भारतसँग दोक्लम विवादपछि पहिलो ‘ट्राभल एडभाइजरी’ जारी गर्दै चीनले नेपाल भ्रमणमा जाने आफ्ना नागरिकलाई भारतीय क्षेत्रमा प्रवेश नगर्न सचेत गराएको छ ।
नेपाल-भारत सीमाक्षेत्र यात्रामा सचेत हुन भन्दै चीनले सीमाक्षेत्रमा खटिएका भारतीय सुरक्षाकर्मी, सुरक्षा निकायको भौतिक पूर्वाधार र सवारीसाधनको कुनै तस्बिर नखिच्न पनि आग्रह गरेको भारतीय समाचारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।
उसले यहाँका बजार नघुम्न, राति बाहिर नजान र प्राकृतिक विपत्ति, चोरी, यात्रामा विवाद लगायत कुनै पनि समस्या भइहालेमा नेपाल प्रहरी र काठमाडौंस्थित चिनियाँ दूतावासमा सम्पर्क गर्न भनेको छ।
चीन र भारतबीच गत जुन १६ देखि दोक्लम विवाद सुरू भएको थियो।
दोक्लम क्षेत्र चीन र भुटान दुवैले आफ्नो भूमि भन्दै आएका छन्। दोक्लममा सेना पीएलएले सडक निर्माण गर्न थालेपछि भुटान-भारत सीमा पार गरी भारतीय सेना दोक्लम गएका थिए। भारतले भुटानको अनुरोधमा आफ्ना सेना त्यहाँ गएको जनाएपनि भुटानले त्यसबारे प्रस्टसँग बोलेन।
७३ दिनसम्म दुई देशबीच तनाव भएपछि अन्ततः अगस्ट २८ मा भारतीय सेना त्यहाँबाट हटेका थिए। चिनियाँ सेनाले भने त्यहाँ गस्ती गरिनै रहने बताएको थियो।