अष्ट्रेलियाको सिड्नी सहरलाई कर्मक्षेत्र बनाएर कार्यरत गोरखाका डा कुमुद धिताल ‘प्राइड अफ अष्ट्रेलिया’का लागि मनोनयनमा परेका छन्।
नेपाली मुलका यी अष्ट्रेलियन डाक्टरले मृत्यु भइसकेको मानिसको मुटु अर्को व्यक्तिमा प्रत्यारोपण गरेर चिकित्सा विज्ञानमा नयाँ कीर्तिमान राखेका थिए। अष्ट्रेलियाको सबभन्दा ठूलो आमसञ्चार प्रतिष्ठान न्युज कर्पोरेशन अष्ट्रेलियाले स्थापना गरेको यो अर्वाड अष्ट्रेलियाकै महत्वपूर्ण अर्वाडका रूपमा चिनिन्छ।
समुदायको हित र अष्ट्रेलियाको प्रतिष्ठा अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिलाई हरेक वर्ष यो अर्वाड प्रदान गरिन्छ।
भर्खरै मात्र सिड्नीका सेन्छ भिन्सेन्छ अस्पतालबाट २७ औं व्यक्तिमा सफल मुटु प्रत्यारोपण गरेका हर्ट सर्जन कुमुद घितालले आफूले पत्रपत्रिकामा आइसकेपछि मात्र आफ्नो नाम मनोनयनमा परेको थाहा पाएको बताए।
‘यो खुसी र गर्वको कुरा पनि हो, यसले सबैलाई आफ्नो पेशामा अगाडि बढ्न हौसला प्रदान गर्छ’, उनले भने।
अष्ट्रेलियाका मुख्य छापाहरूले पनि यो समाचारलाई निकै प्राथमिकता दिएका छन्।