नेपाली कांग्रेसको आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा नेता कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापाबीच नोकझोक भएको छ।
सामाजिक सञ्जालमा केही समयदेखि आफूविरूद्ध गाली आएको र त्यसमा महामन्त्री थापाको सचिवालयको भूमिका रहेको कुरा नेता सिटौलाले राखेका थिए।
हामीले आजको केन्द्रीय समिति बैठकमा नेता सिटौला र महामन्त्री थापाबीच भएको नोकझोकबारे सिटौला र थापानिकट केन्द्रीय सदस्यलाई सम्पर्क गरी कुरा सोधेका थियौं।
उनीहरूका भनाइमा सामाजिक सञ्जालमा लेखिएका विषयवस्तुकेन्द्रित नोकझोक भएको हो।
नेता सिटौलानिकट एक केन्द्रीय सदस्यले सेतोपाटीलाई भनेअनुसार पार्टीभित्र औपचारिक र अनौपचारिक कुराकानी बाहिर पुग्ने गरेकोमा सिटौला असन्तुष्ट देखिन्थे।
‘पार्टीभित्र भएका औपचारिक तथा अनौपचारिक कुराकानी र संवादलाई बाहिर लैजाने, सामाजिक सञ्जालसम्म पुर्याउने? हामीलाई खरानी बनाइदिन्छु भन्ने ढंगले सचिवालय खडा गरेर गाली गर्ने?,’ महामन्त्री थापालाई लक्ष्य गर्दै सिटौलाले केन्द्रीय समितिमा भने, ‘फेसबुकबाट नेता, सभापति बन्न खोज्ने? आफू कांग्रेस महामन्त्री भन्ने थाहा छ कि छैन? सामाजिक सञ्जालबाट पार्टी कब्जा गर्न खोज्ने?’
जेनजी आन्दोलनपछि महामन्त्री थापाले भिडिओ सन्देशहरू जारी गर्दै सभापति शेरबहादुर देउवासहित नेताहरूलाई बिदा गर्नुपर्ने अभिव्यक्ति दिएका थिए। त्यसतर्फ पनि सिटौलाका भनाइकेन्द्रित देखिएको ती केन्द्रीय सदस्यले बताए।
‘हामीलाई सामाजिक सञ्जालमा गाली गरेर खरानी बनाउँछु भन्ने? लास जलेको ठाउँको खरानी त काम लाग्छ,’ सिटौलाले केन्द्रीय समितिमा भनेका थिए।
आफूविरूद्ध सिटौलाले विभिन्न आरोप र प्रश्न उठाएपछि महामन्त्री थापा बसेको ठाउँबाट उठेर कार्यवाहक सभापति पूर्णबहादुर खड्का भएको ठाउँ पुगेर कुराकानी गरेका थिए।
‘पूर्वमहामन्त्रीज्यूले केन्द्रीय समितिमा बोल्ने शैली यस्तै हो? मैले नेताहरूलाई गाली गर्न कहाँ सचिवालय राखेँ? मेरो त्यति ठूलो सचिवालय छ र?,’ महामन्त्री थापाले कार्यवाहक सभापतिसँग भनेका कुरा उद्धृत गर्दै थापानिकट एक केन्द्रीय सदस्यले सेतोपाटीसँग भने, ‘पूर्वमहामन्त्रीज्यूले एजेन्डाकेन्द्रित कुरा राख्नुपर्यो, व्यक्तिगत कुरा केन्द्रीय समितिमा राख्न भएन।’
सिटौला पूर्वमहामन्त्री हुन्। सुशील कोइरालाले आफ्नो पालामा सिटौलालाई महामन्त्री नियुक्त गरेका थिए।
महामन्त्री थापाले ध्यानाकर्षण गराएपछि कार्यवाहक सभापति खड्काले नेता सिटौलालाई केहीबेर रोकेका थिए।
‘त्यस्तो भन्न भएन नि सिटौलाजी, सचिवालयले भन्ने शब्द फिर्ता लिनुस्,’ कार्यवाहक सभापति खड्काका भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘उहाँ (सिटौला) ले ठिक छ मैले फिर्ता लिएँ भन्नुभयो। एकछिन नोकझोक भएको हो।’
महामन्त्री थापाले आफ्नो बारेमा पनि सामाजिक सञ्जालमा मानिसहरूले लेखिराख्ने र गाली गरिराख्ने भए पनि आफूले त्यसबारे केन्द्रीय समितिमा कुरा नउठाएको बताएका थिए।
यसबारे नेता सिटौलासँग पनि हामीले सम्पर्क गरेर कुराकानी गर्यौं। नेता सिटौलाले आफूलाई लागेको कुरा महामन्त्री गगन थापाको सामुन्ने राखेको बताए।
`म सामाजिक सन्जाल धेरै हेर्दिनँ, मलाई सुनाउनेले खरानी बनाइदिन्छौं भनेर सामाजिक सन्जालमा लेखेको छ भन्दै सुनाए, त्यो गगनकै सचिवालयका मानिसले गरेको भनेर भने, मलाई त के थाहा। मैले त जे सुनेँ त्यो सामुन्ने राख्ने हो। यस्तो सुनेको थिएँ के हो भनेर मैले सिधासिधा कुरा राखेको हो, सामुन्नेमा कुरा राख्ने मेरो बानी हो,´ नेता सिटौलाले सेतोपाटीसँँग भने।
आफूले यस्तो कुरा राखेपछि महामन्त्री थापाले होइन भन्ने कुरा राखेको उनलेे बताए। `ए होइन रहेछ भनेपछि कुरा सकियो नि!´ उनले भने।
कार्यवाहक सभापतिले बीचमा रोकेकोबारे सोधिएको प्रश्नमा उनले भने, `मलाई उहाँले रोकेजस्तो लाग्दैन, मैले आफ्नो कुरो राखिरहेको थिएँ। गगनले मैले यस्तो गरेको होइन, किन आरोप लगाइयो चाहिँ भनेका थिए।´
केन्द्रीय समिति बैठकमा आज महामन्त्री थापाले पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्न प्रस्ताव राखेका छन् भने सहमहामन्त्री महेन्द्र यादवले पनि वैशाख मसान्तमा महाधिवेशन गर्नुपर्ने भन्ने धारणा राखेका छन्।
कतिपयले सहमहामन्त्रीले महाधिवेशन प्रस्ताव राख्न नमिल्ने कुरा उठाउँदै महामन्त्रीले राखेका प्रस्तावमाथि मात्रै केन्द्रीय समितिमा छलफल हुने बताएका छन्।
आजको बैठक सुरूवात गर्दै कार्यवाहक सभापतिले भने भिन्न भिन्न धारणा आए पनि सहमतिमै निर्णय निस्कनेमा आफू विश्वस्त रहेको बताएका थिए।
असोज २८ गतेदेखि सुरू भएको केन्द्रीय समिति बैठक चुनावअघि महाधिवेशन गर्ने कि पछि वा विशेष महाधिवेशन गर्ने कि नियमित भन्ने निर्णयमा पुग्न सकेको छैन।