काठमाडौँ-भीमफेदी-हेटौँडा इतिहासमा कुनै न कुनै रमाइलो प्रसंगबाट उल्लेख भएको पाइन्छ। जस्तै- राणाहरूले गाडी बोकाएर हेटौडाबाट भीमफेदी हुँदै काठमाडौँ ल्याएको। अलि अगाडि कलकत्ता अथवा बनारस पढ्न जाने मानिसहरू हिँडेरै भीमफेदी, हेटौडा हुँदै अमलेखगन्ज, रक्सौल गएको।
मेरै बा पनि यो चन्द्रागिरि, चित्लाङ, भीमफेदी, हेटौडा हुँदै काशी गएको। म पनि सानो हुँदा त्रिभुवन राजपथ हुँदै ट्रकको अनुहार भएको बसमा चढेर हेटौडा गएको। यही सिलसिलामा भविष्यका लागि साइकलबाट कान्ति राजपथबाट हेटौडा गएर भीमफेदीबाट फर्केको भन्ने प्रसंग सृजना गर्ने रहर जाग्यो ममा।
२०१९ जुलाई १९ मा अक्सफाम भन्ने गैर सरकारी संस्थामा काम छोडियो। ९-५ अथवा १०-५ गरेर जिन्दगी बिताएको पनि झन्डै ३० वर्ष भएछ, १९९० देखिको गणना गर्ने हो भने पनि। १९८९ मा सिभिल इन्जिनियर भएर तत्कालीन शाही नेपाली सेनाको प्राविधिक उप-सेनानी पदमा बहाली भएर जागिरे जीवन सुरु गरेको थिएँ। ९-५ को जागिर नहुँदा त दैनिकी नै अर्कै हुने। के गरूँ के गरूँ हुने।
हुन त आरामको जीवन जिउन पनि त सकिन्थ्यो नि बिना टेन्सन। जागिरे जीवनबाट सम्पत्ति पुग्ने सरी छ नै- खान लाउन। तर पनि इष्टमित्र, दाइभाइले जागिर छैन भन्ला भन्ने पिर। वनको बाघभन्दा मनको बाघले पिरोल्ने। कुरा गर्ने मान्छे नै नपाइने। दिउँसो बाहिर जाँदा पनि काम नभएको भन्ला भन्ने पिर।
त्यत्तिकैमा एउटा पुरानो परामर्शदाता फर्मले खानेपानीको प्रपोजलको जिम्मा लिइदिनु भन्ने अनुरोध आयो र दैनिक रूपमा जान थालेँ। साइकलमै जान्थेँ अफिस कान्तिपथमा। निवास ठेचोबाट जावलाखेल, पचली, चिकं मुगल, प्याफल, येटखा, बाङ्गे-मुढा, असन हुँदै कमलाछी स्थित परामर्शदाता फर्ममा पुग्थेँ। साइकलको ओहोरदोहोरले ‘कुलिङ पिरियड’ मा कुल हुन निकै मद्दत भएको मेरो ठम्याई छ। साइकल चलाउँदा निस्किने हार्मोनले आत्मविश्वास बढेको आभास हुन्थ्यो।
जागिर जीवनमा क्रिसमसमा बिदा मनाउने संस्कार नै बसिसकेको थियो- विदेशी संस्थामा काम गरेर। किनभने त्यति बेला काम अलि हल्का हुन्थ्यो। क्रिसमसको बेला साइकलमा हेटौडा जाने योजना बन्यो। दिपक, रोदिएल र मेरो टिम बन्यो।
साइकलको यात्रामा पथको छनौट निकै महत्त्वपूर्ण हुन्छ। हामीले कान्ति राजपथबाट जाने अनि भीमफेदीबाट फर्कने योजना बनायौँ। कान्ति राजपथमा गाडीको घुइँचो लाग्दैन र यो बाटो सबभन्दा छोटो बाटो पनि हो हेटौडा पुग्ने। गुगलको सूचनाअनुसार हेटौडा नाम महाभारतमा उल्लेखित राक्षसी रानी हिडिम्बाबाट आएको हो।
