नेपाल आइडलको मन्चबाट उदाएका सुरज थापा ,केन्जल मेहर श्रेष्ठ र सागर आलेले आगामी शुक्रबार सिडनीको गर्मी मौसमलाई थप तताउने भएका छन्।
हो र हैन इभेन्ट्सको आयोजनामा सीडनी आइपुगेका युवा कलाकारहरुले अस्ट्रेलियामा नेपाली दर्शकले औधी मनपराइदिएकोमा खुसी प्रकट गरे।
गाँउठाँउमा लुकेर बसेको प्रतिभालाई शहरहुँदै मुलुकभर र डायस्पोरामा चिनाउने नेपाल आइडल सबैको लोकप्रिय कार्यक्रम बनेको थियो।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल आइडलका गायक सुरज थापाले दर्शकको भोटले आइडल बनाएर मैदानमा आइपुगेका हामी आफ्नै भाकामा दर्शकको माया फर्काउने तयारीमा रहेको सुनाए।
सुरजले भने, ‘यसरी अस्ट्रेलिया आएर पनि हामीलाई औधी माया गर्ने नेपाली संगीतप्रेमीलाई हामी आफ्नै उपहार दिने तयारीमा जुटेका छौ। समय र परिस्थिति अनी नयाँ प्लेटफर्मका रुपमा रहेको नेपाल आइडलले थुप्रै प्रतिभाहरुलाई दर्शक माझ उभ्याउन सफल भएको छ।’
कर्यक्रममा अर्का प्रतिभा केन्जलले छिट्टै आफूहरू आफ्नै गीतको तयारीमा रहेको र सीड्नीमा पनि नयाँ प्रस्तुती पस्कने बताए । पत्रकार सम्मेलनमा थोरै भए पनि भाका सुनाएका युवा गायकहरुलाई आयोजकले मायाको चिनो प्रदान गरेको थियो।
कार्यक्रममा आयोजक हो र होइन इभेन्ट्सका रोशन भट्टराईले नेपाली सांगीतिक आकाशमा सुन्दर भविष्य बोकेका यी कलाकारहरुलाई सीड्नी ल्याउन पाउनु खुसीको विषय रहेको बताए।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले कलाकारलाई सीड्नीमा स्वागत गर्नुका साथै मुख्य प्रायोजक प्रोफेसनल भिसा एन्ड एजुकेशन सेन्टरका निस शर्माले युवा प्रतिभाहरुको कार्यक्रममा सहयोग गर्न पाउँदा गौरव लागेको बताए।
इन्द्रेणी फङ्क्सन सेन्टरमा आयोजित कार्यक्रममा कानुन ब्यवशायी खिलेन्द्रराज तिम्सीना, युवा अभियन्ता रबिन्द्र कुमार शर्मा ,प्रजापती सिवाकोटी,लक्ष्मण सापकोटा लगायतको उपस्थिति थियो।