अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपालको संविधान दिवस निकै धूमधामका साथ मनाइएको छ।
अष्ट्रेलियाको लागि नेपाली राजदूतावासको आयोजनामा सम्पन्न संविधान दिवस अर्थात नेशनल डेमा अष्ट्रेलियाका अध्यागमन तथा बहुसाँस्कृतिक मन्त्री डेभिड कोलम्यानलगायत विभिन्न देशका राजदूत तथा अष्ट्रेलियन सांसद लगायत नेपाली उद्योगपति तथा सामाजिक अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा अष्ट्रेलियाका नवनियुक्त अध्यागमन मन्त्री डेबिड कोलम्यानले तीन हजार नेपाली बसोबास गर्ने स्थान आफ्नो निर्वाचन क्षेत्र भएको चर्चा गर्दै अष्ट्रेलियाको नेपाली समाजलाई सहयोग गर्न आफू तयार रहेको बताए।
अष्ट्रेलियाको बहुसाँस्कृतिक समाजमा संसारभरबाट बसाइ सरेकाहरू बीच नेपालीले अलग पहिचान बनाउन सफल भएको बताए। अहिले ६२ हजार नेपालीले जनगणनामा भाग लिएको चर्चा गर्दै मन्त्री कोलम्यानले भने, ‘पछिल्लो तथ्यांकमा २६ हजार नेपाली विद्यार्थीले अष्ट्रेलियालाई उच्च अध्ययनका लागि चुनेका छन् भने तीन हजार भिजिटर भिसामा अष्ट्रेलिया घुम्न आएका छन्। यो तथ्यांकले नेपाल र अष्ट्रेलियाबीचको साइनो बलियो बन्दै गएको देखिन्छ’, मन्त्री कोलम्यानले भने।
कार्यक्रममा राजदूत लक्की शेर्पाले भनिन्, ‘पछिल्लो समयमा नेपाल र अष्ट्रेलिया बीचको आपसी सम्बन्ध प्रगाढ हुँदै गएको छ। दुई देश बीचको संसदीय साइनो गासिनु आफैंमा महत्त्वपूर्ण उपलब्धि रहेको बताउँदै राजदूत शेर्पाले सरकारमा मात्र नभएर जनतामाझ पनि आपसी सम्बन्ध सुमधुर बनेको बताइन्।
अष्ट्रेलियास्थित नेपाली दूतावासले जर्नी टु नेपाल अभियान सञ्चालन गर्ने बताउँदै राजदूत शेर्पाले अष्ट्रेलियामा रहेको ज्ञान, सीप र दक्षता मात्र होइन पर्यटकहरूलाई समेत आकर्षित गर्ने उद्देश्यले यो अभियान चलाउन लागिएको बताइन्।
नेपालमा लगानीको वातावरण बनाउन समेत यस अभियानले मद्दत गर्ने अपेक्षा दूतावासको रहेको शेर्पाले बताइन्।
कार्यक्रममा अष्ट्रेलियामा रहेर नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धि गर्नुका साथै सहयोग गर्ने उद्योगपति शेष घले, इनरवेल्थ टेक्नोलोजी सिड्नीका सिइओ कृष वाल्कर, नेत्र विशेषज्ञ डा ज्यासकन बुथ र रिच नेपालका संस्थापक निर्देशक लू निलेलाई सम्मानित गरिएको थियो।
कार्यक्रममा एनआरएन अोसेनियाका संयोजक धर्मराज अधिकारी, न्यु साउथवेल्सका महावाणिज्यदूत दीपक खड्का, भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योन्जन, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेल, एनआरएनका उपाध्यक्ष नन्द गुरुङ, प्रवक्ता डिला खरेल , एनआरएन अनररी काउन्सिलका सदस्य भवानी ओली, सामाजिक अगुवाहरू गोवा कटुवाल, छिरिङ शेर्पा, एनआरएनका चिव देव गुरुङलगायतको उपस्थिति रहेको थियो ।