केही लुगाफाटा, साइकलको औजार र केही जगेडा पार्ट्सहरू ब्याक-प्याकमा राख्यौँ। तीनै जना उत्साहित थियौँ। मिति चाहिँ इ.स. २०१९ साल डिसेम्बर २६ तारिख। तीनै जना टिकाभैरवमा भेट्ने र त्यहाँबाट सँगै अघि जाने कुरा भयो। बिहान ८:३० मा भेला भयौँ। चिया, सेल, आलु र अण्डा ब्रेकफास्टको रूपमा लियौँ। ९ बजे हिँड्यौँ।
त्यहाँबाट ७ किलो मिटरमा तीनपाने भन्ज्याङ आउँछ। त्यही माथि डाँडा- भट्टेडाँडामा पाकिस्तान एअरको जेट विमान सन् १९९२ मा ठोक्किएर दुर्घटना भएको थियो। त्यति बेला म सर्लाहीको हरिवनमा बागमती खोलाको बाढीबाट प्रभावित जनतालाई उद्धारमा लागेको थिए।
अफिसको गाडीमा हुँदै यो समाचार सुनेको थिएँ र स्तब्ध भएको थिएँ, त्यत्रो प्लेन नेपालमा दुर्घटना भएको समाचारले। हाल त्यहाँ नेभिगेसनको लागि राडार जडान गरिएको छ। तीनपाने भन्ज्याङ रमाइलो र शीतल ठाउँ हो। वर्षा याममा यहाँ हुस्सु आउने भएकोले अर्कै संसार जस्तो भान हुन्छ- खास गरी बियर तथा अरू मादक पदार्थ चिरिप्प पार्नेलाई!
यो भन्ज्याङ काटेपछि बाटो ओरालो लाग्छ- सररर। नजिकको गाउँ छपेली ६ किमी हो। छपेली काटेपछि बाटो पहिरोले बिगारेको छ। धुले र साँघुरो। ठिक त्यही ठाउँमा रोडेलको चक्का पन्चर भयो। दिपक साइकल मर्मत गर्न सिपालु भएकोले हामी ढुक्कै थियौँ। हामीलाई पन्चर टाल्न १ घण्टा लाग्छ, दिपकलाई आधि घण्टा- अनुभवले खारिएको। अहिले त साइकलमा ट्युब नभएको टायर राख्ने चलन छ- पन्चर भनेकै हुन्न! सजिलो भएको छ।
यो बाटोको वरिपरि संखु, भैँसे, माल्टा देखिन्छ- यो भेगलाई दक्षिण ललितपुर भनेर चिनिन्छ। अलि विकट पनि भएकोले राजधानी नजिकैको कर्णाली पनि भनिन्छ। भूगोलको हिसाबले ठाडै पहाड भएकोले बस्ने र खेतीपाती गर्न त्यति उपयुक्त छैन- त्यस कारण बस्ती पातलो छ। यो क्षेत्रमा तामाङ जातिको बाहुल्यता छ।
अक्सफाममा काम गर्दा खानेपानी तथा सरसफाइ योजनाको अनुगमनको सिलसिलामा निकै पटक आएको हुनाले म यो भेगसँग परिचित छु। पारि माझकाँडा डाँडा देखिन्छ। छपेलीबाट माझकाँडा केबलकारले जोड्ने योजना थाहा पाएको थिएँ। सेयर किन्ने भनेर प्रस्ताव मलाई पनि आयो। यो उमेरमा लगानी नगर्नु बरु भएको सम्पत्तिको व्यवस्थापन गर्नू भन्ने मूल मन्त्रलाई आत्मसात् गरिरहेछु।
काठमाडौँबाट बग्ने बाग्मती तरियो अनि पारिपट्टि दालभात खाने होटेलमा दालभात खाइयो। थकाइ पनि मारियो। झन्डै ३० किमी आइएछ। आँखा चारै तिर घुमाइयो। फास्ट ट्र्याकको बाटो बन्दै गरेको रहेछ एकातिर। दिपकले ऊ त्यहाँ डाँडामाथि माल्टा भनेर देखाए। माल्टा पुरानो बस्ती हो। परतिर प्युटार। अगाडिको बाटो उकालो लागेपछि ठिंगन पुगिन्छ। अब हिँड्ने बेला भयो! फेरि साइकल को प्याडल घुमाइयो।
