‘मोही माग्ने ढुंग्रो लुकाउने’ भन्ने उखान हाम्रो समाजमा निकै लोकप्रिय छ। तपाईँ कसैसँग सहयोग मागेर अर्केको नाममा केही गर्न खोज्नुहुन्छ भने त्यसको पारदर्सिता र खर्चको उद्धेस्य प्रष्ट पार्न जरूरी हुन्छ।
केही वर्षदेखि गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले विभिन्न विषयमा सहयोग उठाउँदै आए पनि त्यसको विवरण र उद्धेश्य सार्वजनिक गर्न सकेको छैन।
जुन विषयमा तोकिएर सहयोग उठाएको हो त्यो रकम त्यस विषयमा खर्च नगर्ने र कोषमा थुपार्नु आफैंमा तर्कसंगत होइन। एनआरएन अस्ट्रेलियाले विभिन्न वेलफेयरका नाममा कार्यक्रम तथा सहयोग रकम संकलन गरे पनि त्यो रकम सम्वन्धित विषयमा खर्च गर्न नसक्नु वा नर्गदा सम्वन्धित पक्षले औला ठड्याउने मौका पाएका छन्।
विभिन्न समाजिक विषयमा सहयोग सकंलन गर्ने र सो रकम सम्वन्धित पक्षको भलाइमा प्रयोग नगरी खातामा राखिराख्नुलाई संस्थामा राम्रो ठानिदैन।
गत साल विद्यार्थीका नाममा वेलफेयर कार्यक्रम गरी एनआरएन अस्ट्रेलियाले करिब चालिस हजार डलर संकलन गरेको थियो। अस्ट्रेलियामा नेपाली विद्यार्थीले दुःख पाएको अनिगिन्ती घटना छन्।
बिना नीति र कार्यक्रम चन्दा तथा सहयोग माग्ने अनि निहित उद्धेश्यमा खर्च नगर्ने परम्परा राम्रो होइन।
यहाँ कयैन विद्यार्थी पानीमा डुबेर मरे, कयैनले दुःख पाए, खोइ त कार्यक्रम आएको? ‘विद्यार्थीको नाममा उठेको पैसा बैंकको खातामा, कार्यक्रम छैन’, सीड्नीका कानुन ब्यवसायी खीलेन्द्रराज तिम्सीनाले बताए।
बास्तवमै एनआरएनले ल्याएका कयैन वेलफेयरका शीर्षक निकै राम्रा भए पनि सम्वन्धित बिषयमा नीति तथा कार्यक्रम नभएको देखिएको छ। त्यतिमात्र होइन, यस पटक वेलफेयरबाट पैसा यति उठाउने भन्ने लक्ष्य हुन्छ, तर लक्षित समूहमा तोकिएका मितिमा यस्ता सामाजिक कार्य गर्ने भन्ने विषय गौण हुन्छ।
मेलवर्नमा बसोबास गर्दै आएका डा. अनुपम पोखरेल एनआरएनएमा एउटा वेलफेयर फन्ड नामक सहयोगी कार्यक्रम रहँदा रहँदै त्यस्तै अनेकौ नामधारी वेलफेयरको जरुरी नरहेको बताउँछन्। सदस्यता शुल्कबाट पाँच डलर जाने त्यो वेलफेयर फन्डकै हिसाब किताब सार्वजनिक हुन नसकिरहेको परिस्थितिमा अर्को वेलफेयर खोलेर पैसा उठाउनु नैतिक रुपमा नमिल्ने डा पोखरेलको कथन छ।
बिधि विधान र योजना र गाइडलाइन बिना आउने यस्ता योजना फेरि पनि दोहराउनुको कुनै औचित्य नरहेको पोखरेलको भनाई छ। ‘विद्यार्थीका नाममा पैसा उठाइयो त्यो पैसा विलार्थीको हितमा खर्च गरिएन भने त्यसलाई कसरी लिने?’, उनले प्रश्न गरे। स्टुडेन्ट वेलफेयरको हिसाब किताब पनि सार्वजनिक नभएको पोखरेलले सुनाए । ‘फेरि अब अर्को नाममा वेलफेयर। किन यत्राविधि नाम। एउटै वेलफेयरबाट पनि सबै विषयलाई सहजै सम्वोधन गर्न सकिन्छ,’ डा.पोखरेलले भने।
एनआरएन अस्ट्रेलियाले कोही मर्दा जनही दुई हजार डलर र केही गम्भीर उपचारमा अवस्था हेरी वेलफेयर फन्ड मार्फत सहयोग बितरण गर्दै आएको छ। यस पटक एनआरन अस्ट्रेलियाले वाक फर वेलफेयर, वेलफेयर फर ओमन्स भन्ने नारा लिएर मार्चमा कार्यक्रम गर्ने निर्णय गरेको छ। तर, फेरि यो वेलफेयर कस्ता महिलाको लागि, विद्यार्थी महिलाका लागि वा आमाहरूका लागि या के के गरिने र कहिले गर्ने भन्ने बिषय खुल्नुपर्छ।
सीड्नीका कयैन कार्यक्रममा सहयोगको रकम घोषणा गर्ने र खादा लगाउने अनि पैसा नर्तिनेको पनि कमी देखिएको छैन । तर पनि स्वंयसेवा भित्रका थुप्रै राम्रा पक्षले नराम्रा पक्षलाई भने छोपिदिएको छ।
‘हामीले यस पटक योजनाका साथ कार्यक्रम आयोजना गर्ने लक्ष्य बनाएका छौ, एनआरएन हेल्प डेस्क, स्टुडेन्ट सपोर्ट टिम जस्ता नया काम प्रारम्भ भएका छन्,’ महासचिव नारायण कोइरालाले भने, ‘यस पटक पनि निकै लामो मन्थनपछि टिमले कार्यक्रम सहितको वेलफेयर ल्याउने तयारीमा जुटेको छ।’
यस पटक विशेष रुपमा जनचेतना, महिलाविरुद्धका घरेलु हिंशा, मानसिक तनावजस्ता विषयलाई मुख्य रूपमा फोकस गरिएको महासचिब कोइरालाले सुनाए।
हाल स्टुडेन्ड वेलफेयर फन्डमा लगभग ४० हजार सोसियल वेलफेयर ९२ हजार डलर रहेको कोषाध्यक्ष अच्युत थपलियाले जानकारी दिए।
‘हामीले अहिलेसम्म यसअघिको कार्यकालमा उठेको स्टुडेन्ट वेलफेयरको रकम चलाएका छैनौं। सबै रकम सोसीयल वेलफेयरवाटै सहयोग गर्दै आएका छौ’, कोषाध्यक्ष अच्युत थपलियाले सेतोपाटीसँग भने।