ग्लोबल नेपाली
बर्दियाका विजय पौडेल क्यानडा गएको १५ वर्ष भयो। उनी नेपालमा आइटी (सूचना–प्रविधि) विषयका शिक्षक थिए। सन् २०१० मा नेपालबाटै पिआर (स्थायी आवास अनुमति) लिएर सपरिवार क्यानडा गएका थिए।
क्यानडामा करिब पाँच वर्ष जागिरे भएर काम गरे। कामको अनुभव बढ्दै र स्थानीय समाजमा घुलमिल हुँदै गएपछि सन् २०१५ मा 'ह्युमन रिसोर्स' सम्बन्धी आफ्नै व्यवसाय सुरू गरे।
उनको व्यवसाय हाल क्यानडाका तीन वटा प्रदेशमा फैलिएको छ। उनको कम्पनीले क्यानडाका सबै क्षेत्रका लागि कामदार उपलब्ध गराउने काम गर्छ।
हाल उनी कन्जर्भेटिभ पार्टीका तर्फबाट ओन्टारियो प्रान्तको 'हम्बर रिभर–ब्ल्याक क्रिक' क्षेत्रबाट संघीय सांसद पदको उम्मेदवार पनि बनेका छन्। सन् २०२१ मा पनि उम्मेदवारीको प्रयास गरेका थिए तर पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भए।
यस पटक आन्तरिक प्रतिस्पर्धा जितेर उम्मेदवार बन्ने अवसर पाएका छन्। निर्वाचन यही अप्रिल २८ मा हुँदै छ।
'निर्वाचनको मैदानमा छु, प्रचारप्रसारमा व्यस्त छु। टाढा टाढाबाट पनि साथीहरू आएर सहयोग गर्नुभएको छ। म आशावादी छु,' विजयले भने।
नेपालमा जन्मिएर क्यानडाको संघीय संसद पदमा उम्मेदवार बन्ने सम्भवतः उनी पहिलो व्यक्ति हुन्।
विजय सन् २०१८ मा क्यानडाको राजनीतिमा लागेका हुन्। सुरूमा कन्जर्भेटिभ पार्टीका तर्फबाट स्थानीय उम्मेदवारहरूलाई सहयोग गरे। उम्मेदवारको प्रचारप्रसारमा सक्रिय भएर लागे। आफ्नो पहिचान बनाउँदै पार्टीमा अघि बढे।
उनका अनुसार हाल उनी उम्मेदवार बनेको निर्वाचन क्षेत्र कन्जर्भेटिभ पार्टीका कमजोर ठाउँ मानिन्छ। त्यहाँ २५ वर्षदेखि लगातार लिबरल पार्टीले जितेको छ। लिबरल पार्टीले सरकार चलाएको १० वर्ष भइसक्यो।


'महँगी बेरोजगारी बढेको छ। किस्ता तिर्न नसकेर घरहरू लिलामी हुन थालेका छन्। अपराध बढेको छ। धेरै कुरा बिग्रेको छ,' विजयले भने, 'लिबरल पार्टीका उम्मेदवार ८१ वर्ष उमेरका छन्। लगातार जित्ने पनि उनै हुन्। म ४० कटेको छु।'
विजयले कन्जर्भेटिभ पार्टीको यही स्थितिलाई आफ्नो जितका लागि अनुकूल मानेका छन्।
जनतामा निराशाको तह बढेकाले विकल्प खोजी हुन थालेको उनले बताए। यस पटक कन्जर्भेटिभको पक्षमा लहर आउन सक्ने उनको अनुमान छ। चुनाव प्रचारका लागि घरघरमा पुग्दा नयाँ पुस्ताले आफूलाई मन पराएको उनको भनाइ छ। आफ्नो क्षेत्रमा आप्रवासीको बाहुल्य रहेकाले चुनावको नतिजा आफ्नो पक्षमा आउने उनको विश्वास छ।
क्यानडाको चुनाव प्रचार नेपालको भन्दा भिन्न रहेको उनले बताए। उम्मेदवारका पक्षमा माइकिङ गर्ने, मान्छे भेला भएर सभा र र्याली गर्ने जस्तो तरिका हुँदैन।
'यहाँ घरदैलोमा जाने हो। पार्टीका र आफ्ना एजेन्डा बताउने हो। मतदाताका जिज्ञासा सुन्ने हो,' विजयले भने, 'हामी २० हजार घरमा पुगिसकेका छौं। धेरैले हाम्रो पार्टी मन पराएका छन्।'
अहिले क्यानडाको आर्थिक अवस्था बिग्रिँदै गएको उनले बताए। अवस्था अझ बिग्रिँदै गए आप्रवासीहरू आफ्नै देश फर्किन बाध्य हुनेछन्। आममतदाता यस कुरामा सचेत रहेको उनको भनाइ छ।
विजय क्यानडामा आफ्नो आर्थिक–सामाजिक स्थितिप्रति सन्तुष्ट छन्।
'मेरा बुबाआमाले खेतीकिसानी र सानो पसल गरेर मलाई पढाउनुभएको हो। मैले सानैदेखि काठमाडौंमा पढ्ने अवसर पाएँ,' विजयले भने, 'क्यानडामा आफ्नै व्यवसाय गरेको छु। साथमा श्रीमती र दुई बच्चा छन्। यहाँको सांसद बन्ने दौडमा छु। यस पटक जितको अपेक्षा छ।'
निर्वाचनमा विजयको हार–जित जे होला, तर बर्दियाको मध्यम परिवारबाट क्यानडा पुगेर त्यहाँ मूलधारको राजनीतिमा उनको उपस्थिति भने गर्व गर्न लायक छ।

(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]