यहाँसम्म पुरै ओरालो थियो, अब भने बाटो उकालो लाग्यो। पहाडको बाटो उकालो-ओरालो उही त हो नि। साइकलमा मज्जा पनि यही त हो। ओरालोमा मज्जा आउने। आ.. आ.. उकालोमा त गाह्रै हुन्छ साइकल चलाउन। उकालोमा धेरैजसो खानेकुरा र देश विदेश घुम्दा भेटिएका गर्लफ्रेन्डहरू सम्झन्छु। त्यो रमाइलो सम्झेपछि उकालोमा साइकलबाट पाएको दुख हल्का गर्न मद्दत पुगेको महसुस हुन्छ। साइकल चलाउँदा डोपामाइन र इण्डोर्फिन हार्मोन उत्सर्जन हुने हुनाले पनि मुड धेरै रोमान्टिक हुन्छ र गर्लफ्रेन्ड सम्झिन्छु।
दिपक र रोदिएल अगाडि अगाडि, म पछाडि। ठाउँ-ठाउँमा मलाई कुरेर सँगै लान्थे। ग्राभेल बाटो। मोटरसाइकल फाट्टफुट्ट मात्र हिँडेका, गाडी त साह्रै कम। त्यसैले साइकललाई खासै डिस्टर्ब नभएको। धुलो, धुवाँ खानु परेन।
यो कान्ति राजपथबाट आउनुको कारण पनि यही थियो। झन्डै १ घण्टा उकालो लागेपछि ठिङ्गन भन्ने बस्ती आयो। सानो बजार पनि छ- बाटै छेउमा। ठिङ्गनसम्म आउँदा बायाँतिर अचम्म आकारको पहाडको बनोट देखिन्छ जुन पछिसम्मै मस्तिष्कमा रहिरह्यो। पाँच/सात वटा चुच्चो लस्करै एउटै लाइनमा।
ठिङ्गनपछि फेरि ओरालो लाग्छ बाटो। छेउमै एउटा चिया पसलमा रोक्यौँ चिया पिउन। बाटोपारि फास्ट-ट्र्याकको टनेल अनि पुल बन्दै गरेको पनि देखियो। यो बाटो चाहिँ उखाड-बाखड नै थियो। साइकललाई त यस्तै बाटो ठिक- कुनै गुनासो रहेन बरु मक्ख पर्दै गीत गुनगुनाउँदै ओरालो झरियो।
झर्दै झर्दै एउटा खोला भेटिन्छ। खोला टरेपछि फेरि उकालो लाग्छ। बाटो चट्टाने भएकोले अलि अप्ठ्यारो थियो। फेरि स्याँ-स्याँ र फ्याँ-फ्याँ सुरु भयो। माथि आकाशमा प्लेन आएको सुनियो। फनफन घुमिरहेको थियो। मैले सोचेँ, त्रिभुवन विमानस्थलमा ट्राफिक जाम हुँदा होल्ड गराउने ठाउँ यही होला भनेर। पाँच चक्कर लगाएपछि अनि अगाडि बढ्यो। सायद विमानस्थलले क्लियरेन्स दियो होला।
पुल तरेपछि मकवानपुर जिल्ला आउने रहेछ। भूगोल पनि अलि टार-टार भएको देखियो- खेती गर्न उपयुक्त। बस्ती पनि ठाउँ-ठाउँमा भएको। सडक पनि पिच भएको। अलि सुगम जस्तो देखिने। ललितपुरको पुछार भेगभन्दा छुट्टै देखिएको। बाटो उकालो उकालो लागेको लागै- जति गए पनि नसिद्धिने।
माघको महिना, दिन पनि छोटो। ५ बजे झम्म साँझ पर्दै थियो। परतिर जितपुर भन्ज्याङ भनेर कोशे ढुंगाले देखायो।
दिपक र रोदिएल अघि-अघि बढेका, म चाहिँ एक्लै पछाडि तर रमाउँदै गइरहेको थिएँ। जितपुर भन्ज्याङमा मलाई कुरेर बसेका रहेछन् ती दुई भाइ। चिया खायौँ सबैले। अब त हेटौडा पुगे जस्तै भान भएन। उकालो सकियो। अब त ओरालै ओरालो। बस्दा बस्दै झमक्कै अँध्यारो भयो, किन नहुनु ६ पो बजिसकेको रहेछ। मसँग मात्र एउटा टर्चलाइट थियो। एउटा टर्चको भरमा तीनै जना हेटौडा पुग्या ८ बजे। डेन्जर यात्रा! बिचमा मकवानपुर गढी रहेछ, पत्तो नै भएन अँध्यारो भएर।
