गैर आवासीय नेपाली संघ(एनआरएन) ओसेनिया क्षेत्रको आयोजनामा सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। एनआरएन ओसेनिया क्षेत्रले यस क्षेत्रमा छरिएर रहेका विज्ञहरूलाई समेटेर उनीहरूले सिकेको सीप र ज्ञानलाई नेपालसम्म पुर्याउने प्रयास स्वरूप पहिलो पटक अष्ट्रेलियाको सिड्नीमा एक दिने विज्ञ सम्मेलनको आयोजना गरेको हो।
अष्ट्रेलिया र न्युजिल्यान्ड जस्तो विकसित मुलुकमा महत्त्वपूर्ण भूमिकामा रहेका नेपाली विज्ञहरूलाई एकैथलोमा भेला पारेर यहाँ सिकेको र आर्जेको ज्ञानलाई नेपालमा कसरी हस्तान्तरण गर्न सकिन्छ? भन्ने सोचका साथ आयोजना गरिएको कार्यक्रममा केही महत्त्वपूर्ण कार्यपत्रहरू प्रस्तुत भएका थिए।
कार्यक्रममा विशेषगरी कृषि तथा खाद्य सुरक्षा , स्वास्थ र शिक्षा तथा पूर्वाधार विकासमा केन्द्रित रहेको थियो।
काठमाडौंमा अक्टोबर १३ र १४ मा आयोजना हुने गैर आवासीय नेपाली संघको विश्व विज्ञ सम्मेलनमा यहाँ प्रस्तुत गरिएका महत्त्वपूर्ण कार्यपत्रहरूलाई समेटिने आयोजक ओसेनियाका क्षेत्रीय संयोजक धर्मराज अधिकारीले बताए।
कृषि तथा खाद्य सुरक्षा, पूर्वाधार निर्माण तथा रेलवे, सुरुङमार्ग, स्वास्थ तथा शिक्षा जस्ता उपयुक्त विषयमा केन्द्रित हुन सके यस्ता कार्यक्रम परिणाममुखी बन्ने अधिकारीले सुनाए।
कार्यक्रममा राजु अधिकारी डा. सिताराम घिमिरे , न्युजिल्यान्डका बाबुराजा महर्जन, अमित भट्टराई , भुपेन्द्र केसी, डा .डिल्ली बन्जाडे डा. कुशराज श्रेष्ठ, जगदिश तिम्सीना, राम राज ओली लगायतले आआफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अष्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पाले यस्ता कार्यक्रमहरू देशका लागि निकै महत्त्वपूर्ण रहने बताउँदै मुलुकको विकासका लागि आर्थिक व्यवस्थापनसँगै प्राविधिक शक्तिको पनि आवश्यकता रहेको औंल्याइन्।
राजदूत शेर्पाले यतिखेर मुलुकमा युवाशक्तिको खाँचो देखिएकोले दक्ष जनशक्तिले देशको निर्माणका लागि स्वदेश फर्कने अभियानको थालनी गर्नुपर्ने बताइन्।