भिक्टोरिया छोड्नु पूर्व हामीले होटलले नि:शुल्क उपलब्ध गराएको साइकलबाट बुचर्ड बगैंचा घुम्ने र कायाक गर्ने योजना बनाएका थियौं। बिहान ६ बजे नै हामी साइकलको लागि होटलको रिसेप्सनमा कुरा गर्न पुग्यौं तर सबै साइकलहरू बुक भैसकेका रहेछन्।
हामीलाई होटलमा चेकिङ गर्दा ‘होटलले नि:शुल्क उपलब्ध गराउने साइक्लिङको आनन्द लिनु होला’ सुन्दर मुस्कान सहित रिसेप्सनिस्टले सुझाएकी थिइन्। तर हामीले सबै बेलुका नै बुक हुन्छ भन्ने अनुमान भने गर्न सकेनौं।
साइकलमा बुर्चर्ड गार्डेन जाने हाम्रो योजना बिफल भएपछि गार्डेन जाने कि नजाने भन्नेमा हामीबीच छलफल भयो र अन्तत: हामी सिधै कायाक गर्ने योजना बनाएर बिहानको नास्ता लियौं।
झण्डै १० मिनेटको हिँडाइपछि हामी कायाक यरियामा पुग्यौं। मौसम अति सुन्दर थियो। थुप्रै मानिसहरूले मज्जालिइरहेका थिए। ग्रुप, जोडी, एकल धेरै प्रकारका कायाक बोटहरू थिए। हामीले होटलले उपलब्ध गराएको कुपन दियौं। दुई जना सँगसँगै कायाक गर्न मिल्ने २ वटा कायाक बोट लियौं।

भिक्टोरिया हार्वर जहाँ हामी कायाक गर्दै थियौं यो प्यासिफिक ओसियनसँग जोडिएको छ। यो सलिक समुन्द्रको एक भाग पनि हो। ह्वेल र समुन्द्रका अन्य धेरै चराहरू पाइने भएकोले यो हार्वरलाई माइग्रटरी बर्ड स्यान्क्चुअरी पनि भनिँदो रहेछ। यहाँ विशेष गरेर विभिन्न समयमा विभिन्न देशहरू र स्थानहरूबाट चराहरू आउने गर्दा रहेछन्।
पहिलो चोटि मैले कायक भने अस्ट्रेलियाको तास्मानियामा गरेको थिएँ। हामी ६ जना रोटरीयनहरू तास्मानियको भ्रमणमा थियौं यो २०२० को भ्रमण थियो।
तास्मानियाको रोटरीयन साथी लुइसले नयाँ बनिरहेको घर देखाउँदै भनेकी थिइन् ‘यो नयाँ घरमा सबभन्दा पहिला मनोज र गीतालाई राख्न चाहन्छु।’
त्यो बेला घर बन्दै थियो र मेरो श्रीमती गीता यो भ्रमणमा थिइनन् पनि। जब म र मेरी श्रीमती दोस्रो पटक अस्ट्रेलिया पुग्यौं लुइसकोमा जानुपर्ने नै थियौं। हामीलाई लुइसको स्पेशल निम्तो थियो। उनको नयाँ घर पहिलो अतिथिको सत्कारको लागि तयार भैसकेको पनि थियो। हामी तास्मानियाको उनको सुन्दर घरमा ३ रात रमायौं। त्यही घरको आँगनमा रहेको सानो तालमा मैले पहिलोचोटि कायाक गरेको थिएँ।
पहिलोचोटि कायाक गर्दा मलाई साँच्चै नै डर लागेको थियो। लुइसले नै ‘केही हुँदैन, डुब्दैन, मज्जाले गर्न सक्छ, गर’ मलाई साहस दिएकी थिइन्। बरू मेरी श्रीमती भने मलाई नगर्नको लागि बढी फोर्स गर्दै थिइन्। पानी चिसो नै थियो त्यही भएर मैले डर बीच कायाक गरेको थिएँ। लुइसको त्यो ताल एक फन्को लगाएँ। अन्तमा मलाई रोकेर बाहिर निस्कन अलि गाह्रो भएको थियो। चिसो पानीले शरीर भिजाएको पनि थियो।
तास्मानियाको कायाकपछि भिक्टोरियाको प्यासिफिक समुन्द्रको बे मा मेरो दोस्रो थियो। तास्मानियाको मेरो कायाक देखेकोले होला यो पटक भने श्रीमती पनि उत्सुक थिइन्। हामीले आफ्नो बोट लियौं र त्यो प्यासिफिक ओसियनसँग जोडिएको सलिक नदीको बेमा होमियौं।
समुन्द्रको त्यो बे मा पहिलो पटक दुई जना बस्ने लाम्चो चुच्चे बोटमा बस्दा श्रीमती अलि डराएकी थिइन्। पक्कै म भने उत्साहित नै थिएँ। जब हामी तालमा होमियौं मेरो नियन्त्रणमा बोट आउन झण्डै १५ मिनेट लाग्यो। साइकल चलाउन पहिलो पटक सिक्दा जस्तै जताजता किनारा छ त्यही जाने। उल्टोउल्टो बाटो हिँड्ने।