एउटा रुममा तीन जना सुत्ने सल्लाह भयो बेलुकाको खाना खाएर। कमन रुममा सुत्ने बानी हराइसकेको थियो जागिरे जिन्दगीको भोगविलासले। पुरुषसँग रुम सेयर नगरेको झन्डै ३० वर्ष भयो होला। तर थकाइ लागेकोले मज्जाले निद्रा लाग्यो। साइकलेहरू त कमन रुममै सुत्ने चलन रहेछ। त्यो पनि एड्भेन्चरको पाटो रहेछ। कहिलेकाहीँ घुर्ने मान्छे सँगै पर्यो भने खत्तम नि। एक पटक परेको छु सैलुङ साइकल यात्रामा। त्यसैले थर्कमान छु रुम सेयर गर्न। धन्य हामी तीन जनै घुर्ने परेनौँ।
फर्कने बाटो हामीले भीमफेदीबाट तय गर्यौँ। ब्रेकफास्टमा मलाई अम्लेट नभई हुन्न। पुरी तरकारी र जेरी खानै पर्यो। भोक त्यतिले नि मरेन। अनि चना पनि थप्यौँ। हेटौडा एउटा रमणीय ठाउँ हो। मेरो एक जना साथी रामलाल पनि यहीकै हो। ऊ अहिले अमेरिकामा बस्छ। कलेजमा पढ्दा हेटौडाका ठिटीहरू पनि थिए- मैले एउटीको अनुहार पनि सम्झेँ। मेरो सम्झना शक्ति राम्रै रहेछ।
फेरि सम्झेँ ती केटीहरू, पुलचोक क्याम्पसको ‘ई’ ब्लकमा पढ्थे। हामी चाहिँ ‘डी’ ब्लकमा। क्लास ब्रेकमा उतैतिर हेर्न भनेर जान्थ्यौँ। खालि हेर्ने मात्र रहर! १७, १८ को उमेरको कुरो हो यो, अन्दाज गर्नुस् न! कहाँ छन् होला तिनीहरू? देखे पनि चिनिन्न होला।
भैरव डाँडाको उकालो चढ्न यो ‘तत्कालीन’ मैयाँको सम्झनाले राम्रै शक्ति दियो है। हेटौडाको ‘बर्ड आइ भ्यु’ हेर्यौँ भैरव डाँडाबाट। एउटा फलामे टावर पनि रहेछ यहाँ भ्यु हेर्न। ‘ओली टावर’ त होइन यो, त्योभन्दा अगाडि नै बनाएको देखिन्छ। यहाँ चाहिँ टावर उपयोगी देखिन्थ्यो भ्यु हेर्न। मन्दिरमा ती दुई भाइले दर्शन गरे, मलाई खासै रुचि थिएन। मात्र फोटो खिचियो सम्झनाको लागि।
हाम्रो लागि हेटौडाको सम्झना भनेको भैरव डाँडा मात्र रह्यो। हाम्रो लागि हेटौडा नौलो नभएकोले पनि लामो समय बस्न आवश्यक ठानेनौँ।
भैरव डाँडाबाट भित्री बस्ती हुँदै एउटा पुलेसोबाट भैँसे खोला तरेर भैँसे बस्ती निस्क्यौँ। भैँसे पुगेपछि दुइटा बाटो आउँछ- एउटा सिम भन्ज्याङ, अर्को भीमफेदी। हामीले भीमफेदीको बाटो रोज्यौँ।
बाटो खोलाको किनारै किनार सुस्तरी उकालो लाग्छ भीमफेदी नपुगुन्जेल। भीमफेदी निकै पुरानो बस्ती र व्यापारिक केन्द्र थियो। नेपाल खाल्डो भित्रिने एउटै नाका यही हो। पहिले बाटो नहुँदा राणाहरूले गाडी बोकाएर काठमाडौँ ल्याएको बाटो यही नै हो। यो बजार प्रख्यात चिसापानी गढीको फेदमा अवस्थित छ।
