६६ दिनको जेल बसाइपछि सुसन (नाम परिवर्तित) बेल (धरौटी)मा रिहा भएको केही दिन मात्र भएको छ। उनको बेल कन्डिसन सीड्नीभन्दा बाहिर बस्नुपर्ने मात्र होइन, जेलको चार दिवारभन्दा फरक खुला सास फेर्ने वातावरण मात्रै हो। अरू सबै कानुनकै परिवन्द भित्र छन् उनी।
दसैं सकिएर तिहारको रमझम थियो। सिड्नीको ब्यस्त जीवनमा उनी सातामा ६५ घन्टा जति काम गर्थे। कमाइ राम्रै थियो, सातामै १४ सय डलर कमाइ भनेको धेरै राम्रो हो। सन् २००८ तिर अष्ट्रेलिया आएका सुसनले लभ म्यारिज गरे पनि बिदेशमा एक्लो जीवन विताउँदै आएका थिए।
काम, परिबन्द र स्थायीत्वको चक्करमै उनले धेरै समय खेर फाले। लामो समयको एकल बसाइपछि उनले पछिल्लो वर्ष मात्र श्रीमतीलाई अस्ट्रेलिया झिकाए।
सीड्नीको डबल ड्यूटी र त्यसपछिको थकानमा सुसनको जिन्दगी चलेकै थियो। श्रीमती नेपालमा हुँदा कमाएको पैसा उतै पठाए। लालाबालाको मायाले पनि सुसनलाई सम्पत्ति जोड्ने र नेपाल पठाउने कुरामा विशेष बल पुर्यायो। भएको सबै सम्पत्ति श्रीमतीको नाममा जोडे। कमाएसँगै अलग हुँदै गर्दा आफ्नो सर्वस्व सबै गुमाए। उनीसँग तन र मनबाहेक केही बाँकी छैन।
सधै झगडा गर्ने, साथीभाइको संगत गर्न नदिने, साना साना विषयमा शंका गर्ने, आफू भने दुई/दुई वटा फेसबुक चलाउने श्रीमतीको रवैयाले तनाबमा हुन्थे शुसन। चाडबाड र बर्थडेजस्ता माहौलमा रम्ने उनको बानी थियो। समाजमा घुलमिल गर्ने रहर कसमा हुँदैन र? तर, श्रीमतीको आगमन र नोकझोकपछि उनको सबैचिज बन्द भयो।
तर पनि परिवार राम्रो भयो भने सबै राम्रो हुन्छ भन्ने अपेक्षा गरिरहे। इच्छा आंकक्षा र चाहनालाई विट मारेर बसेका सुशनमाथि श्रीमतीको किचलोमा कमी आएन।
जन्म दिनको दिन सदाझै फेरि किचकिच भयो। केही साथीभाइको उक्साहटमा श्रीमती प्रहरीमा खबर गरिन्। महिला हिंसाको गम्भीर सजायको भागिदार हुँदै जन्मदिनको उपहारस्वरूप जेल पुगे। श्रीमतीजीले प्रायः सबै झुठा बयान प्रहरीमा दिएपछि प्रहरीले उनलाई सोही दिन स्थानीय चौकी हुँदै सीड्नी बाहिरको जेल पठाएको थियो।
उनका दुई छोरी छन्। उनलाई अरूको भन्दा छोरीको मायाले सताउने गरेको छ। हरेक दिन कुराकानी हुने छोरीको विषयले उनी गम्भीर छन्।
हामी अस्ट्रेलियामा जन्मेको होइन, नेपाली मसाजमा हुर्के बढेको नेपाली हुँ। यहाँ बसे पनि पहिलो पुस्ताका हामीमा साना तिना असमझदारी र हानाथाप भइरहन्छन्। तर, यस्ता विषयलाई गम्भीर अपराधका रुपमा खडा गरेर परिवार ध्वस्त पार्ने खेलमा सरिक हुने केही तत्वले उनको जिवनमा खेलेका छन्।
पन्ध्र वर्षअघि लभ म्यारिज गरेर ल्याएकी श्रीमतीले देखाएको रबैयाबाट उनी प्रताडित छन्। ‘अती गरेपछि मेरो पनि हात उठ्यो होला, गल्ती मेरो पनि भयो होला, तर हरेक दिन काम नगरेर घरमा बस्ने स्वास्नीले दिने मानसिक तनाबका बारेमा हामीले काँहा आवाज उठाउने,’ उनले सेतोपाटीसँग भने, ‘हो लामो समय एक्लै बिदेश बस्दा केही कमी कमजोरी भए होलान् तर सँगै बसेपछि मैले उनलाई नै सर्वस्व ठानेको थिएँ। घरकै श्रीमती पराइ भएपछि कसको के लाग्छ र सर,’ शुसनले निकै लामो सुस्केरा हाल्दै सुनाए।
उनलाई ठूलो चोट लागेको छ, बाबा आमा र घर परिवारको सल्लाह बेगर लभ गरेर ल्याएकी श्रीमतीले पन्ध्र वर्षपछि जन्म दिनको दिन जेलको उपहार दिएकी छे। त्यो पनि जन्म दिनको दिन। उनलाई लाग्थ्यो, ‘हाप्पी बर्थडे बुढा भन्छे होला। तर, जन्म दिनको दिन आफैं निहुँ खोजेर प्रहरी बोलाएर जिम्मा लगाइ, यो भन्दा ठूलो उपहार के हुन्छ होला,’ उनले भने, ‘जुन घरमा महिला खराब हुन्छन् तिनको कहिले भलाई हुँदैन भन्थे हाम्रो गाउँघरमा। झलझल सम्झिएँ जेल बस्दा।’
हिन्दु धर्मालम्बी म । सधै गाईको मासु, खाए खा नखाए घिच। कयौं दिन भोकै बसेँ ,दुई पीस पाउरोटीको भरमा। तर अहिले खुला आकाश मुनी आइपुगेको छु। न्यायको खोजीमा, झुठको खेती धेरै दिनसम्म टिक्दैन। न्याय पाउँछु भन्ने आशमा छु,’ सुसनले आफ्नो पीडाको बेलि बिस्तार सेतोपाटीसँग सुनाए।
यतिखेर बेलमा रिहा हुँदै गर्दा सुसनसँग वकिलको फी तिर्ने पैसा पनि छैन। उनी साथी भाइसँग खर्चको जोहो गर्न हार गुहारमा छन्। जेलमा ६६ दिन बस्दा उनले केही पीडाका कथा पनि लेखेका छन्। हुन त उनलाई ज्यान मार्ने उद्योग र महिला हिंसामा सात वर्षसम्मको जेल सजाँय हुन सक्नेछ। तर, उनी भित्र एउटा प्रश्न भने तेर्सिएको छ, पुरुष हिंसाको पीडा कसले बुझ्ने । सधै महिला हिंसाका विषय मात्र उठान हुने हाम्रो समाजको पछिल्लो परिस्थितिमा थुप्रै पुरुष हिंसाका पीडितहरुको पीडा कसले सुनिदिने। त्यसमाथि पनि अमेरिका र अस्ट्रेलियाजस्तो असिमित महिला अधिकार भएको देशमा त पुरूष हिंशाका शिकार बढ्दो छ।