जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) युग सुरू भएपछि धेरैको मगजमा एउटा प्रश्न घुमिरहेको छ — के अब पत्रकारको जागिर रहला?
कतिपय अध्ययनहरूले एआईबाट जोखिममा रहेका पेसामा पत्रकारिता समेत राखेका छन्। एआईले जागिर खोस्ने सक्ने भयले पत्रकारिता जगतको दिमाग खलबल्याइदिएको छ।
साँच्चै एआईले पत्रकारिता पेसा धरापमा पारेकै हो त? विकसित देशहरूले यसलाई कसरी लिएका छन्? एआईसँग पत्रकारितामा कसरी काम गर्न सकिन्छ?
यी र यस्तै विषयको सेरोफरोरोमा हामीले क्यानडाको युनिभर्सिटी अफ अटवामा जर्नलिजम, मिडिया इथिक्स, कम्युनिकेसन र जेनेरेटिभ एआई इन जर्नलिजम लगायत विषय पढाउने डा. भानुभक्त आचार्यसँग कुराकानी गरेका छौं।
यति बेला डा. आचार्य जेनेरेटिभ एआईले पत्रकारितामा कसरी र कुन हदसम्म प्रभाव पार्ला भन्ने अनुसन्धानात्मक कृति 'जेनेरेटिभ एआई इन जर्नलिजम' पुस्तक सम्पादन गरिरहेका छन्। यसमा विश्वभरिका ४० जनाभन्दा बढी प्राध्यापक र अनुसन्धानकर्ताहरू संलग्न छन्।
एआईले पत्रकारितासँगै अन्य धेरै क्षेत्रमा प्रभाव पार्ने उनको भनाइ छ। एआईको आवश्यकता र औचित्य पनि उत्तिकै बढ्दैछ।
'यो एउटा सामान्य प्रविधि हो। इन्टरनेट अहिले जुनसुकै पेसा र व्यवसायका लागि अपरिहार्य छ। एआई पनि त्यस्तै हो तर यो भर्खरै आएको छ। पूर्ण क्षमतामा विकसित भइसकेको छैन,' आचार्यले भने, 'पूर्ण विकसित भएपछि एआईले अझ धेरै काम गर्न सक्छ। यसले पत्रकारिता, प्रशासन, व्यापार आदि सबै क्षेत्रमा प्रभाव पार्नेछ। कुन क्षेत्रमा कसरी असर गर्छ भनेर अहिले नै किटान गर्न सकिँदैन।'
क्यालकुलेटर आउँदा अब गणित सकियो भन्ने टिप्पणी भएको थियो। स्कुलमा पनि दिमाग बिगार्छ भनेर क्यालकुलेटर चलाउन दिइँदैन थियो। अहिले क्यालकुलेटर बिना विद्यार्थीको पढाइ असम्भवप्रायः छ।
'एआई त्यस्तै महत्त्वपूर्ण प्रविधि हो। हामी प्रविधि प्रयोग गरेर त्योभन्दा अगाडि जाने हो, त्योसँग डराएर बस्ने होइन,' उनले भने।
प्रविधिले अप्ठ्याराहरू चिर्दै काम सजिलो बनाउन मद्दत गर्छ। अब एआईले पत्रकारिता सक्ने पो हो कि भनेर डराउनुको साटो प्रविधि हातमा लिएर अघि बढ्नुपर्ने उनको भनाइ छ।
'रेडियो युग सुरू हुँदा पनि छापा माध्यमको भविष्य सकियो भन्थे। छापा माध्यमले हामी मात्रै वाचडग हौं, रेडियोले पत्रकारिता गर्न सक्दैन भन्यो। तर रेडियोले आफ्नो पकड लियो,' उनले भने, 'अलि पछि टेलिभिजन आयो। त्यसपछि अनलाइन मिडिया आयो। सबै चलेकै छन्। नयाँ प्रविधिबाट समयानुकूल फाइदा लिनुपर्छ।'
सुरूमा छोटा समाचार मात्रै पढ्न पाइने माध्यम भनेर बुझिए पनि अहिले अनलाइनले लामा फिचर र गहन समाचार समेत पढ्न दिने गरी फड्को मारेको छ। एआईसँग पनि अभ्यस्त हुँदै अघि बढ्नुपर्ने उनी बताउँछन्।
'एआईका कारण लोसे पत्रकारको जागिर जान्छ तर समयानुकूल प्रविधि प्रयोग गर्ने पत्रकार बाँच्छ। हरेक प्रविधि ग्रहण गरेर अघि बढ्नुपर्छ,' आचार्यले भने, 'एआई नसिकी पत्रकारिता वा अरू जुनसुकै पेसा पनि नचल्ने अवस्था आउनेछ।'
एआईमा नयाँनयाँ प्रयोग भइरहेको छ। विकसित मुलुकहरूले यसको अनुसन्धान र प्रयोगमा लगानी बढाउँदै छन्। होटल, रेस्टुरेन्ट, उद्योग, कलकारखाना, अस्पताल लगायत सार्वजनिक सेवादेखि नीति र पाठ्यक्रममा एआई जोडिँदैछ।
आचार्यका अनुसार क्यानडाले पत्रकारिताको पढाइमा एआई जोडेको छ। यसमा अध्ययन–अनुसन्धान पनि भइरहेको छ। हालै उनी समेत संलग्न एउटा टिमले क्यानडाका प्रसिद्ध १५ वटा युनिभर्सिटीमा एआई प्रयोगको नीतिबारे अनुसन्धान गरेको छ।
