अवसर छ। कमाइ राम्रो छ,' प्रसुनाले भनिन्, 'नर्सिङमा पनि विशेषज्ञताको क्षेत्र बढ्दै गएको छ।'
नेपाली नर्सहरूको क्षमता विश्व स्तरको भइसकेको तर आर्थिक हिसाबले भने कमजोर रहेको उनी बताउँछिन्। बेलायत र नेपालमा नर्सको कमाइ तुलनै हुन नसक्ने उनको भनाइ छ।
बेलायतका लागि प्रयास गर्ने जो कोहीले कलेज र अस्पतालबारे राम्ररी बुझ्नुपर्ने प्रसुना बताउँछिन्।
'अंग्रेजी भाषा परीक्षा दिनु नपर्ने, अनुभव नचाहिने यस्तै यस्तै भनेर सामाजिक सञ्जालमा विज्ञापन आइरहेको देखिन्छ,' उनले भनिन्, 'तोकिएका मापदण्ड पूरा नगरी कोही आउन सक्दैन। त्यही भएर मापदण्ड बनाएको हो भनेर बुझ्नुपर्छ।'
नर्सिङ र अध्यापनमा रमाइरहेकी प्रसुना कलाकारिता र सामाजिक क्षेत्रमा पनि सक्रिय छन्। उनी मोडलिङ गर्छिन्, फिल्म पनि खेल्छिन्।
उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपकी महिला संयोजक पनि हुन्। बेलायतसँगै युरोपमा रहेका महिलाले भोग्ने समस्याबारे उनी जानकार छन्।
'कोही पढ्न,कोही काम गर्न अनि कोही श्रीमानका कारणले आएका छन्। परिवारको कारणले आउनेलाई समस्या छैन। तर काम र पढाइको सिलसिलामा आएकाहरूलाई सुरूमा गाह्रो छ,' उनले भनिन्।
प्रसुनाका अनुसार उनीहरूले समस्यामा परेकालाई कसरी सहयोग गर्न सकिन्छ भनेर काम गरिरहेका हुन्छन्।
'तर आउनुभन्दा पहिले आफू पनि सतर्क हुन जरूरी छ,' उनले भनिन्, 'सबै कुरा बुझेर मात्र अगाडि बढ्नुपर्छ।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]