अनि जहाँ जहाँ अरू बोटिङ गरिरहेका छन्, त्यतै त्यतै जाने। यता खियायो, उता खियायो जहाँको तहीँ घुमेको घुमै। श्रीमती भने हाँसेको हाँस्यै। छोरी ज्वाइँ हामी घुमेको देखेर हाँस्ने, हामी उनीहरू एकै ठाउँ घुमेको देखेर हाँस्ने झण्डै १५/२० मिनेट हामी यसरी नै घुम्यौं। विस्तारै बोटलाई नियन्त्रणमा लिँदै बोट निषेधित क्षेत्रसम्म पुगेर फर्कियौं।
विस्तारै छल्किएको पानीको छालसँगै हल्लिएको बोटमा बसेर चिसो हावासँगै कायाकिङको मज्जा अद्भुत थियो। २०/३० जना बसेर क्यानोयिङ दौड गरिरहेका विद्यार्थीहरू हाम्रो बोट देखेर आफै भाग्दथे कतै हामीले ठोक्काइदिने हो कि भनेर। त्यो बे को माझमा अरूले कायाक कुदाएको देख्दाको झन् अर्को मज्जा थियो।

हामीले एकले अर्कोको फोटो भिडिओ पनि लिइरहेका थियौं। एक घन्टा गर्ने भनेको कायाकिङ आधा घन्टा बढी भयो। कायाकिङ पछि हामी सिधै होटल आयौं र चेकआउट पश्चात होटल अगाडि नै रहेको बस स्टेसनबाट डबल डेकरको सार्वजनिक बसमा चढेर फेरी स्टेसनतिर लाग्यौं।
भिक्टोरियामा गुड्ने डबल डेकरको बस पनि एक पर्यटकीय आकर्षण भित्र पर्दोरहेछ। झण्डै पाँचपाँच मिनेटमा खाली होस् कि भरी कुदिरहने यी बसहरू अति सस्तो र भिजिटरहरूको लागि आकर्षक थियो। चेन्ज पैसा नहुँदा डबर डेकरको पहिलो तल्लामा बसेर भिक्टोरियाको यो यात्रा हामीले नि:शुल्क गरेका थियौं।
जब हामी न पैसा न कार्डभित्र पस्ने र निस्कने गर्दथ्यौं गुरूजी हामीलाई हेरेर हाँस्नु हुन्थ्यो। पक्कै उनको लागि यो नौलो थिएन। भिक्टोरिया पर्यटकीय सहर भएको हुँदा हामी जस्ता ज्ञान पनि नभएका र पैसा पनि नभएकाहरू नि:शुल्क बस चढ्थे र ओर्लनथे होला भन्ने हामीले अनुमान लगाएका थियौं।
भ्यानकुभर जाने फेरीको समय १२ बजेको थियो। हामी समयमै फेरी स्टेसनमा पुग्यौं। यो पटक भने हामीलाई सबै कुराले सहज भएको थियो। हामीले धेरै कुराहरू सिक्दै थियौं।
भिक्टोरियाबाट भ्यानकुभरसम्मको फेरीको यात्राभरि मेरो मानसपटलमा नेपाली छोराछोरीहरूको अनुहार, उनीहरूको अट्टाहसपूर्ण हाँसो, चिरविरचिरविर एकअर्कोसँग गरीरहेका बातचितहरू उम्लिरहेको थियो।
ती छोराछोरीहरू आफ्नो अतितलाई भुलाएर मस्त थिए आफ्नो भाग्यले डोराएको जीवनको यात्रालाई पूर्णता दिन।
लेखान्त त होला, नेपालमा जन्मेका बाबुआमाले त्यागेका ती छोराछोरीहरू एक ध्रुबबाट अर्को ध्रुबमा पुगेर अन्जान व्यक्तिहरूले उनीहरूको सेवा गरिरहेका छन्।

उनीहरूको जीवनको औचित्यलाई सार्थकता दिन ती आमाबुबाहरू दिनरात खटिएका छन्। प्रत्येक क्षण उनीहरूलाई ती छोराछोरीको चिन्ता छ।
भ्यानकुभरसम्मको फेरीको फिर्ती यात्रा सकिएको जब छोरीले ‘ड्याडी हामी त भ्यानकुभर’ भन्दा थाहा पाए। भ्यानकुभरको यो साँझ पनि तीन भाइ छोराहरू र ती छोराहरूलाई क्यानडा देशमा लालनपालन गर्ने आमा सान्ड्रासँगको भेटघाट थियो।
सान्ड्राले भ्यानकुभर सहरको मुटुमा अवस्थित प्रख्यात रेष्टुरेन्ट जाई बुरार्डमा हाम्रो भेटघाट सहित डिनरको लागि बुक गरिसकेको जानकारी मेरो फेसबुक म्यासेजमा पठाइसकेकी थिइन्। नेपालबाट धर्मपुत्रको रूपमा गएका राम, राज र राजुसँग भेट्दै थियौं। उनीहरू तीन जना दाजुभाइ थिए। तीन भाइ छोराहरू, सान्ड्रा अनि उनकी आमा पनि आउँदै थिइन्।