अनुसन्धानका क्रममा सबैजसो युनिभर्सिटीले एआई नीति बनाइरहेको पाइएको उनले बताए। कतिपयले विद्यार्थीलाई एआई प्रयोग गर्न अनुमति दिएका छन्।
उनी कार्यरत युनिभर्सिटी अफ अटवामा ५२ हजार विद्यार्थी छन् जसमध्ये आमसञ्चार र पत्रकारिता विषयमा करिब दुई हजार जना छन्। उक्त युनिभर्सिटीमा विद्यार्थीहरूलाई भाषा सम्पादन, शुद्धाशुद्धी हेर्न मिल्ने एआई टुल्स चलाउन अनुमति छ।
कुनै विषय विश्लेषणका लागि विद्यार्थीहरूले प्रोफेसरको अनुमति लिएर युनिभर्सिटीहरूले नै किनेका विभिन्न सफ्टवेयर प्रयोग गर्न पाउँछन्। यसरी युनिभर्सिटीहरूले विद्यार्थीको सिकाइका लागि विकसित प्रविधिलाई अभिन्न अंगका रूपमा लिएका छन्।
त्यस्तै एआईले प्राध्यापकहरूलाई पनि थप जिम्मेवार बनाएको छ।
'युनिभर्सिटीमा हरेक सेमेस्टरमा प्रोफेसरहरूले पाठ्यक्रम तयार पार्छन्। एआई प्रयोग गर्ने कि नगर्ने, कसरी पढाउने भनेर पाठ्यक्रममै स्पष्ट पार्नुपर्छ,' आचार्यले भने, 'मैले एआई टुल्स प्रयोग गर्न पाउने तर एआईबाट केही लेख्न नपाउने भनेको छु। विकिपिडिया वा गुगलमा खोजेजस्तो एआईबाट खोज्न र आइडिया लिन पाइयो। तर लेख्ने कुरा विद्यार्थीले आफ्नो दिमाग खियाएर लेख्नुपर्यो।'
एआईले बनाएको वा लेखेको हो कि होइन भनेर जाँच गर्ने पनि टुल्स छ। त्यो कति विश्वसनीय हो भन्नेमा चाहिँ विवाद नै रहेको उनले बताए।
अर्को कुरा, सो टुल्समा विवरण हालेपछि विद्यार्थीको सिर्जना उसको अनुमतिबिना अर्को ठाउँमा पुग्छ। यसो हुँदा विद्यार्थीको प्रतिलिपि अधिकार हनन हुन्छ, गोपनीयता भंग हुन्छ। यस कारण प्राध्यापकहरूले विद्यार्थीका लेख–रचना एआई टुल्समा हालेर जाँच्न निषेध छ। विद्यार्थीले आफै लेखेको होइन जस्तो लाग्यो भने प्रोफेसरले अर्को असाइन्मेन्ट (परियोजना) दिन सक्छ।
क्यानडामा पत्रकारिता र कम्युनिकेसन सम्बन्धी विषयहरू फरक फरक उद्देश्यले पढाइन्छन्। त्यहाँका युनिभर्सिटीहरूले खासगरी सैद्धान्तिक पाठ्यक्रम पढाउँछन्। युनिभर्सिटीमा कम्युनिकेसन पढेको मान्छे राजनीतिक छलफलमा काम लाग्छ।
पत्रकार नै बन्छु भनेर पढ्ने हो भने कलेजमा पढ्नुपर्छ। कलेजहरूले प्रयोगात्मक पाठ्यक्रम पढाउँछन्। विद्यार्थीहरूलाई फिल्डमा लगेर सिकाउँछन्।
'कलेजमा पत्रकारिता पढ्नेहरूले न्युजरूमसँग जोडिएर इन्टर्नसिप गर्ने अवसर पाउँछन्। यसबाट उनीहरू काममा जोडिन पाउँछन्। फिचर लेख्न, रेडियो कार्यक्रम र टेलिभिजन कार्यक्रम तयार गरेर चलाउन सिक्छन्,' आचार्यले भने, 'नेपालमा युनिभर्सिटी वा कलेजमा पत्रकारिता पढ्दा धेरैजसो सैद्धान्तिक पाठ्यक्रम हुन्छ। फिल्ड वा स्टुडियोमै लगेर अभ्यास गराउने चलन निकै कम छ।'
क्यानडामा विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय घटनाक्रमको उदाहरण दिएर पढाइन्छ। त्यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरू धेरै हुने भएकाले सिकाइ पनि सोही अनुसार हुन्छ।
पाठ्यक्रम हरेक वर्ष अपटेड गर्नुपर्छ। उदाहरण दिएर पढाउनुपर्छ। प्रोफेसरले दिएको उदाहरण विद्यार्थीले गुगलमा खोज्दा भेटिनुपर्छ। शिक्षकको दिमागमा जे आउँछ, त्यो उदाहरण दिएर पढाउन नहुने उनले बताए।
क्यानडामा पत्रकारिता र आमसञ्चारजस्ता विषय पढ्ने नेपाली विद्यार्थी थोरै हुन्छन्। उनले पढाउने युनिभर्सिटीमा हाल यी विषयमा नेपाली विद्यार्थी छैनन्।
'पत्रकारिता मनबाटै रूचि हुनेले मात्र पढ्ने विषय हो। तर पत्रकारिता धेरै पैसा कमाइ हुने पेसा भएन। सजिलै गर्न सकिने काम पनि होइन। त्यसले गर्दा पनि रोजाइमा नपरेको हुन सक्छ,' उनले भने।
उनका अनुसार क्यानडामा पत्रकारले तलब नपाएको भनेर उजुरी पर्यो भने त्यस्तो मिडिया हाउसको लाइसेन्स नै खारेज हुन सक्ने कानुन छ।