अष्ट्रेलियाको निजी भ्रमणमा रहेकी नेपाल सरकारकी भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल र पूर्वमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मासँग सिड्नीमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ।
नेकपाको प्रवासी संगठनको आयोजनामा सिड्नीमा आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै पूर्वगृहमन्त्री समेत रहेका जनार्दन शर्माले नेपालको विकासमा हातेमालो गर्न अष्ट्रेलियावासीलाई आह्वान गरे ।
उनले भने, ‘तपाईंहरूले एउटा गाउँ बनाउने जिम्मा लिनुस्। त्यहाँको योजनादेखि लगायत सबैमा तपाईंहरूको योगदान हुनसक्छ। यसैगरी ८० देशमा रहेका नेपालीहरूले जिम्मा लिए भने ८० वटा गाउँ त बन्छ।’
एकताको प्रसंगमा शर्माले यसरी व्याख्या गरे, ‘मैले के देखें भने कम्युनिष्टलाई फुटाएर अर्कोले फेरि शासन गर्ने अवस्था थियो। त्यहाँबाट हेर्दा कम्युनिष्टलाई हराएर अरुलाई जिताउने भूमिकामा लाग्नुपर्ने भयो। त्यो मलाई ठीक लागेन र एकताको लागि पहल थालें। एकता नेताहरूले गर्नुभयो मैले गरेको हैन। तर, पहल मैले पनि गरेकै हुँ।’
शर्माले कार्यकर्ताहरूको प्रश्नको जवाफ दिँदै मुलुकको पछिल्लो परिस्थितिका बारेमा भने, ‘गलत र सही दुवै कार्यको विरोध भैरहन्छन्। तर, गलत गर्दा गलत गरिस् भन्ने त मित्र हो नि जोसुकै भएपनि । कसैले विरोध गर्दा त्यसलाई नकारात्मक रूपमा लिन हुँदैन। उसले पनि मद्दत नै गरिरहेको छ हामीलाई भन्ने बुझ्नुपर्छ।’
कार्यक्रममा राज्य मन्त्री पद्मा अर्यालले सरकारका राम्रा कामहरूको विषयमा भन्दा बढी योजनाबद्ध रूपमा विरोध गर्ने काम भइराखेको बताइन्। उनले योजनाबद्ध रूपमा देशको विकासका लागि आफूहरु दत्तचित्त भएर लागेको समेत सुनाइन्।