वाशिंगटन डिसीमा २००७ मा स्थापना भएको नेपाल अमेरिका पत्रकार संघ (नेजा) अहिले बैचारिक पलायनताको कारण अमेरिकाका केही गए गुज्रेका संस्थाहरुको दर्जामा पुगेको महसुस भएको छ । म आफू पनि यो संस्थाको सदस्य रहंदै आएको थिएं । तर दुई वर्ष अघि लस एन्जलसबाट लडाकु शैलीमा संस्थापक र सल्लाहकारहरुलाई नै लछारपछार पार्दै आएको नेतृत्वले अहिले आएर अर्को सम्मेलनको पूर्व संध्यामा अर्को रणसंघार मच्चाउन खोजेको देख्दा स्वतन्न्त्र रहनु नै ठीक भन्ने लागेको छ ।
केजातिले स्वर्ग जांदा त्यहॉ फलानो चिज खान पाइन्छ? भने जस्तो अमेरिका जस्तो सुविधा सम्पन्न र संसारकै राजधानी जस्तो ठाउँमा बसेर पनि यहॉका संघ संस्थासंग सम्बन्ध विस्तार गर्नुको सट्टा नेपालका संस्थासंग शाखा बन्न तयार भएका छन नेजा हॉक्नेहरु । नेपालमा बस्ने मानिसहरु यहॉ बिदेशमा बस्ने नेपालीहरुले यतैका ठूलाठूला स्थानमा पुगेर संसार हॉकेको हेर्न चाहन्छन न कि नेपाल कै पार्टी र भातृसंस्थाको चाकरी गरेको ।
हाल नेजा नेतृत्वको एक झुण्डले नेपाल पत्रकार महासंघको चाकरी बजाएर सदस्यता दिनु पर्यो भन्दा लाज पनि लागेर आउछ । यस्तो कुरा साधारण सभामा पनि कसरी उठाउछन् यताका पत्रकारहरु । हुन त अमेरिकालाइ नेपाली चस्माले हेरे पछि यो ठाउलाई कसरी बुझ्न सकिन्छ र?
प्रसंग चाहिं नेजाको आसन्न साधारण सभाको हो । सम्मेलन मेरिल्याण्डमा गर्ने कि शियाटलमा भन्ने विषयमा संस्था अहिले बिवादित र विभाजित बनेको देखिन्छ । वरिष्ठ पत्रकार योगेश उपाध्यायको संयोजकत्वमा मेरिल्याण्डमा सम्मेलन गर्न सल्लाहकारहरु र सचिवालयका साथीहरु तयार भए पनि त्यो प्रस्तावलाई नेपाल पत्रकार महासंघको झोले शाखाको रटान गर्नेहरुले समर्थन गर्न नसकेको नेजाका एक सल्लाहकारले बताए । नेपाली पत्रकारितामा योगेश उपाध्यायको जति योगदान र उच्च स्थान बनाएका अरु पत्रकार कोही पनि छैनन् अमेरिकामा । नेपालमै पनि केही छन होला । उनका धेरै चेलाहरु पनि अमेरिका भरि नै पलायन भएर बसेका छन । नेजा मै पनि उनले काम दिएका वा शिकाएका पत्रकार धेरै छन् । उनी जस्ता पत्रकारले दिएको सुझाव र उनको चाहना लाई समेत अपमान हुने गरी आफु खुशी निर्णय गर्न पछि परेका छैनन् ।
अमेरिका बस्ने लगभग ८० प्रतिशत पत्रकारहरु अहिले एक र अर्को कारण देखाउदै नेजा भन्दा बाहिर रहेको बताईन्छ । न्युयोर्क, वाशिंगटन डिसी र टेक्सस ड्यालसमा धेरै सक्रिय पत्रकारहरु नेजाप्रति अत्यन्तै उदास रहेका छन् । यसको मुख्य कारण नै जुनियर तथा लडाकुहरुले बल प्रयोग गरेर वा म्याच फिक्सिंग गरेर चुनाव जित्ने प्रवृत्ति हो जुन हिजोको लस एन्जलसको बैठकमा त प्रष्ट देखियो । त्यहॉ सम्मेलनमा माईक खोस्दै संस्थापकहरुलाई नै झम्टिन र हात हाल्न खोजिएको थियो । यस्तो अराजक र अनुसाशन हिन कार्य गर्ने सच्चा पत्रकार हुनै सक्दैनन ।
