ग्लोबल नेपाली
सन् २०१३ मा अमेरिका जानुभन्दा अघि किरण पौडेल फिल्म निर्माणमा थिए। पत्रकारिताबाट आफ्नो करिअर सुरू गरेका पौडेल डकुमेन्ट्री हुँदै फिल्म निर्माणको यात्रामा लागेका हुन्।
दासढुंगा, गुडबाई काठमाडौं लगायतका फिल्मका सह-निर्माता पौडेल नेपाल-अमेरिका फिल्म सोसाइटीका संस्थापक उपाध्यक्ष हुन्। सन् २०१६ मा स्थापना भएको सोसाइटीले सन् २०१७ यता हरेक वर्ष नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्दै आएको छ।
'मैले नेपालमा दासढुंगा फिल्मको लागि अपिल विष्ट, मनोज पण्डितसँग काम गरेँ। त्यसपछि गुडबाई काठमाडौंमा नविन सुब्बा दाइहरूसँग काम गरेँ, ' उनले भने, 'जब म अमेरिका गएँ। नेपाली फिल्मलाई विश्वमा चिनाउनु पर्छ भन्ने। त्यसपछि म यो अभियानमा छु।'
टेक्सासमा नेपाली समुदाय ठूलो मात्रामा देखेपछि डायस्पोरामा बसेर नेपाली चलचित्रको लागि केही गर्ने सोच बनाएको उनले बताए।
एकातिर नेपाली चलचित्रले ठाउँ नपाएको अनि अर्कोतिर अमेरिकामा हुर्कँदै गरेको पुस्तालाई नेपाली कला, संस्कृति चिनाउन जरूरी देखेर आफूहरू यो अभियानमा लागेको उनको भनाइ छ।
उनका अनुसार नेपाली फिल्महरू प्रदर्शनका लागि लैजाने केही कमाउने अनि फर्किनेमै सीमित थियो। यसका लागि एउटा व्यवस्थित र संस्थागत काम हुनुपर्छ भनेर सोसाइटीको स्थापना गरेको पौडेलको तर्क छ।
'अमेरिकी सरकारले पनि बहुसंस्कृतिलाई सम्मान गर्छ। विभिन्न देशका भाषा संस्कृतिका लागि यसले अनुदान दिएको थियो। तर हामीसँग कुनै पनि गैरनाफामूलक संस्था थिएन,' उनले भने, 'सुरूआतमा पूर्णजी, म, कृतना, युवाकर राजकर्णिकार लगायतले सोसाइटी स्थापना गरेको हो। ९ वर्षमा ९ वटा फेस्टिबल भएको छ। अब आउने वर्ष १० औं हुन्छ।'

विभिन्न खालका महोत्सव बेलाबखत धेरैतिर हुन्छ। तर ती महोत्सवभन्दा आफूहरूले सुरू गरेको चलचित्र महोत्सव धेरै भिन्न रहेको उनको दाबी छ।उनका अनुसार निरन्तरता नै यसको सबभन्दा गर्व गर्ने विषय हो। निरन्तर रूपमा कला, संस्कृतिका लागि काम गरेकाले स्टेट सरकार र स्थानीय सरकारबाट अनुदान समेत पाउन थालेको उनले बताए।
अमेरिकाले अन्य देशका आर्ट/सिनेमालाई बढवा दिन अनुदान दिने गरेको उनको भनाइ छ।
'समयलाई पैसासँग तुलना हुने समाजमा गैरनाफामूलक संस्था खोलेर हरेक वर्ष यो तहको कार्यक्रम गर्न सजिलो छैन। त्यसैले पनि यहाँको सरकारले हामीलाई सहयोग गर्दै गएको छ,' उनले भने, 'हाम्रो महोत्सवमा इटाली, रोमानिया, ब्राजिल, मेक्सिकोका फिल्महरूले पनि भाग लिन्छन्।यस्तो महोत्सवमा नेपाली चलचित्रहरू पनि सहभागी हुँदा उनीहरूको प्रचार प्रसार त हुन्छ नै सँगै सिनेकर्मीहरूले नयाँ विषय थाहा पाउँछन्।'
सिनेमा, डकुमेन्ट्री, कला, संस्कृति र साहित्य मानिसको मनोविज्ञानसँग जोडिने भएकाले यसको महत्वलाई व्याख्या गर्न गाह्रो हुने उनको बुझाइ छ।
कला र संस्कृतिको साटासाटका लागि यस्ता महोत्सवले धेरै योगदान पुर्याउने पौडेलको अनुभव छ।

आफूहरूले हरेक वर्ष महोत्सव गरेकै कारण नेपालमा सिने क्षेत्रमा काम गरेकाहरू उत्साही भएको उनको जिकिर छ।
'तपाईंहरूले त्यहाँ काम गरिरहनुभएको छ, त्यसैले हामीले राम्रो डकुमेन्ट्रीका लागि मेहनत गरेका छौं, राम्रो फिल्म बनाउन कोसिस गरेका छौं भनेर साथीहरूले भन्दा गर्व लाग्छ,' उनले भने, 'नेपालमा काम गरिरहेका र नयाँ आउन चाहने पुस्ताले मेरो एक्सपोज गर्ने ठाउँ छ भनेर उत्साह देखाउँछन्।'
फिल्म महोत्सवसँगै उनी टेक्सासको नेपाली समुदयामा पनि सक्रिय छन्।
नेपाली समाज टेक्सास अमेरिकामा सक्रिय पुरानो नेपाली संस्थामध्ये एक हो। यो संस्थाको उपाध्यक्ष रहेका पौडेल अहिले प्रवक्ताको रूपमा स्वयमसेवक छन्।
फिल्म क्षेत्र र समुदायमा सक्रिय रहेका पौडेलले आफ्नै व्यवसाय पनि गरेका छन्।
'अमेरिकामा मेरो सानो व्यवसाय पनि छ। एउटा किराना पसल र ग्यास स्टेशन चलाएको छु। त्यसबाट बचेको समय समाजका लागि हो,' उनले भने, 'म आफूलाई सामाजिक अभियन्ताको रूपमा चिनाउन चाहन्छु। त्यसैले म यसमै धेरै लागिरहेको छु।'