जसरी प्रत्येक मान्छेको औंलाको छाप फरक हुन्छ, त्यस्तै हरेक मान्छेको शरीरको गन्ध पनि विशेष हुन्छ।
स्कटल्यान्डको युनिभर्सिटी अफ स्टर्लिङका सामाजिक मनोविज्ञान प्राध्यापक क्रेग रोबर्ट्सका अनुसार जीन, हर्मोन, स्वास्थ्य र सरसफाइको बानीले मात्र होइन, हामीले खाने खानेकुराले पनि शरीरको गन्ध फरक पार्छ।
यीमध्ये जीन र हर्मोन त हाम्रो नियन्त्रणमा छैनन्, तर केही कुरा हामी आफै नियन्त्रण गर्न सक्छौं, ताकि शरीरबाट मीठो बास्ना आओस्।
तिनैमध्ये सबभन्दा महत्त्वपूर्ण हो, हाम्रो आहार।
अन्तर्राष्ट्रिय समाचार संस्था 'बिबिसी' ले प्रकाशन गरेको एक स्वास्थ्य रिपोर्ट अनुसार हामीले खाने खानेकुराले शरीरको गन्ध मात्र निर्धारण गर्दैन, बरू हामी अरूका नजरमा कति आकर्षक देखिन्छौं भन्नेमा पनि असर पार्छ।
स्टेट युनिभर्सिटी अफ न्यूयोर्क की हेल्थ एन्ड वेलनेस अध्ययनकी सह–प्राध्यापक लीना बेगदाचे शरीरको गन्धलाई मुख्य दुई कुराले प्रभाव पार्ने बताउँछिन् — पाचन प्रणाली र छाला।
खाना पचाउने क्रममा आन्द्रामा रहेका ब्याक्टेरियाले त्यसलाई साना साना कणमा टुक्रा पार्छन्। यस क्रममा ग्यास उत्पन्न हुन्छ। त्यही ग्यास सासमार्फत् बाहिर निस्कन्छ।
संसारका झन्डै एकतिहाइ वयस्कहरू कुनै न कुनै रूपले सास गनाउने समस्याले ग्रस्त छन्। यो समस्याको एउटा मूल कारण खानेकुरा हो।
जहाँसम्म छालाको कुरा छ, त्यसमा पनि खानेकुरा नै जोडिन्छ।
खाना पचिसकेपछि त्यसका रासायनिक तत्व रगतमार्फत शरीरका विभिन्न भागमा पुग्छन्। त्यस क्रममा केही तत्व पसिनासँगै बाहिर निस्कन्छ।
त्यही पसिना छालामा रहेका ब्याक्टेरियासँग मिसिँदा गन्ध उत्पन्न हुन्छ।
यहाँ ध्यान दिनुपर्ने कुरा के भने, पसिनाको आफ्नो कुनै गन्ध हुँदैन। जब त्यो पसिना ब्याक्टेरियासँग मिसिएपछि त्यसले गन्ध उत्पन्न गराउँछ। र, त्यो गन्ध कुनै न कुनै रूपमा हाम्रो खानेकुरासँग जोडिन्छ।
फलफूल र तरकारीको प्रभाव
बिबिसीका अनुसार सामान्य फलफूल र हरियो तरकारी धेरै खाने मानिसको शरीरबाट सामान्यतया राम्रो गन्ध आउने अध्ययनले देखाएको छ।
सन् २०१७ मा अस्ट्रेलियामा गरिएको एक अध्ययन अनुसार बढी फलफूल र तरकारी खानेहरूको शरीरबाट फलजस्तै मीठो बास्ना आएको पाइएको छ।
कतिपय तरकारी भने यस्ता पनि छन्, जुन लगातार धेरै खाइरह्यो भने त्यसले शरीरबाट नमीठो गन्ध ल्याउँछ।
ब्रोकाउली, काउली, बन्दा लगायतका तरकारी हाम्रो स्वास्थ्यका लागि फाइदाजनक भए पनि तिनमा सल्फरको मात्रा धेरै हुन्छ। त्यसैले कहिलेकाहीँ यी तरकारी खाएपछि नमीठो गन्ध आउन सक्छ।
