गाउँबेसीका कथामा पश्चिमी भाका समेटेको रामबाबु गुरूङको फरक प्रस्तुति हो मिस्टर झोले।
साच्चीकै पश्चिम पोखरा र वरीपरीका गाउँबेसीका भाका र भाषामा बुनेको चलचित्रले हाम्रो सामाजिक परिवेशलाई सर्लक्कै नक्कल गरेको छ। नेपालमा प्रीमियर भएको भोलिपल्ट सिड्नीको इभेन्ट सिनेमामा दर्शकले मिस्टर झोलेलाई निक्कै मन पराए।
हुन त चलचित्रकी नायीका बर्षा राउत पनि अस्ट्रेलियातिरै घुमिरहँदा उनको सहभागिता चलचित्रको प्रिमियरमा देखिएन। नेपाली कलाकारले आफ्नो चलचित्रलाई कतिको माया गर्छन् भन्ने कुरा यसबाट स्पष्ट हुन्छ।
चलचित्र सलल बगेको छ। प्रेम, हाँसो अनी हाम्रो ग्रामिण परिवेशलाई यसले टपक्कै टिपेको छ। दयाहाङ राईले आफ्नो भूमिकालाई न्याय गरेका छन्। साढे दुई घन्टाको यो चलचित्र हेर्दा हेर्दै सकिएको पत्तो भने हुँदैन। सिड्नीमा चलचित्र हेर्न आउने प्राय सबै दर्शकले चलचित्रलाई एक पटक हेर्नैपर्ने बताए।
इपी माइग्रेशनको सहकार्य तथा वल्डएवाइड फिल्म्सको संयोजन अनि नेप्ले इभेन्टको आयोजनामा प्रीमियर गरिएको मीस्टर झोलेको अन्य शोहरु आगामी साता देखाइने यसका आयोजक प्रजापति सिवाकोटीले बताए।
मिस्टर झोले जस्ता सामाजिक कथाबस्तु बोकेका चलचित्र परदेश बस्ने नेपालीका लागि देश सम्झने माध्यम बनेको कानुन ब्यवशायी खिलेन्द्रराज तिम्सीनाले बताए।
औंशीमा जन्मेकीले आफ्नो ‘पोई टोक्छे’ भन्ने अन्धविश्वासले नानुको बिहे हुनसकिरहेको छैन। पण्डितसँगको सल्लाहमा आफ्नो छोरो ‘पूर्णे’ (दयाहाङ राई) सँग बिहे गराइदिएर ऋणमुक्त हुन छोरालाई बिहेका लागि गाउँ बोलाउँछे उसकी आमाले।
पूर्णेको साथी ‘कर्ण बहादुर दर्जी’ (प्रविण खतिवडा) पनि ‘नानु’ लाई एकोहोरो मन पराउँछ। बिहेको लागि छोरी माग्न जाँदा सुवेदारले घरज्वाँई’ बस्नुपर्ने सर्त राखेपछि ‘पूर्णे’ बिहे नगर्ने निर्णयमा पुग्छ। गाउँघरमा देखिने जातपात अनि कुरिती र लाहुरेको संस्कृति र त्यसपछि घट्ने घटना नै ‘मिस्टर झोले’को कथा हो।
फिल्मले नेपाली ग्रामीण परिवेशमा घट्ने सबैखाले घटनालाई उनेको छ अनि बुनेको पनि। चलचित्रमा संगीत पक्ष भने काम चलाउ छ। वियोग पछिको मिलन अनि हाउभाउँको कटाक्ष पछिको सरलता चलचित्रको मुख्य शन्देश हो ।