पूर्वीय दर्शनमा सुनिँदै आएको राम राज्य पश्चिमी सभ्यतामा भेटियो भन्दा अचम्म्म लाग्ला।
मान्छेको इमानदारिताको कसी नाप्ने कुनै मेसिन अझसम्म बनेको छैन। तर, इमान र जमान भन्ने चिज नापिने भन्दा पनि कर्तब्यबोध अनि विश्वासमा अगाडि बढ्दो रहेछ।
कुरा सिड्नीबाट करिब पाँच सय किलोमिटरको दुरीमा रहेको एउटा ग्रामिण क्षेत्र न्यारामाइनको हो। मुलुक चिनाउने महत्वपूर्ण माध्यमका रूपमा खेलकुदलाई पनि लिइन्छ। त्यसमाथि क्रिकेटप्रेमी अस्ट्रेलियनको लागि ग्लेन म्याकग्राथको गाउँ भनेपछि पर्यटनको केन्द्रनै बनेको रहेछ।
यस पटक बिदा मनाउन अस्ट्रेलियाको ग्रामिण इलाका घुम्ने रहरले हामी पनि सिड्नीबाट ६ घन्टाको ट्रेन र एक घन्टाको गाडी यात्रा पछि न्यारामाइन पुग्यौ।
करिब पाँच हजार जनसंख्या भएको सुन्दर ग्रामिण बस्ती रहेछ। हाम्रा देशमा खेलकुदका पुराणपात्रहरू बैकुण्ठ मानन्धर र दिपक बिष्टहरुको भौतारिरहेको देखेको हामीले त्यहाँ पुग्दा भने मुख्य चोकमै चर्चित क्रिकेटर ग्लेन म्याकग्राथको बडेमानको बलिङ गरिरहेको सालिक देख्यौ।
जनताको आवश्यकताको रूपमा मानिने सबैखाले सुविधा, स्कुल, हस्पिटल बैंकलगायत सरकारी कार्यालय रहेको न्यारामाइन शान्त र सुन्दर रहेछ।
बाहिरका मान्छे कमै देखिने र भेटिने यहाँ आगन्तुकलाई सम्मान गरेको पाएँ। तर, कुरोको चुरो भनेको त्यहाँ देखिएको एउटा पसलले मेरो तन र मनलाई एकपटक सोच्न बाध्य बनायो।
हामी न्यारामाइन घुमेर एक किलोमिटर वर आउदै थियौ , टेबलमा खरभुजा, काक्रो, मौसमलगायतका केही ग्रामिण उत्पादन राखिएको सानो पसल देख्यौ। हामीलाई लाग्यो, यत्रो घुम्न आइयो, केही लोकल उत्पादन किनेर लगौं। लोकल फार्मका उत्पादनहरु मीठो र स्वादिलो हुने कारण पनि हामी गाडी रोकेर पसलमा गयौं। पसल भनेको एउटा टेबल थियो र टेबल माथि सामान। न साउजी न तोलमोल। अकमक्क परेँ।
हरेक सामानमाथि त्यसको मूल्य तोकिएको थियो र छेउमा एउटा फलामे खुत्रेके।
मलाई लाग्यो- पसले एकछिन बाहिर गएको होला आउँला र किनौला। छेउमा अर्को एउटा अस्ट्रेलियन सरर गाडीमा आए। सामान गाडीमा हाले र पर्सबाट नोट निकालेर खुत्रुकेमा खसाए अनि हिँडे। म हेरेको हेरै भएँ।
मैले त्यो मान्छेलाई यो सामान कसरी खरिद गर्ने भनेर सोधेँ- उनले सहजै जवाफ दिए कुनै सामान खरिद गर्ने हो भने त्यसको मूल्य बाकसमा खसाए हुन्छ।
लाग्यो इमान र जमानले चलेको रहेछ दुनियाँ। न साउ न मोलतोल ,न कबोल। सामान लिउ, तोकिएको पैसा बाकसमा हाल्देउ।
हामीले एउटा खरबुजा, एक ब्याग मौसम र केही काक्रो उठायौं। अनि अप्ठारो मान्दै पाँच, दस र तीन डलरको तोकिएको कुल १८ डलर बक्सामा हालेर हिड्यौं।
साच्चिकै विश्वास अनि इमान र जमान विकासको पनि पूर्वाधार रहेछन्। इमानदार राज्य र नेता भएको देशमा नागरिक पनि इमानदार हुँदा रहेछन् भन्ने लाग्यो।
हामीलाई घुमाउन लगेका डब्बोका भाइ सुरेश घिमिरेले भने, ‘अब एक डेढ सय डलरको समान बेच्न दिनभर कुरेर बस्नुपर्ने र अर्कोतिर इमान र जमानमा टिकेको विश्वासको परिणाम हो यो।
मलाई लाग्यो- हामीले कल्पना गरेको राम राज्य पनि यस्तै थियो होला। गोराको बस्ती भएका उत्तरी सिड्नीका सबै ट्रेन स्टेशन खुला छन्। त्यसमा न ढोका न बार। तपाईँ आफैं गएर कार्ड ट्याप गर्नुपर्छ।
लाग्यो राज्य जनतासँग जवाफदेही भए जनता पनि राज्यसँग इमानदार हुदाँ रहेछन्।