गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको पछिल्लो बैठकले सुखाग्रस्त अष्ट्रेलियाका किसानलाई आर्थिक सहयोग गर्ने घोषना गरेको छ। यसका साथै उनीहरूले विश्व साइकल यात्री हाल अस्ट्रेलीयामा रहेका पुस्कर शाहलाई सदभावना राजदुत बनाउने निर्णय गरेको छ ।
एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेको अध्यक्षतामा सम्पन्न बैठकले अष्ट्रेलियामा यस बर्ष भएको सुख्खा र खडेरीबाट पीडित किसानलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। यससँगै आगामी नोभेम्वरसम्म आर्थिक संकलन जारी राख्ने र स्थानीय वालगेट काउन्सिलको सहकार्यमा एक दिन किसानहरूलाई नेपाली खाना खुवाउने कार्यक्रम गर्ने निर्णय गरेको कुरा प्रवक्ता डिला खरेलले बताए ।
यस बाहेक एनआरएनले आफ्ना सबै सदस्यहरुलाई विधिवत परिचयपत्र अष्ट्रेलियाभर नै बाँड्ने काम आरम्भ गरिसकेको र यसबाट सदस्यहरुलाई सहुलियत दिनका लागि अध्ययन गरि कार्यविधि र सम्झौताका लागि उपाध्यक्ष अशोक केसीको संयोजकत्वमा समिति समेत निर्माण गरेको छ ।
एनआरएन अष्ट्रेलियाका प्रवक्ता डिला खरेलले नेपाल र नेपालीको पहिचानका रुपमा रहेको नेपाल महोत्सव सफल बनाउने कार्ययोजनामा लागि परेको बताए ।
त्यस्तै एनआरएनलाई विधिवत फेडरल स्तरमा दर्ता गर्ने र नयाँ विधान पारित गर्नका लागि आवश्यक तयारी पश्चात विशेष साधारण सभा बोलाउने अधिकार अध्यक्षलाई दिने निर्णय बैठकले गरेको छ।
बैठकका अन्य विषयमा सौहार्दता रहेपनि केहि आर्थिक बिषयमा भने ब्यापक विरोध भएको बैठकमा सहभागि सदस्य शुरेस रेग्मीले बताए ।
बाढी पिडितको नाममा उठाइएको रकम नर्दन टेरोटेरीको महोत्सवका लागि पाँच हजार डलर दिने निर्णय बहुमतले भयो । तर हामी केहि असन्तुष्टले नोट अफ डिसेन्ट लेखायौ ,रेग्मीले भने ।
एनआरएनले बाढि पीडीतको नाममा उठाइएको खातावाट पैसा चलाउन हुन्न, जेका लागि उठाइएको हो त्यसैमा खर्च गर्नु पर्छ भन्यौ तर बहुमतका साथीहरुले पछि फिर्ता लिउँला भनेर दिने निर्णय गर्नुभयो ।
गत वर्ष आएको बाढिमा पीडितका लागि एनआरएन अष्ट्रेलियाले सहयोग संकलन गर्दा करिब ६० हजार डलर जम्मा भएको थियो ।
त्यसबेला एनआरएन केन्द्रिय समितीलाई २५ हजार पठाएको र बाँकी रकम भने खातामा रहेको थियो । अहिले एनआरएनसँग चालु खातामा पैसा नभएपछि सोही खातावाट सापटी लिने र पछि आएपछि फिर्ता दिने भन्ने कुरा भएको हो , एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अच्युत थपलीयाले बताए ।
करिब पाँच घन्टा चलेको एनआरएन अष्ट्रेलियाको बैठकमा तीन घन्टा भन्दा बढि समय उपलब्धीविहिन बहस र आपसी कलहमै बितेको एक सहभागीले सुनाए ।