पोषणविज्ञ केरी बिसनका अनुसार यस्तो सल्फर रगतमार्फत शरीरमा फैलिएपछि र छालामा रहेको ब्याक्टेरियासँग मिसिएपछि त्यसले पसिनाको गन्ध तीव्र बनाउँछ।
लसुन र प्याजले पनि यही कारण सास र पसिनाको गन्धमा प्रभाव पार्छ। केही अनुसन्धानले भने लसुन खाँदा सासको गन्ध नराम्रो भए पनि पसिनाको गन्ध राम्रो हुने देखाएको छ।
चार्ल्स युनिभर्सिटी (चेक गणराज्य) का वैज्ञानिक जान हाभलिचेकले गरेको अध्ययनमा लसुन धेरै खाने पुरूषहरूको पसिनाको गन्ध महिलाहरूले बढी मन पराएका थिए।
'लसुनका एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोबियल गुणहरूले शरीरलाई स्वस्थ बनाउँछन्, र सम्भवतः यही कारणले लसुन खाने पुरूषहरूको गन्ध राम्रो हुन्छ,' उनले भने।
त्यस्तै, कुरिलोमा 'अस्पैराग्युसिक एसिड' नामक तत्व हुन्छ, जसले पाचनपछि मिथेनथियोल र डाइमिथाइल सल्फाइड जस्ता सल्फरयुक्त गन्ध निर्माण गर्छ।
यसले पसिना र पिसाब दुवैमा कडा गन्ध ल्याउँछ, जुन पाँच घन्टासम्म रहिरहन्छ।
तर सबै मानिसमा यो गन्ध बन्दैन। यसमा शरीरको जीन र हर्मोनले पनि ठूलो भूमिका खेल्छन्।
मासु र माछाको प्रभाव
माछा र मासुमा रहेका प्रोटिन 'एमिनो एसिड' र बोसोमा परिणत हुने क्रममा निस्कने तत्व पसिनासँग मिसिँदा त्यसले नमीठो गन्ध निर्माण गर्छ।
बिबिसीका अनुसार सन् २००६ को एउटा अध्ययनले मासु नखाने पुरूषहरूको पसिनाको गन्ध महिलाहरूका लागि आकर्षक पाइएको थियो। त्यसको तुलनामा नियमित मासु खानेहरूको गन्ध महिलाले मन पराएका थिएनन्।
'हाम्रा लागि यो नतिजा चकित पार्ने खालको थियो, किनकि मानव विकासक्रममा हाम्रा पुर्खाका लागि माछा-मासु नै महत्त्वपूर्ण आहारा थियो,' अनुसन्धाता हाभलिचेकले भनेका छन्।
मदिरा र कफीको असर
लीना बेगदाचेका अनुसार, मदिरा बढी सेवन गर्दा पाचन र पसिना दुवैबाट खराब गन्ध आउँछ।
शरीरले मदिरा पचाउने क्रममा एक विषालु तत्व निर्माण गर्छ, जसले मदिराजस्तै गन्ध ल्याउँछ। मदिरा सेवनले शरीरमा ब्याक्टेरियाको संख्या बढ्न गई सास पनि गनाउने वैज्ञानिकहरूले बताएका छन्।
त्यस्तै, कफी वा चियामा भएको क्याफिनले पसिना उत्पन्न गर्ने ग्रन्थीहरूलाई सक्रिय बनाउँछ।
यसले ब्याक्टेरिया वृद्धि गर्न अनुकूल वातावरण बन्छ र यही कारण शरीरको गन्ध तीव्र हुन्छ।
उपवासको असर
बिबिसीका अनुसार उपवासले शरीरको गन्धमा सुधार ल्याउने वैज्ञानिक अध्ययनले देखाएको छ।
यसका लागि केही महिलालाई ४८ घन्टा उपवास बस्न लगाइएको थियो। त्यसपछि उनीहरूको शरीरको गन्ध उपवास बस्नुअगाडिको तुलनामा राम्रो ठहरिएको हाभलिचेकले बताए।
तर यो नतिजा सबैमा समान थिए।
सन् २०१८ मा स्विट्जरल्यान्डमा भएको अर्को अनुसन्धानले भने उपवास बस्नेहरूलाई सासको गन्धले सताएको पाइएको छ।
***