स्थानीय मान्यताअनुसार यही नजिक जंगलमा भीम लगायत पाण्डवहरूको १४ वर्षे वनबास कालमा बसेको पहाडको फेद भएकाले यस ठाउँको नाम भीमफेदी रहन गएको अरे।
भीमफेदीका घरहरू धेरैजसो खाली खाली नै देखिन्थे। बजार त अहिले मृत प्रायः भइसक्यो। पहिलेका व्यापारी साहुहरू कि काठमाडौँ कि हेटौडा सरिसके। मेरो स्कुले साथी नारायण श्रेष्ठ पनि यहीकै थिए तर उनका बुवाहरूकै पालामा काठमाडौँ आएका थिए।
भीमफेदीबाट बाटो ठाडो उकालो लाग्छ। साइकल चलाउन हम्मे हम्मे। बाटोभरि गाजरको जुस पसल थिए। साइकलले थाकेर हत्तु भएको बेला जुस पसल नदेखे जस्तो गरेर जानु असम्भव नै थियो। एक ठाउँमा रोक्यौँ र जुस खायौँ। एक होइन दुई गिलास खायौँ। अमृत सरह हुने नै भयो।
झन्डै १५ किलो मिटरको बाटोमा सम्म कत्ति भेटिएन। बिच-बिचमा पुगेपछि चिसापानी गढी आउँछ। किल्ला जस्तो ढुंगे पर्खालले सुरक्षित बनाइएको संरचना हो यो। तोपको ब्यारल छिराउन मिल्ने गरी चारैतिर तोप चौतारो थिए। तलबाट आएका शत्रुका सेनालाई यो किल्ला कब्जा गर्न गाह्रै हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ।
गढी पुगेपछि अलि सजिलो भयो। हेटौडा चल्ने सुमोको यो बाटोमा एक छत्र शासन चल्दो रहेछ, बचेर साइकल गुडाइयो। बाटो साँघुरो भएकोले बेस्सरी गाडी जाम थियो- हामीलाई त रमाइलै भयो- साइकल त छिर्थ्यो नै।
बल्लबल्ल चलाइयो माथि देउरालीसम्म- बेलुका ७:३० बज्ने गरी। बास देउरालीकै होटेलमा- एउटा कोठा ३ जना। बेलुकाको खाना खाइयो मज्जा आयो।
भोलिपल्टको यात्रा पनि लामै बाँकी छ। देउरालीबाट कुलेखानीको तलाउ हुँदै फाखेल तिर नगई चखेल तिरबाट आइयो। चखेल सानो तामाङ बस्ती रहेछ। यो बस्तीबाट उकालो लागेपछि चन्द्रागिरिको डाँडा फेद चम्पादेवी तिरको देउराली नै भन्ने ठाउँ निस्कियो। यो डाँडामा पुरानो रोपवेका पिलर र बकेटहरू प्रमाणका रूपमा यथावत् छँदै छ। नयाँ पिँढीको लागि इतिहासको एउटा साक्षी हुन सक्छ।
यहाँ चिया खाएर सिधै तल ओर्लियौँ। कीर्तिपुरको मच्छेगाउँबाट कीर्तिपुर बजारकै लहना भन्ने नेवारी खाना खान साइकलमा हुत्तियौँ। त्यहाँ टन्न हुने गरी नेवारी व: (बारा) चटामरी, छोयला, बजी ( चिउरा) अनि ठो: (चामल को जाड:) खाइयो र त्यहीबाट तीन जना तीन तिर बाँडियौँ।
निष्कर्षमा यो यात्राले कान्तिराज पथ, जितपुर भन्ज्याङ, मकवानपुर गढी, भीमफेदी, चिसापानी गढी, कुलेखानी जस्ता ऐतिहासिक र महत्त्वपूर्ण स्थानहरू परिचित हुने मौका पाइयो। डा. के.के. डोटीले भने जस्तो- एक साइकल यात्रीले यो सुन्दर संसारलाई अन्य कुनै पनि वर्गका नागरिकहरूभन्दा धेरै देख्छन्।
यो यात्रामा प्रकृति तथा इतिहासका विभिन्न पहलुहरूलाई देखे जस्तो अनुभव मलाई पनि भयो।




