‘वैशका स्वर्णिम दिनहरू साइकलको पांग्रामाथि पाइडल चलाउँदै बितेको पत्तो नै पाइनँ।
देशको माटोलाई मुटुमा राखेर विश्वशान्तिको नारा घन्काउँदै र नेपालको नाम चम्काउँदै एक सय पचास देश घुमेर संसारलाई पाँच फन्को मारेछु।
उमेर ढल्केको र जीवन गएको पत्तै पाइनँ, पचासको नजिक पुगेपछि झल्यास्स जीवनलाई सम्झे अनि जगतको याद आयो। भर्खरै आलु बेचेको पैसा थियो अष्ट्रेलिया आए केही कमाएर फर्किनुपर्ला भन्ने सोच बनाएर।’
अष्ट्रेलियामा प्लेट बोक्दै गरेको फोटो फेसबुकमा हालेर दुखेसो पोख्ने चर्चित साइकल यात्री पुष्करले एनआरएन अष्ट्रेलियाको स्टुडेन्ट टास्क फोर्सको आयोजनामा सम्पन्न विद्यार्थी हौसला कार्यक्रममा आफ्नो अनुभव सुनाए।
‘श्रम गर्नु नराम्रो होइन, मैले एउटा रेस्टुरेन्टमा सेफको सहयोगी रूपमा काम गरेकै हो तर कहिलेकाहीँ जीवनमा पीडाले भक्कानिँदा त्यस्तै अनुभव भयो र सामाजिक सञ्जालमा उतारेको हुँ, पुष्करले आफ्ना भावनालाई यसरी उजागर गरे।
आफू कुनै सेलिब्रेटी नभएको बताउँदै उनले भने, ‘जीवनमा बाहिरबाट देख्दा र आफैंले भोग्दा धेरै फरक हुँदो रहेछ। मैले संसार घुम्दै गर्दा भोगेको अनुभव पनि यही हो। खादा र प्रमाणपत्रलाई मात्र संकलन गर्ने भए कोठा भरिन्थे होलान् तर सम्मानले हात मुख जोड्ने काम भने गर्दैनरैछ। मेरो पनि त्यस्तै भयो,संसार घुमे,जन आन्दोलनमा लागे,गोली खाए, देशको झन्डा बोके तर कुनै राजनीतिक दलको झण्डा बोकिन। लाग्यो देशको झन्डा बोकेर संसार हाक्नेले कुनै दलको झन्डा राम्रो देखिँदैन भनेर । तर, मार यसैमा खाइयो। माटोको लागि पसिना बगाए र देश चिनाएँ। राज्यले केही सहयोग गर्ला र केही गरूला भन्ने सोच थियो, गर्न सकिएन र विरक्तिएर अष्ट्रेलिया आइपुगें। जीवनमा आफ्ना लागि सोचेको भए धेरै अघिनै केही गर्थे होला, तर उमेर ढल्किदै आएपछि केही अप्ठ्यारो महशुस गरें,भविष्य सुरक्षित देखिनँ र एक दुई वर्ष दु:ख गरेर बीस,पच्चीस लाख कमाउन सके एउटा सानो व्यवसाय गरेर नेपालमै रमाउँला भन्ने सोच हो।’
सहयोगको लागि एनआरएन जुट्ने
एनआरएन स्टुडेन्ट टास्क फोर्सले आयोजना गरेको कार्यक्रममा निकै भावुक बनेका आयोजक तथा एनआरएन पदाधिकारीहरूले पुष्करको योगदानको कदर गर्दै उनलाई आर्थिक तथा अन्य सहयोगको लागि जुट्ने बचनबद्धता प्रकट गरेका छन्।
समितिका संयोजक कोमल पाठकले पुष्कर शाह जस्ता मुलुकका लागि रगत पसिना बगाउने व्यक्तित्वलाई सम्मान गर्दै ‘हरेक व्यक्ति मासिक दस डलर’को अभियान प्रारम्भ गरेका छन्।
यसबाट उठेको मासिक एक हजार डलर पुष्करको नेपाल भ्रमण वर्षको अभियानका लागि सद्भावना दूतका रूपमा कार्यरत सन् २०२१ सम्म सहयोग गरिने योजना बुनेको पाठकले सुनाए।
कार्यक्रममा करिब बीस जनाले यो अभियानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
यस्तै कार्यक्रममा कोमलकै संयोजकमा एनआरएनका उपाध्यक्ष नन्द गुरुङ , पुर्व उपाध्यक्ष दिनेश पोखरेल, सचिव देव गुरुङ,एनआरएन अभियन्ता खेम शर्मा लगायतले पुष्कर शाहलाई व्यवसायिक रूपमा सहयोग गर्न एउटा कोषको स्थापना गर्ने निर्णय समेत गरेका छन्।
अन्तर्राष्ट्र्रिय झापाली समाजका अध्यक्ष समेत रहेका दिनेश पोखरेलले करिब ६० जनाबाट पाँच /पाँच सय डलरको सहयोगको आह्वान गरिने र सो रकम उनलाई नेपाल महोत्सवताका हस्तान्तरण गरेर स्वदेश फर्कने बाटो बनाइदिने योजना रहेको बताए। त्यसका लागि युवा अभियन्ता कोमल पाठकको सक्रियतामा कार्य थालनी गर्ने पोखरेलले बताए।
एनआरएनका उपाध्यक्ष नन्द गुरुङले मुलुक चिनाउने पुष्करहरूलाई राज्यले नहेरिदिँदा यो अवस्था आइपरेको बताए।
उनले पुष्करको हरेक अभियानमा एनआरएन साथी बन्ने बताउँदै नेपाल महोत्सवमा उनलाई सद्भावना दूत बनाइएको सुनाए।
यो पनि :
एकबारको जुनीमा भाँडा टल्काउँदै छु : चर्चित साइकल यात्री पुष्कर शाह