यस पटकको रडाकोमा पनि सोही समुह म्याच फिक्स गर्न पूर्व योजना सहित लागेको छ । यसको विजारोपण गर्ने सिलसिलामा क्यालिफोर्नियामा एक अनलाइन पत्रिका खोलियो । कहिं नभएको जात्रा हॉडी गाउंमा भने जस्तो सो पत्रिकाकाे टीममा नेजा कार्यसमितिका प्रमूख पदाधिकारीहरु पनि राखियो । एउटै संस्थाका सवै सदस्य यसरी प्राइभेट मिसनमा एकजुट भएर संस्थाका काममा प्रत्यक्ष प्रभाव पार्ने कुरालाई कन्फ्लिक्ट अफ ईन्ट्रेष्ट भनिन्छ जुन अमेरिकामा गम्भीर कानुनी अपराध हो । यो कन्फ्लिक्ट अफ इन्ट्रेष्टको शिकार भएका छन् अहिले नेजाका सल्लाहकार योगेश उपाध्याय, नेजा पदाधिकारीहरु र तमाम स्वाभिमानी पत्रकारहरु । यसै समुहको दवाव प्रभाव र प्रिफिक्स बहुमतले नेजामा एक एक मुल्य मान्यता र हिजो स्थापनाका आदर्श चकनाचुर भएका छन् । आदर्शवादी पत्रकार विमुख भएका छन किनकि उनीहरुलाई राम्रो थाहा छ यो गेम फिक्सले भोलि अर्को पटक नेजालाई हत्याउने छ र आउने साधारण सभामा पनि माईकहरु झटारो हान्ने छ । नेजाबाट टाढिएर बसेका धेरै पत्रकारले भरिएका टेक्सस, न्युयोर्क जस्ता ठाउबाट टाढा दुर दराज र एक पत्रकार समेत नभएको ठाउमा सम्मेलनलाई लिएर जानुको पछाडि नभए के को हात छ? योगेश जस्ता पुराना पत्रकारलाई अपमान गर्दै अनि गत अधिवेशनबाटै विमुख भएर बसेका ड्यालसका दर्जनौं पत्रकारलाई समेट्नुको सट्टा उनीहरुबाट टाढा सम्मेलन पुर्याउने दुस्साहस किन गरिदैछ ? यस्ता घटिया कन्फ्लिक्ट अफ इन्ट्रेष्टका खेलले नेजालाई पत्रकार नबस्ने संस्थाको द्र्जामा पुर्याउदैछ । भोलि देखिने छ नेजामा लड्ने भिड्नेहरु मात्रै रहने छन र असल प्रोफेसनलहरुको अर्कै संस्था बन्न सक्ने छ ।
नेजालाई अब भेजा भनेर बोलाए भयो । अमेरिकामा स्थापित भएका नेपाली सस्थाहरुको अवस्था दिनहु गिर्दोमा छ । अमेरिकाका नेपालीमूलका पत्रकारहरुको हित गर्ने प्रमूख उदेश्य लिएर अमेरिकि कानून अनुसार स्थापना गरीएको नेजालाई केहि भेजा नभएका पत्रकारहरुको व्यक्तिगत स्वार्थ र आकाक्षा पूर्तीका लागी अर्कै देशमा दर्ता भएको नेपाल पत्रकार महासंघको झोले शाखा बनाउन र त्यस भित्र रहेर स्वतन्त्र पत्रकारिता गर्न नसकिने धेरै स्वाभिमानी पत्रकारहरु स्विकार्दछन । नेपालमा छदा सिकेको खुट्टा तान्ने , कुर्सी ताक्ने , राजनितिक पार्टिको झोला बोक्ने , खादा र सम्मानको चाह राख्ने , भाषण ठोक्ने , एयरपोर्टबाट नेताहरुलाई ओसार्ने , दुई चार बोतल फुटाउने तर सस्थामा ठोस काम खोज्यो भने नतिजा सुन्य देखिने । अमेरिकामा सस्था दर्ता हुन्छ, नेपालका सस्थाहरुको झोले सस्था बनाएर त्यही गनाएको सस्कारलाई नेजामा भित्राउन आतुर भएका मित्रहरु हो आखा खोल्नुहोस , आफु पौरखी भएर अगाडी बढनु होस्, नाम कमाउनु होस र नेपाल पत्रकार महासंघको झोला बोकेर हैन बरु त्यसलाई आफ्नो झोला बोकाउन सक्ने हैसियत बनाउनु होस्। म आफु भने यस्तो अस्वस्थ अभ्यासबाट आफुलाई अलग राख्न चाहन्छु ।