सान्ड्राले २००९ मा राजलाई धर्मपुत्रको रूपमा लगेकी थिइन्, त्यसबेला राजको उमेर ३ वर्षको थियो। राजको दुई दाजुहरू राम ५ वर्ष र राजु ७ वर्षको थिए। जब सान्ड्राले राजको दुई दाजुहरू पनि छन् भन्ने थाहा पाइन् उनले मलाई बाँकी दुई भाइलाई पनि धर्मपुत्रको रूपमा लैजान विशेष पहलको लागि अनुरोध गरेको थिइन्।
नेपालको कानूनले छोरा भएको विदेशीले छोरा लिन नसक्ने प्रावधान थियो। राजलाई धर्मपुत्र लगेपछि सान्ड्राले भने अर्को छोरा लिन नसक्ने अवस्था थियो। हुन त नेपालको कानूनले नै दाजुभाइको हकमा भने लागु नहुने प्रावधान त थियो तर उनीहरूको बेवारिसे कागजपत्रको कारण कानूनी रूपमा दाजुभाइ प्रमाणित गर्ने कुनै कागजपत्र भने थिएन।
२०१० बाट क्यानडाले नेपालबाट धर्म पुत्रपुत्री लैजानको लागि बन्द गरेको थियो। मैले सान्ड्रालाई पहिला तपाईंले क्यानडा सरकारको स्वीकृति लिन र त्यो स्वीकृति मलाई पठाउन हुन अनुरोध गरेको थिएँ। सान्ड्राले जब क्यानडा सरकारलाई उनीसँग भएको कागजपत्र बुझाइन् र राजको दुई दाइलाई लिन पाउन निवेदन दिइन्। बालअधिकारप्रति अति नै संवेदनशील क्यानाडियन सरकारले सहजै स्वीकृति गरेछ र उनले मलाई क्यानडा सरकारले दिएको स्वीकृति र धर्मपुत्रको रूपमा आउने दुई भाइको नागरिक हुने र नागरिक हुँदा पाउने सबै कुराहरूको क्यानडा सरकारले ग्यारेन्टी गरेको पत्र समेत मलाई पठाइसकेकी थिइन्।

अन्तत: नेपाल सरकारले पनि दाजुभाइलाई एकै घरपरिवारमा रहेर बस्न पाउने बालअधिकारको सुरक्षा गर्दै सान्ड्राको निवेदन स्वीकृत गर्यो। तर क्यानडा सरकारले उनीहरूको डिएनए टेस्ट म्याच भएपछि मात्र भिसा दियो। हाल उनीहरू क्यानडामा भाग्यले डोराएको बाटोमा रमाइरहेका छन्।
बाबुआमा दुबै रोगको उपचार गर्न नसकेर बितेपछि उनीहरूलाई दिदीले रसुवाबाट काठमाडौं ल्याइछन्। पछि दिदी पनि केटासँग तीनै भाइलाई कोठामा छाडेर कतै हराइन्। दुई तीन दिनसम्म बेवारिसे ३ बालकबारे घरबेटीले प्रहरीमा खबर गर्यो। प्रहरीले मुचुल्का सहित बालगृहमा बुझायो। नेपालको कानूनी प्रकृया अनुसार उनीहरूलाई परिवार खोज्ने क्रममा क्यानडा निबासी सान्ड्रा उनीहरूको विधता बनेर आइन्।
ठिक ५ बजे हाम्रो भेटघाट भयो। तीन भाइ हाँसेको हाँस्यै। उनीहरू साँच्चिकै खुसी देखिन्थे। उनीहरू आज पनि बिना सहारा कोठामा छोडेर हिँड्ने दिदीको खोजीमा छन्। उनीहरूले मलाई अन्तमा यही सहयोगको लागि अनुरोध गरिरहेका थिए।
जेठो राजु क्यानडा पुग्दा झण्डै १४ वर्षको थियो त्यही भएर मज्जाले नेपाली बोल्ने, रामले भने त्यति नबोल्ने तर राम्रोसँग बुझ्ने। मैले राजुलाई पनि नेपाली राम्रोसँग बोल्न सिकाउन भने राजुलाई। झण्डै २ घन्टाको यो भेटघाट फेरि नेपालमा भेट्ने बाचा सहित सकियो।
क्रमश:
आश्चर्य लाग्ने विमानस्थलको कायापलट!
स्टार होटल भनेको त बडेमानको पानी जहाज पो रैछ!
बाटो-बाटोमा तर्साउने भूतहरू!
यसरी बन्यो आगोले ध्वस्त क्यानडाको भ्यानकुभर सहर
ओहो तपाईंहरू त नेपाली पो हुनु हुँदोरहेछ!
कुइरेको त्यो कर्के आँखा!
नेपालमा जन्म भएकोमा गर्व छ उनीहरूलाई
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)